थारू वस्तीमा माघ पर्वको रौनक, नयाँ वर्षको रुपमा मनाइँदै


हमार पहुरा डट कम
धनगढी, पुस २९ गते । भूमिपूत्र थारु समुदायमा माघ पर्वको रौनक सुरु भएको छ । नयाँ वर्षको रुपमा मनाइने माघ पर्व सो समुदायमा आजबाट सुरु भएपछि थारु बस्ती माघमय बनेको छ । हरेक थारु गाउँमा आज जिता मारेर सो समुदायका प्रतिनिधिले रमाइलो गरिरहेका छन् ।

माघ थारु समुदायको महान पर्व हो । यसलाई निकै उल्लासपूर्वक धुमधामसँग मनाउने गरिन्छ । पहिलो दिन आज बिहानैबाट जिता मार्ने कार्य भइरहेको गौरीगङ्गा नगरपालिकास्थित नुक्लीपुरका दिनेश दहितले बताउनुभयो । उहाँका अनुसार बिहानै जिता मारेर आज हरेकको घरघरमा सुँगुरको मासुसहित मिठा परिकार पाक्ने गर्छ ।
यस दिन ढमार, ढुमरु गीत र मघौटा नाचमा रमाउँदै मिठामिठा परिकार खाने चलन रहेको दहितले बताउनुभयो । माघको पहिलो दिन थारु संवतको अन्तिम दिन हुने गरेकाले यस दिन वर्षभरिको दुःखपीडा बिर्सेर रमाउने परम्परा रहेको छ ।

माघ १ गते थारु समुदायको नयाँ वर्ष हो । भोलिदेखि थारु संवत् २६४७ सुरु हुँदैछ । आफ्नो नयाँ वर्षको दिन यो समुदायका मानिस बिहानै नदी, तलाउ, खोलामा नुहाएर आफूभन्दा ठुलालाई ढोगसलाम गर्ने र सानालाई आशीर्वाद दिने प्रचलन हुन्छ । यसदिन रिसराग, आपसी वैमनस्य, झैझगडा सबै बिर्सेर एक आपसमा आत्मीयता दर्शाउनुका साथै शुभकामना आदानप्रदान गर्ने चलन छ । पर्वमा मासु, ढिक्री, अनदीको भात लगायतका परिकार खाने र आफन्तलाई खुवाउने गरिन्छ ।

माघ २ गते माघ पर्वको खोज्नीबोज्नी गरिन्छ । यस दिन अघिल्लो आर्थिक वर्षको समीक्षा गर्दै नयाँ वर्षको लागि योजना बनाउने गरिन्छ । यसैगरी, यही दिन गाउँको नेतृत्व गर्ने व्यक्ति चयन गर्ने चलन पनि छ । माघमा आफ्ना विवाहित छोरीचेलीलाई उपहारको रुपमा चामल दिने गरिन्छ, जसलाई निसराउ भनिन्छ ।

यसरी पश्चिम कञ्चनपुरदेखि दाङसम्मका थारु समुदायमा एक सातासम्म धुमधामपूर्वक माघ पर्व मनाउने चलन छ । यस पर्वलाई स्वतन्त्रताको पर्वको रुपमा पनि लिने चलन रहेको मुक्त कमैया परिवारकी बिस्मति चौधरीले बताउनुभयो । उहाँका अनुसार विगतमा कमैया, कम्लहरीले माघमा मालिकको घरबाट छुटकारा पाउने गरेका कारण उनीहरुले यसलाई स्वन्त्रताको पर्वका रुपमा पनि मनाउने गर्छन् ।

तपाईको प्रतिक्रिया