प्रमुख दलको साझा संशोधन प्रस्ताव लग्ने नेताहरुबीच सहमति


3-dal
काठमाडौं, माघ ६ गते । प्रमुख पाँचदलका नेताहरुले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थारु समुदायको माग सम्बोधन गर्नेगरी शीर्ष तहबाटै छलफल र संवादको माध्यमबाट समस्याको समाधान खोज्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको प्रमुख पाँचदलका नेताहरुले त्यस्तो निर्णय गर्दै संविधान संशोधन विधेयकमाथि परेको संशोधन प्रस्तावमा केन्द्रीत भएर असन्तुष्ट पक्षको माग सम्बोधनको प्रयास गर्ने बताएका हुन् । मोर्चा सम्बद्ध दलका नेताहरुसँगको छलफल र परामर्शका आधारमा संशोधन प्रस्तावलाई सहमतिको आधारमा अगाडि बढाउन पनि प्रमुख नेताहरु लचिलो हुने निर्णय गरेका छन् ।

यसअघि कार्यदलस्तरमा सहमतिको प्रयासमा जुटेका दलका नेताहरुबीच सहमति हुन नसकेपछि मधेसी मोर्चासम्बद्ध दलका नेताहरुले शीर्ष तहमा मात्रै छलफल र संवाद गर्ने निर्णय गरेका थिए । मोर्चाको सोही मागका आधारमा शीर्ष नेताहरुले मोर्चासम्बद्ध दलका नेताहरुसँग छलफलको तयारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दलका नेतासहित मोर्चासम्बद्ध दलका नेताहरुको बैठक विहिबार विहान ९ बजेकालागि बालुवाटारमा बोलाउनुभएको छ ।

असन्तुष्ट मोर्चासम्बद्ध दलका नेताहरुसँग सहमति गर्ने वा संशोधन प्रस्तावलाई परिमार्जन गरेर साझा एजेण्डाकोरुपमा अगाडि बढाउने दुईवटा विकल्प नेताहरुले अगाडि सारेका छन् । पहिलो विकल्पअनुसार सहमति बन्नसके त सुनमा सुगन्ध भैहाल्यो । कथंकदाचित सहमति बन्न नसकेमा संशोधन प्रस्तावलाई अन्तिम विकल्पकोरुपमा अगाडि बढाएर माघ ९ गते व्यवस्थापिका संसद बैठकबाट विधेयक पारित गर्ने तयारी शीर्ष नेताहरुको छ ।

शीर्ष तहमा हुने छलफल र संवादको स्पिरिटलाई हेरेर अगाडिको बाटो खुलाहुने बुझाई शीर्ष नेताहरुको छ । कार्यदलस्तरको छलफलमा मोर्चाका नेताहरु नबस्ने निर्णय गरेपछि प्रधानमन्त्री ओलीले शीर्ष तहमै मोर्चाका नेताहरुसँग छलफलको प्रयासलाई विहिबारबाट तिव्र बनाउने तयारी गर्नुभएको छ । मोर्चाका नेताहरुसँगको छलफल र सहमतिका लागि चारदिनको समय लिएका नेताहरुले अन्तिम समयसम्म सहमतिको प्रयास गर्ने बताएका छन् ।

मोर्चाका नेताहरुसँग सहमति बन्न नसके मधेसी मोर्चा र तराईमा आन्दोलनरत थारु समुदायले उठाएको मागलाई सम्बोधन गर्नेगरी प्रमुख दलकोतर्फबाट साझा संशोधन प्रस्ताव अगाडि बढाउने तयारी नेताहरुले गरेका छन् । सभामुख ओनसरी घर्तीसहित प्रमुख तीन दलको माघ ५ गते बसेको बैठकले सहमतिका लागि चारदिनको समय लिने निर्णय गरेको थियो । सो अवधिमा सहमति बन्न नसके ९ गते संशोधन विधेयक पारित हुने यसअघि नै नेताहरुले बताइसकेका छन् ।

संशोधन विधेयकमाथि विभिन्न दलका सांसदहरुको तर्फबाट २५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । सो प्रस्तावलाई कार्यदलस्तरमा मिहिन ढंगले छलफल गरी त्यसलाई परिमार्जन गर्ने र आवश्यक परे छुट्टै संसदीय समिति गठन गरी संशोधन प्रस्तावलाई साझा प्रस्तावकोरुपमा लैजाने नेताहरु सहमत छन् ।

संशोधन विधेयकमाथि विभिन्न दलका सांसदहरुको तर्फबाट २५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । सो प्रस्तावलाई कार्यदलस्तरमा मिहिन ढंगले छलफल गरी त्यसलाई परिमार्जन गर्ने र आवश्यक परे छुट्टै संसदीय समिति गठन गरी संशोधन प्रस्तावलाई साझा प्रस्तावकोरुपमा लैजाने नेताहरु सहमत छन् ।

बैठकपछि पत्रकारसँग संक्षिप्त कुरा गर्नुहुँदै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सदनमा विचाराधिन संशोधन प्रस्तावलाई परिमार्जन गरी साझा प्रस्तावकोरुपमा लैजाने बताउनुभयो । संशोधन प्रस्ताव परिमार्जनका लागि छुट्टै संसदीय समिति पनि बनाउन सकिने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

संशोधन प्रस्तावको भाषा तथा परिमार्जनका लागि यसअघिको तीन दलको कार्यदलले गृहकार्य गर्ने र शीर्षतहमा मोर्चाका नेताहरुसँगको छलफललाई सँगसँगै अगाडि बढाउने निर्णय बैठकमा भएको उपसभापति पौडेलले बताउनुभयो । सम्भवतः मोर्चाका नेताहरुसँग सहमति बन्ने विश्वास व्यक्त गर्नुहुँदै उहाँले सहमति नबने साझा संशोधन प्रस्ताव अगाडि बढाउने जानकारी दिनुभयो ।

एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कार्यदलमा सहमति बन्न नसकेपछि मोचाँसँग शीर्ष तहमै वार्ता गर्ने निर्णय भएको बताउनुभयो । अहिलेसम्म भएको छलफललाई आधार बनाएर अगाडि बढ्ने र मोर्चासँग हरहालतमा सहमतिको प्रयास गरिने उहाँले बताउनुभयो ।

“माघ ९ गतेसम्म प्याकेजमै सहमति बनिहाल्यो भने त राम्रो भैहाल्यो, सहमति नबने आन्दोलनरत पक्षको मागलाई सम्बोधन गर्नेगरी कुनै अन्य विधिबाट साझा संशोधन प्रस्ताव अगाडि बढाउने निर्णय भयो” उहाँले भन्नुभयो । दर्ताभएका संशोधन प्रस्तावमाथि प्रमुख दलको तर्फबाट गठित यसअघिको कार्यदललाई नै गृहकार्य गर्ने जिम्मेवारी दिने निर्णय बैठकमा भएको उहाँले जानकारी दिनुभयो ।

“माघ ९ गतेसम्म प्याकेजमै सहमति बनिहाल्यो भने त राम्रो भैहाल्यो, सहमति नबने आन्दोलनरत पक्षको मागलाई सम्बोधन गर्नेगरी कुनै अन्य विधिबाट साझा संशोधन प्रस्ताव अगाडि बढाउने निर्णय भयो” उहाँले भन्नुभयो ।

प्रमुख तीनदलको कार्यदलमा एमालेबाट भीम रावल, कांग्रेसबाट महेश आचार्य तथा एमाओवादीबाट कृष्णबहादुर महरा सदस्य हुनुहुन्छ ।
बैठकमा एमालेबाट प्रधानमन्त्री ओली, उपाध्यक्ष भीम रावल, प्रमुख सचेतक भानुभक्त ढकालको सहभागिता थियो । त्यस्तै, कांग्रेसबाट सभापति सुशील कोइराला, उपसभापति पौडेल र प्रमुख सचेतक चीनकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

सोहीअनुसार एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डेको सहभागिता थियो । बैठकमा फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार र राप्रपा नेपालका दिलनाथ गिरीको उपस्थिति थियो । मोर्चासहित अर्को बैठक विहिबार विहान बस्नेछ ।

तपाईको प्रतिक्रिया