विश्व राजनीतिक परिदृश्य एक चर्चा

सुशील चौधरी

मानिस चेतनशील प्राणी हो, मानिस जन्मैदेखि राजनैतिक प्राणी हो जस्ता शब्दलंकारहरु यत्रतत्र पढ्न र सुन्न सकिन्छ । आजको मानिस एक्काइशौं शताब्दीको आधुनिक अझ अगाडि बढेर उत्तराधुनिक सभ्यताको प्रवर्तकको रुपमा आफूलाई परिचित गराउने गर्दछ । इतिहासको अन्त्य गर्दै निराकार विश्वको परिकल्पनाको भाष्य पनि भज्ने गर्दछ । तर किन आज त्यही मानिस, वर्ग, धर्म, वर्ण, लिंग, सभ्यताको फरकवीचको अन्तरवस्तु परख गर्न नसकेर द्वन्द्वरत छ ? यो बुझ्न नसकिने जस्तो देखिएको छ । हर चिज बोधम्य छ, भन्ने तथ्यलाई आत्मसाथ गर्दा माथि उल्लेख गरिरएका भाष्यहरुउपर छिनो चलाउने हिम्मत र जाँगर गर्नुपर्छ । यही सवालमा नेपाली परिवेशको सामयिक चर्चा गर्ने जमर्को गरिएको छ ।

मानवको नरबानरबाट मानव बन्ने प्रक्रियाबारे अमेरिकी मानवशास्त्री मोर्गन र चाल्र्स डार्विनको अध्ययनबाट प्राप्त तथ्यहरुको विषद् विश्लेषण गर्दै फ्रेडरिक एंगेल्सले श्रमको भूमिकाबारे विचारउत्तेजक विश्लेषण गरेका छन् ।

समाजशास्त्रीय अध्ययनबाट थाहा हुन्छ, मानव सभ्यताको इतिहास आदिम साम्यवादी युग, दास युग, सामन्ती युग, पुँजिवादी युग र समाजवादी युग हुँदै साम्यवादी युगतर्फ लम्कने क्रममा प्रशव पीडामा छ । मानवको नरबानरबाट मानव बन्ने प्रक्रियाबारे अमेरिकी मानवशास्त्री मोर्गन र चाल्र्स डार्विनको अध्ययनबाट प्राप्त तथ्यहरुको विषद् विश्लेषण गर्दै फ्रेडरिक एंगेल्सले श्रमको भूमिकाबारे विचारउत्तेजक विश्लेषण गरेका छन् । यस तथ्यले मानव सभ्यता विकसित हुने कुरामा अर्थ व्यवस्था र अर्थव्यवस्था टिकाउन श्रमको भूमिका अनिवार्य शर्तको रुपमा अगाडि आउँछ ।

आदिम साम्यवादी युगमा मानिसहरु कविला समुदायको रुपमा सामूहिक परिवारका रुपमा रहन्थे । सामूहिक रुपमा आवश्यक खाना खोज्ने र बाँडेर खाने र जीउने गर्दथे । नीजि सम्पत्ति नभएका कारण सम्पत्तिका कारण वर्गीय द्वन्द्व थिएन । तर जसै, मानिस स्थायी बसोवास, पशुपालन कृषिलाई पेशाको रुपमा अपनाउन थाले, तव खेतमा काम गर्ने व्यक्तिहरुको आवश्यकता हुन थाल्यो । क्रमशः परिवारहरु खण्डित हुन थाल्यो । यस क्रममा परिवारको समूहगत सम्पत्ति हुन थाल्यो । जमिनका मालिकहरु जन्मदैगर्दा जमिनदारी प्रथा स्थापित भयो । कुलीन जमिनदारी प्रथालाई बचाउन स्वायत्त सत्ताको अवश्यक हुन थाल्यो । त्यसकारण सामन्तहरु जन्मन थाले । यसलेगर्दा सामन्ती युग जन्म्यो । सामन्ती व्यवस्था स्थापना, राजतन्त्र, सेना, ऐन, कानून, नियमहरु आवश्यक पर्न थाल्यो । पछि राजतन्त्र नै सामन्तवादी व्यवस्थाको संरक्षकको रुपमा स्थापित भयो ।

जसरी किसानहरुले जमिन्दारी प्रथाविरुद्ध आन्दोलन गरे, त्यसरी नै विश्वभरी मजदूर आन्दोलन भए । १ मे अन्तर्राष्ट्रिय मजदूर दिवस र मार्च ७, श्रमिक महिला दिवस मजदूर आन्दोलनका स्मरणीय दिनका रुपमा विश्व मजदूर आन्दोलनमा स्थापित छन् ।

जनसंख्याको वृद्धि, नगरहरुको विकास, विज्ञान प्रविधिको विकास, औद्योगिक विकाससंगै पूँजीको विकास हुँदैगर्दा पूँजी नै विकासको मुख्य मानक भएर स्थापित हुँदैजान्छ । उद्योगिक क्रान्तिसंगै मजदूर वर्गको जन्म हुन्छ । उत्पादनमा पूँजी र श्रमको अन्तरसम्बन्ध नयाँ तहमा उठ्यो । जसरी किसानहरुले जमिन्दारी प्रथाविरुद्ध आन्दोलन गरे, त्यसरी नै विश्वभरी मजदूर आन्दोलन भए । १ मे अन्तर्राष्ट्रिय मजदूर दिवस र मार्च ७, श्रमिक महिला दिवस मजदूर आन्दोलनका स्मरणीय दिनका रुपमा विश्व मजदूर आन्दोलनमा स्थापित छन् ।

कृषिमा आधारित अर्थतन्त्र क्रमशः औद्योगिककरण हुदैजाँदा पुँजिवाद जवरजस्त रुपमा स्थापित हुन्छ । सामन्तवादी समाज व्यवस्थाले धर्म र संस्कारको आडमा स्थाापित गरेको अधिरचना पूँजिवादले विभिन्न स्वतन्त्रता आन्दोलनले ध्वस्त पारिदियो । अमेरिकी स्वतन्त्रता संग्राम र फ्रान्सेली क्रान्ति, बेलायतमा भएको राजतन्त्रविरुद्धको आन्दोलन आफैमा विश्व हल्लाउने घटनाक्रम थिए । राजनीतिक स्वतन्त्रताका आन्दोलनहरुले विश्वका बलिया राजतन्त्र र सामन्ती सत्ताहरु ढले । विश्वमा क्रमशः लोकतान्त्रिक र जनवादी व्यवस्थाहरु स्थापित हुँदै गए ।

विसौ शताब्दीको सुरुवात (सन् १९१४–१९१९) र मध्यतिर (सन् १९३९–१९४५) मा भएका दुई घातक विश्वयुद्धहरु, सामन्तवादको अन्त्य, विश्व साम्राज्यवादको मूर्खताको पटाक्षेप र निराश जनताको फाँसिवाद रोजाई थियो । त्यसले जर्मनमा हिटलर र इटलीमा मुसोलिनी जन्मायो । यसैबेला विश्वमा बैकल्पिक राजनीतिक अर्थतन्त्र स्थापित भयो । रुसमा जारशाही राजतन्त्रको अन्त्य भई लेनिनको नेतृत्वमा पहिलो विश्वयुद्धको समाप्तीसंगै समाजवादी व्यवस्था स्थाापित भयो । दोस्रो विश्वयुद्ध पछि चीन लगायतका देशमा जनवादी, समाजवादी व्यवस्थाहरु स्थापित भए । विश्व दुई ध्रुवीय रुपमा शितयुद्धमा फँस्यो ।

साम्यवादी खेमा र पुँजीवादी खेमामा विभाजित विश्व राजनीतिक शक्ति, सन् १९९० को सोभियत संघको पतन र बर्लिनको पर्खाल ढलेपछि पँुजीवादी खेमाले आफ्नो विजय भएको उल्लास मनायो । समाजवादी साम्यवादी खेमा भने विषद् समीक्षामा डुब्यो । यथार्थमा त्यसपछि निरन्तर विश्व अर्थतन्त्रमा आएको मन्दी, अमेरीकी वाल स्ट्रीटको संकट र अन्य आर्थिक समस्याहरुले पुँजीवाद अपराजेय छ, भन्ने भाष्य पनि मित्थ्या सावित भयो । गएको तीन दशकमा समाजवादी चीनले विश्व अर्थतन्त्रमा पारेको जवर्जस्त प्रभाव र देशको अर्थतन्त्रमा पारको प्रभावले त झनै विश्व पुन बहुध्रुवीय हुने अवस्था बन्दै गयो । विश्व अर्थतन्त्रमा भारत, ब्राजिल, दक्षिण अफ्रिका, लगायतका देशहरुले मारेको फड्कोले नयाँ अर्थ राजनीतिक परिस्थिति बन्न पुग्यो ।

युरोपियन युनियनबाट बेलायतको ब्रेक्जिट र रुसमा पुटिनको एक छत्र राजले पनि विश्वमा नयाँ हलचल मच्चिएको छ । रुसले आफ्नो सुरक्षाको दृष्टिले अति सामरिक महत्वको देश युक्रेनमाथि बोलेको धावाले नेटोसँग आमनेसामने हुने अवस्था बन्यो । कोभिड १९ पश्चात फ्रष्ट कन्ट्री अर्थात विकसित भनिएका देशहरुको कल्याणकारी नकाब नमजाले च्यातियो । अमेरिकाको ट्रम्प प्रशासनले त कोभिड १९ लाई चाइनकृत स्वास्थ्य समस्याको रुपमा स्थापित गर्न जरैदेखिको बल लगायो । चीनको बुहान शहरबाट सुरु भएको कोभिड विश्वव्यापी हुँदा, चीनले प्रभावकारी स्वास्थ्य सेवाको माध्यमबाट आफ्नो देशमा महामारी फैलनबाट बचायो । तर पश्चिमा सञ्चार माध्यमहरुले चीनमा लाखौ व्यक्ति मारिएको हुनसक्ने, चीनले लुकाएको अनर्गल प्रचार गरे । अति विकसित भनिएका राष्ट्रमा नै धेरै मानिसहरुले ज्यान गुमाउँदा, उनीहरुको निरिहता छताछुल्ल भयो । तर चीनमाथिको आरोप प्रमाणित गर्न उनीहरु असफल रहे ।

ल्याटिन अमेरिकामा बामपन्थको हुरीलाई कसैले नजरअन्दाज गरेपछि छिप्न सकेको छैन । एसियामा पनि त्यो अवस्थाले नयाँ करेन्ट पैदा गर्दैछ ।

शितयुद्ध गरिरहेका साम्यवादी र पुँजीवादी खेमाका देशहरु, विचारकहरुले एक छत्र विजय प्राप्त गरेको शान बचाइ रहन सकेनन् । ल्याटिन अमेरिकामा बामपन्थको हुरीलाई कसैले नजरअन्दाज गरेपछि छिप्न सकेको छैन । एसियामा पनि त्यो अवस्थाले नयाँ करेन्ट पैदा गर्दैछ । इतिहासको अन्त्य भएको उदघोष गर्नेहरु रनभुल्लमा परेका छन् । नित्सेले मरिसकेको घोषणा गरेको भगवानलाई पुनः जीवित गर्ने असफल प्रयास गरिदैछ । हन्टिग्टनले क्यास अफ सिभिलाइजेशन किताव लेखेर, दार्शनिक प्रश्नलाई रुढिगत बनाउँदै, जात, धर्म र सम्प्रदायको द्वन्द्वको रुपमा व्याख्या गरेर दर्शनशास्त्रको यक्ष प्रश्नमाथि पर्दा हाल्ने प्रयास गर्दैछन् । पुँजीवादीहरु त्यही भविश्यवाणी र भाष्यलाई चिल्लो चपेटो बनाएर पस्कदै वर्गीय मुक्तिको आन्दोलनलाई रोक्ने प्रयास गर्दैछन् ।

उन्नाइसौ शताव्दीमा गिर्जागरसँग लडेर धर्म र राजनीतिशास्त्रलाई अलग रुपमा स्थापित गर्दै राज्यलाई धर्मनिरपेक्ष बनाउनुपर्ने वकालत गर्ने पुँजीवादीहरु आज पुनः त्यही, धर्म र जातिको श्रेष्ठतालाई आफ्नो त्राण मान्न थालेका छन् । धार्मिक र साँस्कृतिक उत्पादनमा पुँजिवादी सूत्र मिसाएर आफ्नो कमाउधन्धालाई जोगाइ राख्न सकिन्छ कि भनेर अथक प्रयास गर्दैछन् । जसरी सामन्तवादी व्यवस्थामा राजा महाराजाहरुले मठ र मठाधिरहरु जन्माएर आम मेहनतका श्रमिकहरुमाथि शासन गर्दथे । आजकल पनि अरबपतिहरु पनि धाम बनाएर, पुँजिवादी शोषणको विकृत अनुहारमाथि करुणामयी अनुहारको लिपापोती गर्दैछन् । भर्खरै इटालीमा दोस्रो विश्वयुद्धताका जर्मनीका फाँसीवादी नेता एडोल्फ हिटलरसँग काँधमा काँध मिलाएर युद्धमा हेलिएका बिनेट्टो मुसोलिनीकै उग्रदक्षिणपन्थी विकासको प्रवर्तक पार्टी ब्रदर्स अफ इटालीकी नेतृ जर्जिया मिलोनीले प्रधानमन्त्रीमा निर्वाचित भएकी छिन् । इटालीमा बामपन्थी र उदारवादीको विकल्पमा उभार आएको यो शक्ति इटालीको गम्भीर निराशाको प्रतीकका रुपमा विश्लेषकहरुले औल्याएका छन् । यो राम युरोपमा बढिरहेको पनि टिप्पणी भइरहेको छ । यस अवस्थाले पुँजिवादलाई कहाँ लगेर थन्क्याउने हो, भविश्यले बताउला । विश्वको अग्रगामी दिशानिर्देश भने पक्कै गर्न सक्दैन ।

नेपालमा प्रगतिशील र बामपन्थी शक्तिहरुको विभाजनले प्रतिक्रियावादीहरुले चलखेल गर्ने अबसर पाइरहेका छन् । सिद्धान्तहीनता बढ्दो छ । यो अति चुनौतीपूर्ण विषय हो ।

दक्षिण एसियाको सन्दर्भमा हेर्ने हो भने, तालिवानीहरुले अफगानिस्तानमा वर्वर शासन गर्दछन् । पाकिस्तान पनि स्लामिक शासनमा खुशी छैन । महान् लोकतन्त्र भएको भनिएको देश भारत, हिन्दुत्वको भाष्यमा मोदी शासन गरिरहेका छन् । त्यसका विरुद्ध बोल्ने, लेख्ने बौद्धिकहरु निरन्तर मारिएको मारिए छन् । फन्डामेन्टलिष्टहरुको शासनबाट क्रमशः भारतमा मोहभंग हुँदैछ । उनीहरुको रसबसले नेपाली राजनीतिमा पनि धर्म र जातिको विषयले राजनीतिक रुप लिन थालेको देखिन्छ । नेपालमा प्रगतिशील र बामपन्थी शक्तिहरुको विभाजनले प्रतिक्रियावादीहरुले चलखेल गर्ने अबसर पाइरहेका छन् । सिद्धान्तहीनता बढ्दो छ । यो अति चुनौतीपूर्ण विषय हो । सामन्तवादको अन्त्य र पुँजिवादको अविकासका कारण समाजवादतर्फ पदार्पण हुने गोरेटो अनिश्चित देखिएको छ । बैदेशिक हस्तक्षेपका कारण नेपाली राजनीति तरल प्रायः छ । सात दसकको दर्मियानमा हालसम्म पनि कुनै निर्वाचित सरकारले पूर्ण अवधि सरकार सञ्चालन गर्न सकिएको छैन । राजनीतिक रुपमा धेरै रुपान्तरण भए पनि आर्थिक विकासले अपेक्षित गति लिन सकेको छैन । नयाँ बौद्धिक युवा पुस्ताको विदेश पलायनले देश परित्यक्त पानी जहाज जस्तो भएको छ । नेपाल भूराजनीतिक रुपमा अति सम्बेदनशील स्थानमा रहेकाले विश्व परिवेश, छिमेकीको अन्तरविरोधबाट फाइदा लिन एक विहंगम सोचको अवश्यक छ ।

(लेखक चौधरी राजनीतिक विश्लेसक तथा संस्कृतिका अध्यता हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया