उल्टो पैदल यात्रा गरेर विश्वलाई नेपाल चिनाउँदै बाँकेका रुपना थारु


हमार पहुरा डट कम
झापा, माघ २४ गते । मेचीदेखि महाकालीसम्मको उल्टो यात्रामा निस्किएका बाँके, कोहलपुर नगरपालिका –७ का ४८ वर्षीय उल्टो पैदलयात्री रुपना थारू दमक पुग्नुभएको छ । श्रीमती सम्झना चौधरीको सहयोगबाट थारूले गत माघ २१ गते पूर्वी नाका कांकडभिट्टाबाट महाकालीसम्मको एक हजारभन्दा बढी किलोमिटर उल्टो पदयात्रामा निस्किनुभएको हो । दुई दिनमा उहाँले करिब ५२ किलोमिटर यात्रा पूरा गर्नुभएको छ ।

सामान्य खेतीपाती गर्ने थारू दम्पती दैनिक २० र २५ किलोमिटर पैदल हिँड्ने अटोठका साथ यात्रामा निस्किनुभए को हो । दमकमा भेटिएका पदयात्री थारूले विश्व शान्तिको कामना गर्दै आफूले दुई महिनाभित्रमा महाकाली पुगेर पदयात्रा समापन गर्ने लक्ष्य लिएको बताउनुभयो । पूर्वपश्चिम राजमार्गमा उल्टो हिँडेर आफ्नो लक्ष्य पूरा गर्ने आत्मविश्वासमा हुनुहुन्छ थारु । उहाँले भन्नुभयो, ‘उल्टो हिँडेर लक्ष्यमा पुग्न आफैँमा कठिन हो, तर पनि दुस्खी भने बिल्कुल छैन।’

पदयात्रा सुरक्षित बनाउन आफैँ होसियारी अपनाउनुहुन्छ । दिनभरि हिँडे पनि साँझ पर्नासाथ बाँस बस्ने बन्दोबस्ती गर्नुहुन्छ थारू दम्पतीले । साँझ परेपछि राजमार्गमा सहजै हिँड्न सकिँदैन श्रीमान्‌लाई बाटो देखाउँदै सुल्टो हिँडेर सहयोग गरिरहनुभएकी उहाँको श्रीमतीले यात्रालाई सहजीकरण गर्दैआउनुभएको छ ।

पदयात्री थारूका अनुसार पदयात्रा हिँड्दा धेरै कठिनाइ हुन्छ। बाटोमा जङ्गलसमेत भएका हुँदा त्यस्ता ठाउँमा सुरक्षाको बन्दोबस्ती भए सहज हुने उहाँको भनाइ छ । नगरपालिकाले दिएको सिफारिस कागजपत्र देखाउँदै उहाँले दुई दिनमा राजमार्ग आसपासका ट्राफिक प्रहरीले भने सहयोग पुर्‍याएको अनुभव सुनाउनुभयो । यसरी नै सहयोग पाए पक्कै पनि मेरो यात्रा सहज हुने उहाँको आत्मविश्वास छ।

‘पूर्वमेचीदेखि पश्चिममा महाकालीसम्म फैलिएको मेरो देशलाई विश्वभर चिनाउन उल्टो पदयात्राले विश्वभर चिनाउने आशा लिएको छु।’

यात्राका क्रममा बाटो आसपासका प्रहरी कार्यालयले खानेबस्ने बन्दोबस्ती गरिआएको बताउँदै पदयात्री रुपना भन्नुहुन्छ, ‘बाटोमा हिँड्दै गरेको बेला स्थानीयबाट समेत उत्तिकै सहयोग, सद्‌भाव पाएको छु, यस्तै सहयोग पाए आभारी हुने थिएँ।’

पदयात्रा हरेक मानिसको आ–आफ्ना रहर भए पनि यस कार्य भने फरक भएको उहाँको बुझाइ छ। मेरो उद्देश्य सारा पृथ्वीजगत्को कल्याणको छ, मनभरि यही कामना लिएर यात्रारत भएको उहाँले सुनाउनुभयो । यात्रा काठमाडौँ पुग्ने र त्यसपछि महाकाली फर्किने तय गरेको समेत उहाँको भनाइ छ । उल्टो हिँडेर पशुपतिनाथ मन्दिरको पहिलोपटक दर्शन गर्ने इच्छा भएको बताउँदै थारुले त्यसलगत्तै महाकालीसम्मको आफ्नो गन्तव्यमा लाग्ने योजना सुनाउनुभयो ।

आफूले यात्राका क्रममा देखेकाभोगेका र विश्वशान्तिका सत्‌कर्मका बारेमा सामान्य भलाकुसारीसँगै अनुभव आदानप्रदान गर्ने गरेको उहाँले बताउनुभयो । यो यात्राले जीवनलाई सतकर्ममा हिँड्न प्रेरणा दिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘पूर्वमेचीदेखि पश्चिममा महाकालीसम्म फैलिएको मेरो देशलाई विश्वभर चिनाउन उल्टो पदयात्राले विश्वभर चिनाउने आशा लिएको छु।’

तपाईको प्रतिक्रिया