दशैंमा थारू परिकार ढिक्री

लक्की चौधरी

थारू समुदायको प्रमुख परिकारमध्ये एक हो ‘ढिक्री’ । हरेक दशैंमा कुलदेवताको पूजा गरेपछि मात्र ढिक्री परिकार खान शुरु गरिन्छ । नयाँ धान उत्पादन भएपछि दशैंको अष्टमीको दिन नयाँ चामलको पीठोबाट बनाइने ढिक्री बेलको हाङ्गामा गुँठेर (गाँसेर) घरको कुलदेवतालाई चढाइन्छ । देवताको पूजापाठ गरेपछि घरका सदस्यलाई वर्षभरी ढिक्री परिकार बनाउने र खाने छुट हुन्छ । दशैंको अष्टमीको दिनलाई थारूहरुले ‘ढिक्रवा’ भन्छन् । देवतालाई ढिक्रीले पूजिने हुनाले यस दिनको नाम ‘ढिक्रवा’ राखिएको हो । यसदिन थारू घरका सबै सदस्यले अनिवार्य रुपमा ढिक्री परिकारले देवताको पूजा गर्छन् । दशैं, तिहार (डेवारी), माघी, पेण्डिया, विवाह, अष्टिम्की र आवश्यक परेकाबेला जुनसुकै बेला ढिक्री परिकार बनाएर खाने गरिन्छ । अहिले थारू गाउँघरमा ‘होमस्टे’ फष्टाएको छ । होमस्टेमा ढिक्री प्रमुख रोजाइको परिकार बनेको छ । आगन्तुक सबै पाहुनाका लागि ढिक्री परिकार रोजाइको परिकार हो । ढिक्रीसँग हरियो तोरीको साग, लोकल कुखुराको मासु, घोङ्घी, सुंगुरको मासुसँग खाँदा अति नै स्वादिलो हुने थारूहरुको बुझाइ छ ।

ढिक्री विभिन्न आकारको बनाइन्छ । लामो, गोलो, थेप्चो, दियो आकारको, हात्ती आकारको ढिक्री बनाइन्छ । ढिक्री बनाउन विशेष सीप चाहिन्छ । यो परिकारको आकार बनाउन आधुनिक मेशिनको प्रयोग गरिदैन । हातले आकार दिएर बनाइन्छ ।

ढिक्री विभिन्न आकारको बनाइन्छ । लामो, गोलो, थेप्चो, दियो आकारको, हात्ती आकारको ढिक्री बनाइन्छ । ढिक्री बनाउन विशेष सीप चाहिन्छ । यो परिकारको आकार बनाउन आधुनिक मेशिनको प्रयोग गरिदैन । हातले आकार दिएर बनाइन्छ । चामलको पीठोमा तातो पानी मिसाएर मुछेपछि पीठो लेदो बन्छ । त्यही लेदो पिठोलाई हातले विभिन्न आकार दिएर ढिक्री बनाइन्छ । ढिक्री वास्पमा उमालिन्छ । पानीको भाँडोमाथि ढकी राखेर त्यसमा ढिक्री राखेर माथिबाट अर्को भाँडाले ढाकेपछि बास्पीकरण भएर ढिक्री तयार हुन्छ । तातो ढिक्री खाँदा बढी स्वादिलो हुन्छ । सेलायो भने त्यसको स्वादमा फरक हुने र चाम्रो हुनेगर्छ । चिसो भएको ढिक्री आगोको अङ्गारमा पोलेर खाँदा झन मिठो हुन्छ । पश्चिमका थारूले सादा ढिक्री बनाउँछन् । देवतालाई पूजा गर्न र खान दुवै सादा ढिक्रीको प्रयोग हुन्छ । तर पूर्वका थारुले ढिक्री बनाउँदा गुलियो मिसाएर बनाउँछन् । पीठोमा चिनी, नरिवल, काजु मिसाएर ढिक्री बनाउँदा खानमा स्वादिलो हुन्छ भनेर आजभोलिका युवा पीढीले ढिक्रीमा स्वाद भर्न थालेका छन् । तर परम्परागत रुपमा बनाइने ढिक्रीमा कुनै अरु चिज मिसाइँदैन । देवतालाई पूजिने ढिक्री सादा नै प्रयोग गरिन्छ ।

ढिक्री परिकार थारू पहिचानसँग जोडिएको छ । अन्य समुदायका मानिसले ढिक्री बनाउँदैनन् । थारू घरमा ढिक्रीको प्रयोग देवता पूजनमा प्रयोग हुने हुनाले अनिवार्य परिकार हो । अरु समुदायका मानिसले यसको प्रयोग नगर्ने हुनाले यो थारूको पहिचानसँग जोडिएको छ । विशेषगरी थारु महिलाले ढिक्री बनाउनमा दख्खल हुन्छन् । पुरुषले पनि ढिक्री बनाउने भए पनि पुरुषको तुलनामा महिलाले बनाएको ढिक्रीको आकार सुन्दर र स्वादिलो हुन्छ । थारू चेलीबेटी विवाह गरेर दुलहाको घरमा जानुअघि आफन्त, नाता कुटुम्बकहाँ ढिक्री बेचाइने गरिन्छ । नयाँ दुलहीले उपहारस्वरुप ढिक्री बनाएर आफन्तकहाँ पाहुनी बस्न जानुपर्ने हुन्छ । त्यसलाई थारूले ‘ढिक्री बेच्ने’ भन्छन् । यसर्थ ढिक्री परिकार सम्बन्ध बलियो बनाउने परिकार पनि हो । ढिक्री बनाउने सीप थारू समुदायको मौलिक सीप हो । यो सीपको जगेर्ना गर्न घरमा ढिक्री परिकार नियमित बनाएर खान आवश्यक छ ।

तपाईको प्रतिक्रिया