थारू बरघरहरुको सहयोगले पालिकाको न्यायिक प्रक्रियामा सहजता


हमार पहुरा डट कम
नेपालगन्ज, कात्तिक १७ गते । थारू समुदायमा रहेका बरघरहरूको सहयोगले पालिकाको न्यायिक समितिलाई काम गर्न सहज भएको छ । सोही कारणले पालिकाको न्यायिक कार्य प्रभावकारी देखिएको छ ।

थारु समुदायको बाहुल्यता भएको बाँकेको बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले सामाजिक रुपमा थारु समुदायका अगुवा र निर्णायक मानिने बरघरको सहयोगले गाउँपालिकाको न्यायिक कार्य सहज र प्रभावकारी बन्दैगएको बताउनुभयो ।

उहाँले बरघरको कुरा समाजले मान्ने भएकाले उहाँहरुको सहयोगले न्यायिक समितिको काममा ठूलो सहयोग पुगेको बताउनुभयो । उपाध्यक्ष रोकायले थप्नुभयो, ‘थारू समुदायमा रहनुभएका बरघरहरूले गर्दा हाम्रो पालिकामा रहेको न्यायिक समितिलाई काम गर्न सजिलो भएको छ ।

थारू समुदायमा हुने धेरै विवादहरू गाउँमै बरघरले हल गर्ने भएकाले समितिसम्म उजुरीहरू कमै मात्रामा आउँछन् ।’ आएका उजुरी सल्टाउन पनि बरघरको सहयोग पाउँदा सहज रुपमा सल्टिने गरेको रोकायको भनाइ छ ।

थारू समुदायबाट परेका उजुरीमा बरघरबाटै समस्या समाधान हुनेभएकाले न्यायिक समितिलाई काममा धेरै सहज भइरहेको गाउँपालिकाले जनाएको छ । सोही कारणले बैजनाथ गाउँपालिकामा बरघर ऐन लागू गर्ने तयारी भइरहेको उपाध्यक्ष रोकायले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पालिकामा बरघर ऐन लागू गर्न छलफल भइसकेको छ । बजेट पनि विनियोजन गरिएको छ, तर ऐन लागू हुन नसकेकाले छिट्टै बरघर ऐन लागू गर्नेछौँ ।’

बर्दियाको बारबर्दिया नगरपालिकाले मात्र यस क्षेत्रमा बरघर ऐन लागू गरेको छ । बारबर्दियाको अनुभवले पनि काममा सहज हुने जनाइएको छ । बैजनाथमा बरघर ऐन लागू गर्न थारू राष्ट्रिय आयोगले ‘बरघर ऐन तथा समावेशिता’ विषयमा एक कार्यक्रम समेत आयोजना गरिसकेको छ ।

सो कार्यक्रममा ‘बरघर ऐन तथा समावेशिता’ को विषयमा समुदायस्तरमा गहन रूपमा छलफल गरिएको थारू राष्ट्रिय आयोगका सदस्य सुबोधसिंह थारूले जानकारी दिनुभयो । उहाँले कार्यक्रममा स्थानीय जनप्रतिनिधि, थारू समुदायका अगुवा, बरघरलगायतको उल्लेख्य उपस्थिति रहेको बताउनुभयो ।
गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया