उपत्यकामा बस्ने थारु समुदायले टुँडीखेलमा मनाए माघी महोत्सव


हमार पहुरा डट कम
काठमाडौं, माघ १ गते । नयाँ वर्षको रुपमा उल्लासमय रुपले मनाउने माघी महोत्सव यस वर्ष पनि उपत्यकामा बसोबास गर्ने थारु समुदायले मनाएका छन् । विहान झाँकी प्रदर्शन गर्दै शुरु भएको माघी महोत्सवको उदघाटन थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले गर्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महोत्सवको उदघाटन गर्ने भनिएको भए पनि पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनापछि उहाँ महोत्सवमा आउन सक्नु भएन । दुर्घटनामा परेकाहरुको उद्धारको कामको व्यवस्थापनमा व्यस्त हुनुभएपछि प्रधानमन्त्री प्रचण्ड महोत्सवमा आउने समय मिलाउन नसक्नुभएको महोत्सव आयोजक समितिका सदस्यहरुको भनाइ छ ।

विमान दुर्घटनाले देश नै शोकमय भएका बेला थारु माघी महोत्सवको औपचारिक कार्यक्रममा बोल्ने वक्ताहरुले दुर्घटनाप्रति दुःख व्यक्त गरेका थिए । मृतकहरु प्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । माघ १ गते थारू समुदायको खुशीयालीको दिन हो । काम विशेषले जिल्लामा जान नपाएका थारुहरु एकै थलोमा जम्मा भएर हरेक वर्ष काठमाडौंमा माघी महोत्सव मनाउने गर्छन् । यसअघि कोभिडका कारण दुई वर्षसम्म काठमाडौंमा महोत्सव हुन पाएको थिएन ।

विहान १० बजे बसन्तपुर प्राङ्गणबाट नृत्यसहितको झाँकी प्रदर्शन गरेका थारु प्रतिनिधिहरुले न्यूरोड, रत्नपार्क, शहिदगेट हुँदै टुँडीखेलमा भेला भएका थिए । महोत्सवमा करिब एक सय वटा स्टल राखिएको आयोजक समितिका सदस्य चन्द्रप्रसाद चौधरीले बताउनुभयो ।


प्रधानमन्त्री प्रचण्ड महोत्सवमा अनुपस्थित हुनुभएपछि थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले महोत्सवको उदघाटन गर्दै थारु समुदाय पहिचानको लडाईमा रहेकाले राज्यसँग संघर्ष जारी रहेको बताउनुभयो । थारु आयोगको तर्फबाट थारु अधिकार सुनिश्चित्ताको पहल निरन्तर भइरहेको उहाँले जानकारी दिनुभयो ।

माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले टीकापुर घटनाका आरोपीहरुलाई तत्काल रिहा गर्न माग गर्नुभयो । थारु प्रतिनिधिहरुलाई विभिन्न बहानामा फँसाइएको भन्दै उहाँले निर्दोस रहेका थारुलाई तत्काल रिहाई गर्न माग गर्नुभयो ।

कार्यक्रममा थारु कल्याणकारिणी सभा (थाकस) का उपाध्यक्ष कन्नुलाल चौधरी, आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, थाकसका उपमहामन्त्री मिनराज चौधरी, थारु युवा नेता सिताराम चौधरी, अधिवक्ता बुद्धसेन चौधरी, थारु पत्रकार संघ, नेपालका उपाध्यक्ष सहदेव चौधरी, थारु महिला समाजका अध्यक्ष गीता चौधरी, थारु महिला सभाकी अध्यक्ष भगवती चौधरी लगायतले माघी पर्वको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

पुस ३० गतेदेखि शुरुभएको माघी महोत्सवको पहिलो दिन जिता मार्ने कार्यक्रम, रक्तदान कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा विभिन्न थारु नृत्य समेत प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया