सरकारमा दुई जना थारू क्याबिनेट मन्त्रीको जम्मेवारीमा


हमार पहुरा डट कम
काठमाडौं, माघ ३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा दुई जना थारू क्याविनेट मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले आज मंगलबार मन्त्रिपरिषद विस्तार गर्नुभएपछि दुई जना मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको हो ।

मन्त्रिरिषदमा नेकपा (एमाले) बाट भगवती चौधरी (सुनसरी) लाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र नेकपा (माओवादी केन्द्र) बाट अमनलाल मोदी थारु (मोरङ) लाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिइएको छ ।

कुल २५ जनाको क्याबिनेटमा दुई जना थारू मन्त्री भनेको ८ प्रतिशत हो । थारु समुदायले जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रणालीअनुसार राज्यको निकायमा प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दैआएको छ । थारू समुदायको अहिले जम्मा जनसंख्याको अहिले ६.६ प्रतिशत हो । यस हिसावले दुई जना मन्त्री जिम्मेवारीमा आउनुभएपछि जनसंख्याको अनुपातमा प्रतिनिधित्व सुनिश्चित भएको छ ।

भगवती चौधरी सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । त्यस्तै अमनलाल मोदी थारु मोरङ क्षेत्र नं. ४ बाट निर्वाचित हुनुभएको हो । यसअघि २०७४ मा पनि मोदी सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । भगवती भने २०७४ को निर्वाचनमा नेता विजयकुमार गच्छदारबाट झिनो मतले पराजित हुनुभएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डको क्याविनेटमा चार जना उपप्रधानमन्त्रीसहित २३ जनाको क्याविनेट बनेको छ । दुई जना मन्त्री जनता समाजवादी पार्टी (जसपा) का लागि छुट्याइएको भए पनि सो दल अहिले तत्काल सरकारमा नजाने भनेपछि दुई मन्त्रालय बाँकी राखिएको छ ।
गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया