थारु गाउँबस्तीमा माघी दिवानी शुरु, धमाधम बरघर छानिदै


badghar

दिनेश दहित
कैलाली, माघ ८ गते । कैलाली गदरिया–६ बेनौलीका भलमन्सा÷बडघर पहलमान चौधरीको अधिकांश समय गाउँघरका समस्या सुन्नमा नै बित्ने गर्छ । दुई वर्षदेखि गाउँ प्रमुख (बडघर) को जिम्मेवारी पाउनुभएका उहाँले गाउँको पूरै व्यवस्थापकीय कार्यको नेतृत्व गर्दै आउनुभएको छ ।

“गाउँ प्रमुखको जिम्मेवारी पाएपछि गाउँको विकास निर्माण, आपसी मेलमिलाप तथा विवाद सल्टाउने र समन्वय गर्ने काममै समय बित्छ”, भलमन्सा चौधरी भन्नुहुन्छ, “गाउँको विकास बाहेक अन्य कार्यमा ध्यान दिन फुर्सद नै छैन ।”

प्रायः कृषि पेशामा आश्रित थारु समुदायमा प्रत्येक वर्ष गाउँको सिँचाइ, कुलो निर्माण तथा मर्मत सम्भार, सडक निर्माण, विवाह तथा मृत्यु संस्कारलगायत कार्यमा गाउँवासीलाई परिचालन गर्नु बड्घरको प्रमुख काम हो चौधरी भन्नुहुन्छ ।

कैलालीको मसुरिया–८ ऐठाका पूर्व बडघर तथा बडघर सञ्जाल मसुरियाका कोषाध्यक्ष रमेश चौधरीकाअनुसार गाउँ समाजलाई अनुशासित बनाई विकास, शान्ति र सद्भाव कायम गराउनुका साथै गाउँको विकासका लागि सरकारी तथा गैरसरकारी निकायसँग पुलको कामगर्नु बडघरको प्रमुख जिम्मेवारी भएको बताउनुहुन्छ ।

भलमन्सा वा बडघर प्रथा नेपालको आदिवासी जनजाति थारु समुदायको प्रथाजन्य कानुनका रूपमा स्थापित छ । यस प्रथाअनुसार थारु समुदायमा बडघरले निश्चित समयका लागि समाजबाट कार्यकारी प्रमुखको जिम्मेवारी निर्वाह गर्छन् ।

बडघर प्रथाबारे जानकारी दिँदै बेनौलीका भलमन्सा चौधरी भन्नुहुन्छ, “बडघर प्रथा हाम्रो पुस्तैनी प्रथा हो, प्रत्येक गाउँका बडघर निश्चित समयका लागि गाउँ समाजबाट चयन गरिएका हुन्छौं ।”

बडघर प्रथाबारे जानकारी दिँदै बेनौलीका भलमन्सा चौधरी भन्नुहुन्छ, “बडघर प्रथा हाम्रो पुस्तैनी प्रथा हो, प्रत्येक गाउँका बडघर निश्चित समयका लागि गाउँ समाजबाट चयन गरिएका हुन्छौं ।”

माघी पर्वलाई नयाँ वर्षकोरूपमा मान्ने थारु समुदायले माघीपर्व मनाइसके लगत्तै संस्थाहरूले आयोजना गर्ने वार्षिक साधारणसभा तथा अधिवेशनसँग मिल्दोजुल्दो प्रकृतिको माघी दिवानी कार्यक्रममार्फत् बडघर चयन गर्छन् । संस्थाहरूमा साधारणसभा तथा अधिवेशन गर्ने चलन हिजोआज मात्र अभ्यासमा आएको छ । तर थारू समुदायमा माघी दिवानी कार्यक्रम निकै पहिलादेखि चल्दै आएको भलमन्सा चौधरीको तर्क छ ।

भलमन्सा चौधरीकाअनुसार माघी दिवानी कार्यक्रममा थारूहरू वर्षभरिका लागि कार्ययोजना बनाउनुको साथै गाउँकालागि विभिन्न कामको नेतृत्व चयन गर्दछन् । सो क्रममा सर्वसम्मत तरिकाबाट पुरानै नेतृत्वलाई पुनः गाउँको जिम्मेवारी दिने या नयाँ नेतृत्व छनौट गर्नेबारे छलफल हुन्छ । समाजमा भेला हुनेउक्त समयमा सबैलाई आफ्नो विचार व्यक्तगर्ने स्वतन्त्रता दिइन्छ ।

गाउँ समाजले गाउँको हितमा योगदान दिएको, गाउँ समाजको विकास तथा सद्भावका लागि समय दिनसक्ने योग्य व्यक्तिलाई बडघर वा भलमन्सा बनाउने गर्छन् ।

गाउँ समाजले गाउँको हितमा योगदान दिएको, गाउँ समाजको विकास तथा सद्भावका लागि समय दिनसक्ने योग्य व्यक्तिलाई बडघर वा भलमन्सा बनाउने गर्छन् ।

थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीका अनुसार ‘बडघर र भलमन्सा’ शब्दमा फरक भएपनि उहाँहरूको कामको प्रकृति र जिम्मेवारी एउटै हो । “कुनै थारूवस्तीमा बडघर भनिन्छ त कतै भलमन्सा,” चौधरीले भन्नुभयो ।

बजेट कार्यान्वयनमा बडघर
गाउँको निश्चित काम तथा परम्परागत रीतिरिवाज सञ्चालनमा मात्रै सीमित रहेका बडघरहरू केही वर्षयता सरकारी तथा गैरसरकारी निकायबाट सञ्चालन हुने विकास आयोजना कार्यान्वयनमा पनि परिचालन हुन थालेका छन् ।

बेनौलीका भलमन्सा चौधरीले आर्थिकवर्ष २०७१÷०७२ मा मात्रै जिल्ला विकास समिति, गाविस कार्यालय, जिल्ला शिक्षा कार्यालय र सांसद विकास कोषबाट करीब २५÷३० लाख रुपैयाँ बराबरको कार्यक्रम सम्पन्न गरेको बताउनुहुन्छ ।

गाउँकालागि विकासका कार्यक्रम लिएर जाने सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरू कार्यक्रम सञ्चालनका लागि सुरुमा गाउँका बडघर वा भलमन्साकै सम्पर्कमा आउँछन् । विभिन्न निकायलाई थारु बाहुल्य क्षेत्रमा कार्यक्रम गर्न सहज पनि त्यसले भएको बुझाई गाउँबासीको छ ।

स्थानीय स्वायत्त शासन ऐन– २०५५ र नियमावली– २०५६ ले विकास निर्माणमा स्थानीय जनसहभागिता तथा जनश्रमदान हुनुपर्ने प्रावधान ल्याएपछि बडघरहरू विकास निर्माणको काममा अभ्यस्त हुन थालेको देखिन्छ ।

कैलाली जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत यगम कलेल अन्य समुदायका तुलनामा बडघरको स्थानीय क्षेत्राधिकार रहेको क्षेत्रमा कार्यक्रम कार्यान्वयन गर्न धेरै सजिलो भइरहेको तर्क गर्नुहुन्छ ।

बिना झन्झट तथा निर्धारित विकास निर्माणको काम समयमा पूरा हुने भएकोले बजेट कार्यान्वयन अति नै सजिलो हुनेगरेको उहाँको बुझाई छ । केही वर्षयता भने बडघर तथा भलमन्सा प्रणालीमा पनि राजनीति पसेपछि अदक्ष व्यक्ति चयन भइरहको टिप्पणी उहाँको छ ।

बडघर प्रथा थारू संस्कृतिको प्रमुख हिस्सा
थारू इतिहासकार तथा संस्कृतिविद् महेश चौधरीले बडघर प्रथा थारू संस्कृतिको प्रमुख हिस्सा रहेको बताउनुहुन्छ ।  “बडघर बिनाको थारू संस्कृति अभिभावकविहीन र माली बिनाको बगैँचा जस्तै हुने उहाँको तर्क छ ।

“बडघर र थारू संस्कृतिबीच नङ र मासुको सम्बन्ध छ” चौधरीले तर्क गर्नुहुँदै बडघरप्रथा थारू समुदायमा एकदमै लोकप्रिय रहेको बताउनुहुन्छ । समयानुसार राज्यले बडघर, भलमन्साको स्तरोन्नति गर्न सामुदायिक नेतृत्वका लागि समयानुकुल प्रशिक्षण दिनुपर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया