काठमाडौं, माघ ४ गते । प्रमुख तीन दलका नेताले कार्यदलका सदस्यहरुसँग छलफल गरी सोमबार नै सहमतिलाई निर्णायक बनाउने तयारी गरेका छन् । मोर्चा सम्बद्ध दलका नेतासँग कार्यदलस्तरमा छलफल गरी शीर्ष नेताको रोहबरमा सहमतिको तयारी भएको कार्यदलका सदस्यले बताउनुभएको छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग छलफल गरी मधेसको माग सम्बोधनमा आफू गम्भीर रहेको बताउनुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार राती करिब अढाई घण्टा भएको छलफलमा प्रधानमन्त्री ओलीले त्यस्तो बताउनु भयो । छलफलमा अध्यक्ष महतोसँगै सहअध्यक्ष लक्ष्मणलाल कर्ण पनि बालुवाटार बैठकमा पुग्नुभएको थियो ।
छलफलमा अध्यक्ष महतोले उपचारको क्रममा भारतमा रहनुभएका बेला भारतीय नेताहरुसँग राजनीतिक भेटघाट गर्नुभएको र भारतीय नेताहरुको चाहना र धारणाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको सद्भावनाका सहअध्यक्ष कर्णले जानकारी दिनुभयो ।
छलफलका क्रममा अध्यक्ष महतोले मधेसको माग सम्बोधनमा गम्भीर हुन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको थियो । भारतको चाहना पनि चाँडै मधेसको माग सम्बोधन भई देशमा राजनीतिक स्थायित्व कायम गर्ने रहेको जानकारी महतोले बताउनुभएको थियो । बैठकमा सैद्धान्तिक विषयमा केन्द्रीत भएर बढी छलफल भएको नेता कर्णले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले मधेसको समस्या समाधानका लागि प्रमुख तीन दलबीचको वार्ता र छलफल पनि जारी रहेकाले चाँडै समस्या समाधान हुने विश्वास अध्यक्ष महतोलाई दिलाउनुभएको थियो ।
कार्यदलस्तरमा बैठक सकारात्मक तवरले अगाडि बढेकाले समस्या समाधानमा आफू विश्वस्त रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले सम्भवतः सोमबार साँझसम्म कार्यदल र शीर्ष नेता तहमा छलफल गरी मधेसको माग सम्बोधन हुने विश्वास दिलाउनुभएको नेता कर्णले जानकारी दिनुभयो ।
राती पौने दश बजेसम्म चलेको छलफलमा प्रधानमन्त्री ओलीले मधेसको माग सम्बोधन चाँडोभन्दा चाँडो सल्टाई स्थिति सहज गर्नमा आफू प्रयासरत रहेको र सरकारको प्रयासमा सहयोग गर्न अध्यक्ष महतोसँग आग्रह गर्नुभएको नेता कर्णले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले अध्यक्ष महतोलाई छलफलकालागि बालुवाटार बोलाउनुभएको थियो । महतो आइतबार दिउँसो भारतबाट फर्किनुभएको थियो ।
यसैबीच सोमबार कार्यदलका सदस्यले प्रमुख तीन दलका नेतासँग छलफल गरी सहमतिको प्रयास आजै गर्ने तयारी गरेका छन् । माघ ५ गते मंगलबार अपरान्ह १ बजे व्यवस्थापिका संसद बैठक आव्हान गरिएकाले बैठक अघि नै मधेसी मोर्चासँग सबै विषयमा छलफल गरी सहमति गर्ने प्रयास प्रमुख नेताहरुको पनि छ ।
माघ ५ गते मंगलबार अपरान्ह १ बजे व्यवस्थापिका संसद बैठक आव्हान गरिएकाले बैठक अघि नै मधेसी मोर्चासँग सबै विषयमा छलफल गरी सहमति गर्ने प्रयास प्रमुख नेताहरुको पनि छ ।
संसदमा दर्ता भएको संशोधन प्रस्तावमा मोर्चासँगको सहमतिको आधारमा संशोधन प्रस्तावलाई परिमार्जन गर्ने र संविधानको अंग बनाउने तयारी कार्यदल र प्रमुख नेताहरुको छ । सो अनुसार सोमबार रातीसम्म त्यसको प्रयास गरिने र सम्भव नभए मंगलबार विहानसम्म मोर्चासँग लिखित सहमति गर्ने तयारी भएको कार्यदलका सदस्य महेश आचार्यले बताउनुभयो ।