थारु माघी महोत्सव २०७२ को तयारी अन्तिम चरणमा

एक ठाउँको महोत्सवको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने, अर्को ठाउँको डा. भट्टराईले


Maghi2

लक्की चौधरी

काठमाडौं, पुस २८ गते । काठमाडौं उपत्यकामा बासोबास गर्ने थारु समुदायले मनाउने माघी महोत्सव २०७२ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ । महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने छ ।

हरेक वर्ष टुँडीखेलमा हुने महोत्सव यसपाली दशरथ रंगशालामा हुनेभएको छ । प्रधानमन्त्री ओलीले थारु पोशाकमा महोत्सवको समुद्घाटन गर्नुहुने कार्यक्रम तय भएको महोत्सव मूल आयोजक कमिटीका संयोजक सत्यनारायण चौधरीले जानकारी दिनुभयो ।

महोत्सवको प्रमुख आकर्षणमा थारु संस्कृति, हस्तकला, थारु फुडफेस्टिबल, थारु झाँकी तथा नृत्यहरु, थारु समुदायको विभिन्न पोशाक, पत्रपत्रिका तथा उद्घाटनसत्रमा थारु समुदायले उठाउँदैआएको मागको विषयमा राजनीतिक सन्देश दिने रहेको आयोजकले बताएको छ । महोत्सवबारेमा जानकारी दिने उद्देश्यले बुधबार आयोजकले पत्रकार सम्मेलन गर्ने बताएको छ ।

महोत्सवमा ५० देखि ६० वटा स्थल रहने र प्रवेश शुल्क निःशुल्क बनाउने आयोजकले जानकारी गराएको छ । दुई सत्रमा हुने महोत्सवको पहिलो सत्रमा उद्घाटनसत्र तथा दोस्रोसत्रमा थारु सांस्कृतिक कार्यक्रम हुने मूल आयोजक कमिटीले बताएको छ ।

दशरथ रंगशालामा हुने महोत्सवमा प्रमुख अतिथि प्रधानमन्त्री, विशिष्ट अतिथि उपप्रधानमन्त्री तथा फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, अतिथिहरु थारु मन्त्री तथा सांसदहरु रहने छन् ।

त्यस्तै, अर्को महोत्सव खुलामञ्चमा तयारी गरिएको छ । थारु कल्याणकारिणीसभाबाट असन्तुष्ट पक्षहरुले छुट्टै महोत्सवको आयोजना गरेका छन् ।

सो महोत्सवको प्रमुख अतिथिमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई हुने मूल आयोजक कमिटीका संयोजक चन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो । सो महोत्सवमा ६० देखि ७० वटा विभिन्न परिकारका स्टलहरु रहने उहाँले बताउनुभयो ।

महोत्सव सफल पार्नकालागि राष्ट्रिय स्तरका कलाकार तथा वभिन्न ३८ वटा सांस्कृतिक प्रस्तुती रहने चौधरीले जानकारी दिनुभयो । सो महोत्सवमा पनि प्रवेश शुल्क निःशुल्क गरिएको छ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

tharu-maghi

२०५९ सालदेखि काठमाडौंमा थारु समुदायले माघी महोत्सव मनाउँदै आएका छन् । हरेक वर्ष एउटैमा महोत्सव मनाउने थारुहरु यसपल्ट विभाजित भएर महोत्सव दुई ठाउँमा आयोजना गरिरहेका छन् । थारु कल्याणकारिणीसभा उपत्यका समितिले गर्ने महोत्सवमा आर्थिक पारदर्शीता नभएको र युवाहरुलाई बेवास्ता गरेको भन्दै असन्तुष्ट पक्षले खुलामञ्चमा छुट्टै महोत्सवको तयारी गरेका हुन् ।

काठमाडौं उपत्यकामा करिब डेढ लाख थारुहरुको बसोबास रहेको दावी सो समुदायको छ । अहिलेसम्मको महोत्सवमा ४० देखि ५० हजार थारुहरु महोत्सवमा सहभागीता जनाउँदै आएका छन् ।

यस वर्षको महोत्सवमा थारु समुदाय पनि बाँडिने भएकाले अन्य वर्षकोजस्तो भव्यताकासाथ सम्पन्न हुनेमा थारु समुदायका अगुवाहरुले शंका व्यक्त गरेका छन् । दुवै पक्षलाई मिलाउने प्रयास अन्तिम समयसम्म गरिए पनि सम्भव नभएको बुझाई सभाका केन्द्रीय सदस्य प्रेमीलाल चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया