विवाहित थारु महिलाले छोराछोरीको सफलताको कामना गर्दै निराहार वस्ने व्रत जितिया व्रत हो । विवाह गरेर जन्मघर छोडेर कर्मघर गइसकेकी छोरीचेलीलाई विशेषगरी जितियामा माइतीले बोलाएपछि वा माइती पक्षबाट लिन आएपछि मात्र माइती जाने चलन छ । विवाहित छोरीचेली जितियामा माइती आएपछि मनै हर्षित हुन्छ । माइतीसँग मिलन भएको आभास हुन्छ ।
जितिया व्रतको ऐतिहासिक महत्व छ । यो व्रत वस्ने परम्परा परापूर्वकालदेखि थारु समुदायमा चलिआएको छ । छोरीचेली माइतीमा गएर जितिया व्रत वस्ने चलन रहेको छ । विवाहित थारु महिलाले निराहार व्रत वस्ने जितिया व्रतको विशेष महत्व छ । तराईका जिल्लाका आदिवासी थारु महिलाले विभिन्न नीति नियम पालना गरी विधिपूर्वक जितिया व्रत वस्छन् ।
जितिया व्रत शुद्ध परेको साल नव व्रतालुले व्रतारम्भ गर्नुलाई थारु भाषामा ‘जितिया पाथलियै’ भनेर भनिन्छ । विवाहिता महिलाले आफ्नो जिवनकालमा जितिया व्रतारम्भ गर्न मिल्छ । तर जितिया व्रत शुद्ध परेको छ भने मात्र व्रतारम्भ गर्न वा जितिया पाथन मिल्छ । विवाहिता महिलाले जितिया व्रतारम्भ गर्ने दिन असोज कृष्णपक्षको सप्तमी तीथि शनिबारको दिन लाहाइ परेको हुनुपर्छ । अष्टमी तीथि आइतबारको दिन उपवास परेको हुनु पर्दछ । नवमी तीथि सोमबारको दिन व्रत समापन गर्ने वा पारन गर्ने परेको हुनुपर्छ । यसपालीको जितिया यही तीथिअनुसार परेकाले जितिया पाथन (व्रतारम्भ गर्न) शुद्ध परेको छ । जितिया व्रत खसेका महिलाका लागि पनि जितिया व्रत उठाउन (पुनः जितिया व्रत वस्न) शुद्ध परेको छ ।
कोही व्रतालु महिला विरामी परेर जितिया व्रत वस्न सकेन भने व्रत खसेको मानिन्छ । त्यस्तै जुठो सुत्तक परेर जितिया व्रत वस्न नमिल्ने भएमा पनि व्रत खसेको मानिन्छ । विरामी निको भएपछि, जुठो सुत्तक चोखिएपछि, आगुम साल पुनः निरन्तर प्रत्येक साल जितिया व्रत वस्न मिल्दैन । जुनसुकै कारणले जितिया व्रत खसेपछि पुनः व्रत वस्नका लागि शुद्ध पर्नुपर्छ । अन्यथा व्रत वस्न मिल्दैन । जितिया व्रत खसेको महिलाले जितिया शुद्ध परेको साल पुनः व्रतारम्भका विधिपूवर्क (जितिया पाथने विधिपूर्वक) व्रत वस्न सक्छन् । यसरी पुनः व्रत वस्न थाल्यो भने थारु भाषामा ‘हमर जितिया खसल छेलै, फेरो जितिया उठाइलियै’ अर्थात् खसेको जितिया व्रत शुद्ध परेपछि पुनः व्रत वस्न थालेँ भनेर भन्छन् ।
कोही व्रतालु महिला विरामी परेर जितिया व्रत वस्न सकेन भने व्रत खसेको मानिन्छ । त्यस्तै जुठो सुत्तक परेर जितिया व्रत वस्न नमिल्ने भएमा पनि व्रत खसेको मानिन्छ ।
जितिया व्रत वस्न अरु व्रत वसेजस्तो सजिलो छैन । जितिया व्रतको नीति नियम जटिल छ । महिलाले ढल्कँदो उमेरले निरन्तर जितिया व्रत वस्न नसकिरहेको अवस्थामा विधिपूर्वक व्रत राखिदिने चलन छ । जितिया व्रत शुद्ध परेको सालको जितिया व्रत समापन गर्ने बेलामा पाँच वटा बौटरा (सानो केराउ) र पाँच वटा अक्षता पानीसँग सग्लो दाना नचपाई एक घुट्का पानीसँग निल्ने नियम छ । यदि व्रतालुले यो विधि नगरी त्यहीं समापन पूजामा चढाइदियो भने व्रत राखेको मान्यता छ । जितिया व्रत राखी दिएर वा व्रत छोरी बूहारीलाई दिएर व्रत वस्न छोड्न सकिन्छ । उमेर ढल्केका कतिपय आमाहरुले निरन्तर जितिया व्रत वस्न नसक्दा आफ्नो जितिया व्रत, जितिया व्रत वसेकी छोरी वा बूहारीलाई व्रत दिने चलन छ । व्रत दिँदा व्रत वसेको आमाले व्रत वसेकै छोरी बूहारीलाई जितिया व्रत शुद्ध परेको साल मात्र दिन मिल्छ । अन्यथा व्रत छोरी बूहारीलाई दिन वा राख्न मिल्दैन ।
जितिया व्रत जुठो सुतक परेर मात्र खस्दैन । जितिया व्रत विधिपूर्वक छोरी बूहारीलाई दिएको छैन वा विधिपूर्वक जितिया व्रत राखेको छैन वा बिनाकारण व्रत वस्न छोडिदियो भने पनि जितिया व्रत सोतः खसेको हुन्छ ।
जितिया व्रतले विशेष भलो हुने जनविश्वास रहेकोले थारु समुदायका विवाहिता महिलाले स्वतन्त्र रुपमा जितिया व्रत वस्ने गर्दछन् । जितिया व्रत असोज महिनामा पर्ने भएकोले बारीमा प्रसश्त सागसब्जी हुँदैन । खेतमा लगाएको अन्न उब्जिसकेको हुँदैन । त्यसैले व्रत निराहार वस्नका लागि दर खाँदा आफ्नो घरमा भएको अन्न मरवाको रोटी (कोदोको रोटी), सिजन अनुसार फलेको ओल (तरुल) को तरकारी, माछा खाएर पनि जितिया व्रत वस्ने गरिन्छ । यसरी न्युन आर्थिक अवस्थाका परिवारका महिलाले पनि सजिलै जितिया व्रत निराहार वसेर आफ्नो परिवारमा खुशी ल्याउन सक्छिन् । वर्तमान समयमा भने भड्किलो पाराले चाडवाड संस्कृतिको नाममा विकृति मौलाएको देखिन्छ । परापूर्वकालदेखिको जितिया व्रतको वास्तविक इतिहासअनुसार जितिया व्रतमा थारु समुदायले माछा र मरवा सबैले अनिवार्य खानैपर्छ भन्ने छैन । जितिया व्रतको नीति नियम जटिल भएकोले थारु भाषामा भनाइ छ ः
जितिया पाबैन बड भारी
धियापुताके ठाोइक सुताबे
अपना लेल भैर थारी
अर्थात्,
जितिया व्रत धार्मिक रुपमा महत्वपूर्ण भएकाले यसको नीति नियम कठोर छ । व्रत निराहार वस्नु परेकाले दरका लागि पौष्टिक परिकार पकाउन साना नानीहरुले बाधा नपु¥याओस् भनी फकाई सुताएर ओटघन (दर) खान्छन् ।
२०७९ को जितिया व्रत असोज १ गते सप्तमी तीथि शनिबारको दिन लाहाइ (स्नान) पूजासँगै सुरु हुन्छ । यस दिन घिरौलाको पातमा घिरौलाकै फूल, कमेरो माटो, तोरीको पिना चढाउँछन् । यसदिन दर खान्छन् । दर खानुभन्दा पहिला चिल सियारि (स्याल) लाई दुईटा घिरौलाको पातमा दही चिउरा चिनी मिसाएको प्रसादि चढाउँछन् । व्रतालुहरु २ गते अष्टमी तीथि आइतबारको दिन उपवास वस्छन् । उपवासको दिन टोलका सबै व्रतालु महिला जम्मा भएर जितमहान भगवानको पूजाका लागि बनाएको पोखरीको चारैतिरको डिलमा बसी सबै व्रतालु महिलाहरु जितमहानको कथा ध्यानपूर्वक सुन्दै आवश्यक सम्पूर्ण पूजा सामग्रीसहित विधिपूर्वक पूजा गर्छन् । व्रतालू महिलाहरु ३ गते नवमी तीथि सोमबारको दिन बिहान स्नानगरी विधिपूर्वक जितिया व्रत पारन (समापन पूजा) गरी जितिया व्रत समापन गर्छन् ।
जितमहानको ऐतिहासिक कथाअनुसार महाधर्मात्मा राजकुमारी मसवासीको कोखबाट जन्मेको सुर्य भगवानको छोरो जितमहान भगवानको पूजा परापुर्वकालदेखि जितिया व्रतालु विवाहित महिलाले थारु समाजमा गर्दैआएको छ । जितिया व्रत कथा अध्ययन गरेर यो ऐतिहासिक कथाको विस्तृत जानकारी लिन सकिन्छ ।
जितिया व्रतालु महिलाले व्रत सुरु हुने दिनदेखि समापन हुने दिनसम्म घर आँगन लिपपोत गरी पूजा गर्छन् ।
जितिया व्रतालु महिलाले व्रत सुरु हुने दिनदेखि समापन हुने दिनसम्म घर आँगन लिपपोत गरी पूजा गर्छन् । व्रत सुरु भएको दिन नदी तलाउ वा धारामा नुहाउने बेला नदी, तलाउ, धारामै धुप अगरबत्ती बाली घिरौलाको पातमा घिरौलाकै फूल, कमेरो माटो, तोरीको पिना चढाएर त्यस वर्षको जितिया व्रत सुरु गर्छन् । जितिया व्रतालु महिला स्वयंले पूजागरी छोराछोरी वीर, सकूशल, सफल तथा प्रगतीशील होउन भनी कामना गर्छन् । जितिया व्रतलाई अर्को शब्दमा ‘जिवतिया’ वा ‘जिवत्वपूत्रीका’ पनि भन्ने गरिन्छ । जितिया व्रत शुद्ध परेको साल आमाले नियम निष्ठापूर्वक व्रतारम्भ गरेको छ भने वा प्रत्येक वर्ष निष्ठापूर्वक व्रत वस्ने गरेको छ भने त्यस आमाको छोराछारी दुर्घटनाबाट बच्छ । घटना भएर पनि मृत्यु हुनबाट बच्यो भने थारु समुदायमा एउटा प्रचलित लोकोक्ती छ –
तों बाँइच गेलही, तोहर महताइर
खर दिन जितिया पाथने छेलौ ।
अर्थात्
तिम्री आमाले शुभ हुने दिन वा पवित्र दिन नियम निस्ठापूर्वक भक्तीभावले जितिया व्रत वसेकी थिइन् । त्यही भएर दुर्घटनामा पनि तिम्रो ज्यान बच्यो । वर्षमा एक पटक आउने जितिया व्रतमा विवाहित छोरी चेलीलाई माइतीले लिन आएपछि वा माइतीले बोलाएपछि मात्र कोसेली लिएर माइती जाने चलन परम्परा रहेकाले माइती आएकी छोरी चेली र मामाघर आएका भान्जा भान्जीलाई नयाँ लुगा किनीदिएर कोसेलीसहित पठाउने चलन छ ।