शिवराज नगरपालिकामा सुरु भयो थारू सङ्ग्रहालय


हमार पहुरा डट कम
कपिलवस्तु, माघ १० गते । कपिलवस्तुको शिवराज नगरपालिकामा थारु सङ्ग्रहालय सञ्चालनमा आएको छ । नगरपालिकाको वडा –१ उमरीमा थारु संस्कृति, सभ्यता, रहनसहन, भेषभुषाको प्रवर्धन हुनेगरी सङ्ग्रहालय सञ्चालन गरिएको छ ।

स्थानीय र भारतीय पर्यटकलाई लक्षितगरी आदिवासी थारु समुदायलाई समेटिएको लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले बताउनुभयो । संग्रहालय निर्माणमा शिवराज नगरपालिका र संघीय सरकारको ३ करोड बढी रकम खर्च भएको छ । संग्रहालयमा थारु सभ्यता जोगाउन परम्परागत सामग्री, भेषभुषा, गहना तथा थारु जातीको पहिचानसहितको प्रतिमा निर्माण भएको शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो ।

सङ्ग्रहालयमा माछा मार्द‌ै गरेको महिला, थारु पहिरनमा सजिएका महिला तथा पुरुषका प्रतिमा निर्माण हुनेछ । थारु समुदायले परम्परागत प्रयोग गर्दैआएका सामग्री डोकवा, झउवा, खटिया, मचिया, चकिया, ढेकी, माटाका गाग्री, चुल्हा, लेहंगा, करवा, डरुवा, डोली, परगेहनी, पिर्का, मंगिया, कारा, बिंडियालगायतका पहिचान झल्किने सामग्री स्थानीयबाट संकलन गरिरहेको सङ्ग्रहालय संरक्षण समितिका अध्यक्ष प्रकाश थारुले बताउनुभयो ।

सङ्ग्रहालय सञ्चालनपछि स्थानीय पर्यटनको विकास हुने थारु अगुवा रामऔतार थारुले बताउनुभयो । सङ्ग्रहालय निर्माणले पर्यटनको विस्तार भइ स्थानीयलाई व्यावसायिक रुपमा फाइदा हुनुका साथै रोजगारी समेत सिर्जना हुने बताइएको छ । संग्रहालय अवलोकनका लागि न्यून दस्तुर राखिएको संरक्षण समितिले जनाएको छ ।

गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया