भारतमा पहिलो पटक आदिबासी महिला राष्ट्रपतिमा मुर्मू निर्वाचित


हमार पहुरा डट कम
काठमाडौं, साउन ६ गते । भारतको १५ औँ राष्ट्रपतिको रूपमा द्रौपदी मुर्मू निर्वाचित हुनुभएको छ । उहाँ भारतको राष्ट्रपतिमा निर्वाचित पहिलो आदिवासी महिला बन्नुभएको छ । उहाँको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले नतिजापछि दिल्लीमा विजयी जुलुस निकाल्ने घोषणा गरेको छ । राष्ट्रपतिको जितपछि र्‍याली निकाल्न लागिएको यो पहिलो पटक हो भनिएको छ ।

बीजेपी अध्यक्ष जेपी नड्डाले राजपथसम्म सो जुलुसको नेतृत्व गर्ने जानकारी सञ्चार माध्यमलाई दिनुभएको छ । द्रौपदीको विजयले भारतीय आदिवासी समुदाय र विशेषगरी महिलालाई विशेष सन्देश जाने भाजपाको अपेक्षा छ । यही कारणले जितपछि पोस्टरमा द्रौपदी मुर्मुसँग अन्य नेताको तस्बिर नराख्न पार्टी कार्यकर्ताहरूलाई सो पार्टीले निर्देशन दिएको छ ।

द्रौपदीको विजयले भारतीय आदिवासी समुदाय र विशेषगरी महिलालाई विशेष सन्देश जाने भाजपाको अपेक्षा छ ।

विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै मुर्मू राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । साउन ८ गते (जुलाई २४ तारिख) मा राष्ट्रपति रामनाथ कोभिन्डको कार्यकाल सम्पन्न हुँदैछ । सोपछि विजयी मुर्मुले जुलाई साउन ९ (२५ तारिख) मा राष्ट्रपतिको पदभार सम्हाल्नुहुनेछ ।

राजनीतिमा प्रवेश गर्नुअघि मुर्मु विद्यालय शिक्षकको रूपमा काम गर्नुभएको थियो । श्री अरविन्दो इन्टिग्रल एजुकेशन एण्ड रिसर्च इन्स्टिच्युट, रायरङपुरमा सहायक प्राध्यापक र ओडिशा सरकारको सिंचाई विभागमा सहायकको रूपमा समेत उहाँले काम गर्नुभएको थियो ।

मुर्मु १९९७ मा भारतीय जनता पार्टी (बीजेपी) मा सामेल भएर रायरंगपुर नगर पञ्चायतको पार्षद निर्वाचित हुँदै सन् २००० मा अध्यक्ष हुनुभयो । उहाँले अल्पसंख्यक जनजातिहरुको मोर्चामा राष्ट्रिय उपाध्यक्षको रूपमा पनि काम गर्नुभयो । उहाँ उडिसा राज्यमा दुईपटक मन्त्रीको रुपमा जिम्मेवारीमा रहनुभयो।

मुर्मू राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई सन्देश दिनुभएको छ ।

तपाईको प्रतिक्रिया