खिचरा महोत्सव २०७९ भोलिदेखि, गृहमन्त्री लामिछानेले उदघाटन गर्ने


हमार पहुरा डट कम
चितवन, पुस २७ गते । आठौं संस्करणको ‘खिचरा महोत्सव–२०७९’ भोलि २८ गतेदेखि शुरु हुँदैछ । महोत्सवको समुदघाटन गृहमन्त्री रवि लामिछानेले गर्नु हुनेभएको छ । खिचरा महोत्सव आयोजक समितिका अनुसार भोलि बिहीबार गृहमन्त्री आउने भएपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले महोत्सव स्थलको निरीक्षण गर्नुभएको छ ।

खैरहनी नगरपालिका–५, जबकौलीस्थित गौचरनमा हुने महोत्सवको सम्पूर्ण तयारी पुगेको आयोजकले जनाएका छन् । महोत्सव समुदघाटन अघि मंगनी चोकदेखि महोत्सव स्थलसम्म बृहत झाँकीसहितको शोभा यात्रा निकालिने महोत्सव मुल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिनुभयो ।

महोत्सवमा जिल्लास्तरीय भलिबल प्रतियोगिता, डान्सि आइडल, चित्रकला प्रतियोगिता, कृषि उपज प्रतियोगिता, पेहनी होड, रक्तदान कार्यक्रम, आँखा शिबिर, क्यान्सर स्क्रिनिङ कार्यक्रमका साथै दैनिक विशेषज्ञ चिकित्सकहरुद्धारा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध हुनेछन् ।
महोत्सवमा मनोरञ्जनात्मक कार्यक्रमहरुमा स्थानीय तथा राष्ट्रिय स्तरका गायक कलाकारहरुबाट विविध साँस्कृति कार्यत्रक्रम, बाल उद्यानहरु समेत रहनुका साथै विभिन्न खानाका परिकार र व्यापारिक स्टलहरु समेत रहने आयोजकले जनाएको छ ।

थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७, चितवनले आयोजना गरेको आठौं खिचरा महोत्सवको खैरहनी नगरपालिका र थारु कल्याणकारिणी सभा चितवन संरक्षक र खैरहनी चेम्बर अफ कमर्शले सहआयोजकको भूमिका निर्वाह गरेको महोत्सवका प्रवक्ता नारायणप्रसाद महतोले जानकारी गराउनुभयो । महोत्सव पुस २८ देखि माघ ४ गतेसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया