कैलालीमा स्थानीय तह निर्वाचनमाजस्तो मतदातामा उत्साह देखिएन


अविनाश चौधरी
धनगढी, मङ्सिर ४ गते । प्रतिनिधि र प्रदेश सभा सदस्यको आइतबार सम्पन्न निर्वाचनमा मतदातामा स्थानीय तहको निर्वाचनजस्तो उत्साह देखिएन । स्थानीय तह निर्वाचन सम्पन्न भएको ७ महिनापछि भएको आमनिर्वाचनमा मतदातामा उत्साह नदेखिएको हो ।

यो निर्वाचनमा उम्मेदवार पनि कम रहेका कारण मतदातामा त्यति उत्साह नदेखिएको कैलारी गाउँपालिका –७ तिघरीका चन्द्रप्रसाद चौधरीले बताउनुभयो । ‘यो चुनावमा स्थानीय तहजस्तो चहलपहल देखिएन’ उहाँले भन्नुभयो, ‘निर्वाचनमा सहभागी हुने मतदाता पनि पहिलेकोभन्दा कमै देखिए ।’

ग्रामीण मतदाताले यो निर्वाचनलाई त्यति चासो नदिएको वा धेरै मतदाता कामका लागि अन्यत्र गएका कारणले पनि चुनावमा त्यति चहलपहल नभएको हुनसक्ने चौधरीको बुझाइ छ ।

ग्रामीण क्षेत्रका धेरैजसो मतदान केन्द्रमा आधा मात्रै मत खसेको अनुमान गरिएको स्थानीयको बुझाइ छ । ‘विहान भोट हाल्नेको अलि बढी भीडभाड देखिए पनि दिउँसोबाट भजनीका धेरैजसो मतदान केन्द्रहरु खाली भएका थिए’ स्थानीय रवि चौधरीले भन्नुभयो, ‘यो निर्वाचनलाई मतदाताले त्यति गम्भीरतापूर्वक नलिएको देखियो ।’

स्थानीय तह निर्वाचनमा टोलैपिच्छे उम्मेदवार रहेका कारण त्यो निर्वाचनमा चहलपहल बढी देखिएको राजनीतिक दलका कार्यकर्ताको भनाइ छ । ‘यो निर्वाचनमा उम्मेदवार कम थिए’, राजनीतिकर्मी उर्मिला चौधरीले भन्नुभयो, ‘उम्मेदवार कम भएका कारण दल र जनता दुवैमा उत्साह देखिएन ।’

अपेक्षा गरेभन्दा कम मतदाता मतदानमा सहभागी भएपछि राजनीतिक दलका प्रतिनिधि नै चकित परेको बताएका छन् । यसअघिको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदाताको उत्साह बढी देखिएको थियो ।

गोरखापत्र अनलाइन डट कमबाट

तपाईको प्रतिक्रिया