हमार पहुरा डट कम
विराटनगर, साउन २८ गते । नेपालको विविध जातीय पहिचानको मुद्दा सबल र सक्षम राष्ट्र निर्माणको एउटा प्रक्रिया भएकाले यसलाई जातीय नजरले हेर्न नहुने विज्ञहरुले सुझाएका छन् । पहिचानलाई सम्बोधन गर्दा मुलुक झन बलियो बन्ने उहाँहरुको सुझाव छ ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को २४ औं स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित पहिचान आन्दोलन ः अबको बाटो विषयक संवाद कार्यक्रममा वक्ताहरुले सो कुरा सुझाएका हुन् । पहिचानको मुद्दालाई जातीयताको नजरले हेर्दा मुलुकको समस्या कहिल्यै समाधान नहुने उहाँहरुको बुझाइ छ ।
राजनीतिक विश्लेषक डा. महेन्द्र लावतीले नेपालका शासक तथा राजनीतिक दलका नेतृत्वकर्ताले मुलुकमा पहिचानको मुद्दालाई गलत व्याख्या गरी उल्टो भाष्य निर्माण गर्ने प्रयत्न गरिरहेको बताउनुभयो । पहिचानको मुद्दा धनी र गरिब सबै वर्ग समुदायलाई समेट्ने हुनाले यो साझा मुद्दा भएको उहाँको भनाइ छ । मुलुक समृद्ध बन्दैमा पनि पहिचानको मुद्दा नहराउने उहाँले चर्चा गर्नुभयो ।
बेलायत, क्यानडा, स्पेन लगायतको मुलुक समृद्ध र सम्पन्न भए पनि पहिचानका लागि आन्दोलन गरेर पहिचान स्थापित गरेको उहाँले उदाहरण दिनुभयो । पहिचानका आधारमा प्रदेशको नामकरण गर्दा मुलुक रुवान्डा हुने गलत व्याख्या पनि नेपालमा हुनेगरेको उहाँको बुझाइ छ । रुवान्डामा अहिलेसम्म एकात्मक शासन प्रणाली रहेको र संघीयतामा कहिल्यै नगएको उहाँले प्रष्ट पार्नुभयो । पहिचान कायम गर्दा मुलुक समस्यामा नपरी झन बलियो बन्ने उहाँले चर्चा गर्नुभयो ।
राजनीतिक विश्लेषक डम्बर खतिवडाले नेपालमा पहिचान कायम गरी राष्ट्र निर्माणको प्रक्रिया सुरुभएकाले यसको सम्बोधन गरेर जानुको विकल्प नरहेको बताउनुभयो । पहिचान र जातीयता विल्कुल फरक विषय भएको चर्चा गर्नुहुँदै खतिवडाले नेपाल विविध जाती, समुदाय र सभ्यताको देश भएकाले पहिचानलाई उपेक्षा गर्न नसकिने बताउनुभयो ।
पहिचानको मुद्दामा प्रमुख तीन ठूला दल उदासिन रहेकाले जातीय समुदायको पहिचान सम्बोधन हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो ।
पहिचानको मुद्दामा प्रमुख तीन ठूला दल उदासिन रहेकाले जातीय समुदायको पहिचान सम्बोधन हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो । पहिचानको मुद्दा, संस्कार संस्कृति, भाषा र अधिकारसँग जोडिएको विषय भएकाले यसको महत्व रहेको उहाँले बताउनुभयो ।
लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले मधेस प्रदेश बाहेक नेपालमा अन्य प्रदेशले पहिचान कायम गर्न नसकेको बताउनुभयो । कोशी प्रदेश खारेज गरी पहिचानका आधारमा त्यसको नामकरण गर्न आन्दोलन जारी रहेकाले यसको सम्बोधनमा दलका नेताहरु गम्भीर बन्नुपर्ने उहाँले बताउनुभयो । यही पहिचानको आन्दोलन अन्य प्रदेशमा पनि फैलियो भने दलका नेताहरुलाई सम्बोधनमा थप समस्या पर्ने उहाँले चर्चा गर्नुभयो । ठूला दलले पहिचानको मुद्दाको घाँटी निमोठ्ने काम गरिरहेको उहाँले आरोप लगाउनुभयो ।
लेखक तथा विश्लेषक भवानी बरालले प्रदेश २ को नाम मधेस प्रदेश जुराएर मधेस प्रदेश अग्रगमनको बाटो तय गरेको बताउनुभयो । प्रदेश १ को पहिचानवादी नामकरण गर्दा यहाँको आदिबासीबासी थारु, राजवशी, धिमालसँग समेत राय र विचार लिन आवश्यक रहेको उहाँले बताउनुभयो । दलका नेता तथा शासकहरु पहिचान र समृद्धिको बाधक बनिरहेकाले छोराको नाम विकास र छोरीको नाम समृद्धि राखेर चित्त बुझाउने अवस्था रहेको उहाँले व्यंग्य गर्नुभयो ।
आदिबासी जनजाति पत्रकारको छाता संगठन फोनिजले आफ्नो २४ औं स्थापना दिवस प्रदेश १ को विराटनगरमा विविध कार्यक्रम गरी मनाएको छ । पहिचानको मुद्दामा सहयोग गर्न र पहिचानवादलाई स्थापित गर्ने उद्देश्यसाथ फोनिजले यस वर्ष स्थापना दिवस विराटनगरमा मनाउने निर्णय गरेको अध्यक्ष गजुरधन राईले बताउनुभयो । प्रदेश १ मा सिंगो फोनिज आएर स्थापना दिवस मनाउँदा सकारात्मक सन्देश प्रवाह भएको उहाँले दावी गर्नुभयो ।