पहिचान, पहुँच र प्रतिनिधित्वका लागि थारुहरुले निरन्तर संघर्ष गर्ने


कारी महतो
चितवन, पुस ११ गते । थारु कल्याणकारिणी सभा (थाकस) चितवन कार्यसमितिको आयोजनामा राष्ट्रिय राजनैतिक परिस्थिति र थारुहरुको सरोकार विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा थारु पहिचान, पहुँच र प्रतिनिधित्वका लागि थाकस चितवनका थारु समुदायले निरन्तर संघर्ष गरिरहने बताएका छन् ।

थरुहट पहिचानको आन्दोलनमा षडयन्त्रपूर्वक घटाइएको टीकापुर घटनाका राजबन्दीहरुका रिहाइका लागि संघर्ष गर्ने निर्णय पनि गरेका छन् । सरकारले ल्याएको अध्यादेशको पक्षमा संघर्ष गर्ने, राज्यको हरेक अंगमा समानुपातिक पहुँचको लागि थाकस केन्द्रीय समितिले अगाडि बढाएको न्यायिक आन्दोलनका लागि नैतिक आर्थिक तथा भौतिक रुपमा साथ दिने थारु अगुवाहरुले बताएका छन् ।

थारु समुदायको संयुक्त आन्दोलनको क्रममा भएको टीकापुर घटना राजनैतिक विषय भएकाले राजनीतिक रुपमा समाधान गर्नुपर्ने अध्यक्ष चौधरीले बताए ।

प्रतिनिधि तथा प्रदेश सभामा चितवनको थारु समुदायको प्रतिनिधित्व नभएकाले समानुपातिक प्रतिनिधित्वको सूत्र परिवर्तन गराउन संघर्ष गर्ने थाकस चितवनका सभापति ललितकुमार चौधरीले जानकारी गराए ।

थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले समावेशीताको विषयमा संविधानले केही कुरा सच्याइसकेको भएपनि कानूनले अझै अल्झाइरहेको बताए । थारु समुदायको संयुक्त आन्दोलनको क्रममा भएको टीकापुर घटना राजनैतिक विषय भएकाले राजनीतिक रुपमा समाधान गर्नुपर्ने अध्यक्ष चौधरीले बताए । त्यसका लागि आयोगको तर्फबाट सरकारसँग माग गरिएको उनले जानकारी गराए ।

वागमती प्रदेशका पूर्व साँसद रामलाल महतोले थारुहरुको आन्दोलन दबाउनका लागि टीकापुर घटना सुनियोजित ढंगले घटाइएको बताए । सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्ने उनले बताए । जातीय जनसंख्याको अनुपातमा प्रतिनिधित्व नभएकाले त्यसका लागि हामीले फेरि संघर्ष गर्नुपर्ने पूर्व साँसद महतोले बताए ।

जातीय जनसंख्याको अनुपातमा प्रतिनिधित्व नभएकाले त्यसका लागि हामीले फेरि संघर्ष गर्नुपर्ने पूर्व साँसद महतोले बताए ।

कार्यक्रममा डा. संजयकुमार महतोले थारुहरुको राजनैतिक अवस्था र अबको बाटो, थारु मानक भाषा मस्यौदा समितिका संयोजक कुछत नारायण चौधरीले थारुहरुको न्यायिक आन्दोलनबारे र अधिवक्ता सरिता तिवारीले थारुहरु सम्बन्धित् प्रकाशनमा आएका विषयवस्तु बारे अवधारणापत्र प्रस्तुत गरेका थिए । अधिवक्ता श्रवणकुमार चौधरीले संविधानको प्रस्तावना र विभिन्न धाराहरुबारे प्रस्ट पारेका थिए ।

कार्यक्रममा माडी नगरपालिकाका उपप्रमुख खेम चौधरी, थाकसका केन्द्रीय सदस्य राजेन्द्रप्रसाद चौधरी, आदिवासी जनजाति महासंघ चितवनका पूर्व अध्यक्ष पदम गुरुङ, सचिव रामबहादुर भुजेल, विश्राम महतो, जोखा चौधरी, सत्यनारायण चौधरी, भजुमनराम महतो, कृष्णलाल चौधरी, रामेश्वर चौधरी, सुरेश चौधरी, लगायतले अवधारणापत्र बारे टिप्पणी गरेका थिए । कार्यक्रम थाकस चितवनका सभापति ललित कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया