टीकापुर विद्रोहले जन्मायो नागरिक उन्मुक्ति पार्टी : मन्त्री श्रेष्ठ


हमार पहुरा डट कम
काठमाडौं, चैत २८ गते । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले आफू नेतृत्वको पार्टीलाई टीकापुर विद्रोहले जन्माएको बताउनुभएको छ । स्थानीय प्रशासनले थारुमाथि दमनगरेपछि पार्टी जन्मेको उहाँको भनाइ छ ।

आज मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । पार्टीका संरक्षक रेशम चौधरी कारागारबाट छिटै छुट्नुहुने र उहाँ छुट्दा नेपाली राजनीतिमा भुइँचालो जाने मन्त्री श्रेष्ठको दावी छ । मन्त्री श्रेष्ठ रेशमको श्रीमती हुनुहुन्छ ।

छोटो समयमा नागरिक उन्मुक्ति पार्टीले राजनीतिक उचाइ कायम गरेको र आउने निर्वाचनमा वैकल्पिक शक्ति भएर उडाउने अध्यक्ष श्रेष्ठले दावी गर्नुभयो । पार्टी स्थापना भएको डेढ वर्षमा नै छलाङ मारेको उहाँको भनाइ छ ।

‘नागरिक उन्मुक्ति पार्टीका संस्थापक सुप्रिमो रेशम चौधरी काठमाडौंको डिल्लीबजार कारागारमा हुनुहुन्छ । उहाँसँग देशका विभिन्न कारागारमा रहनुभएका टीकापुर घट्नामा दोषी बनाइएकाहरु सँगै हुनुहुन्छ । त्यही घट्नापछि नागरिक उन्मुक्ति पार्टीको जन्म भएको छ’ मन्त्री श्रेष्ठले भन्नुभयो ।

दमनको विरुद्धमा शक्तिको उत्पादन हुनेभन्दै उनले नागरिक उन्मुक्ति पार्टी पनि सोही दमनको उत्पादन भएको बताउनुभयो । दमनविरुद्धमा सुदूरबाट उदाएको पार्टीले छोटो समयमा नै पूर्वसम्म आफ्नो पहुँच बनाएको उहाँको भनाइ छ ।

सो अवसरमा नव प्रवेशीलाई उहाँले पार्टीमा स्वागत गर्नुभयो । वि.सं. २०८४ सालमा हुने आम निर्वाचनमा नाउपा देशको वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउने उहाँले दावी गर्नुभयो । जनमत पार्टी त्याग गरी रीता अर्यालसहित केही व्यक्ति नाउपामा प्रवेश गरेका छन् ।

नाउपा प्रवेश गर्नेमा पुष्पराज भण्डारी, पञ्चदेवी मगर, देवराज अवस्थि, माधव खड्का, मन्दिरा बस्नेत, अभिषेक जोड्याल, भुषण अर्याल, संगीताकुमारी घिमिरे केसी, प्रभुप्रसाद भण्डारीलगायत रहेको सो दलले जनाएको छ ।

तपाईको प्रतिक्रिया