थाकसको महाधिवेशनको तयारी तिव्र, आउने असोज ५ मा सुरु हुने


हमार पहुरा डट कम
काठमाडौं, फागुन २४ गते । थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस) को केन्द्रीय महाधिवेशनको मिति तय भएको छ । अवको ६ महिनापछि २०८१ असोज ५ गतेदेखि महाधिवेशन गर्ने थाकसले निर्णय गरेको छ ।

थाकसका महामन्त्री प्रेमीलालप्रसाद चौधरीका अनुसार २३ औं महाधिवेशन असोज ५ देखि ७ गतेसम्म रुपन्देहीमा गर्ने बैठकले निर्णय गरेको हो । थाकसका अध्यक्ष धनीराम चौधरीको अध्यक्षतामा बसेको बैठकले सो मिति तय गरेको महामन्त्री चौधरीले जानकारी दिनुभयो ।

थाकसले महाधिवेशनको तयारीस्वरुप जिल्ला अधिवेशन सम्पन्न गरिरहेको छ । थारु समुदायको छाता संगठन रहेको थाकसको पछिल्लो नेतृत्वको निस्क्रियताका कारण अब आउने नेतृत्वमा क्रियाशील र दूरदर्शी नेता अध्यक्षमा आउनुपर्ने थारु अगुवाहरुको सुझाव छ ।

जनगणना २०७८ अनुसार १८ लाख ७ हजार १२४ जनसंख्या रहेको थारु समुदायको संवैधानिक अधिकारलाई सुनिश्चित गर्न र छुटेका अधिकारको पैरवी गर्न जुझारु नेतृत्वसहित नयाँ समिति आउन आवश्यक रहेको थारु अगुवाको बुझाइ छ । पछिल्लो समय थाकसले निजामति कर्मचारीमा थारु क्लस्टरबारे गरिरहेको काम, थारु मानक भाषा लेखन निर्देशिका निर्माणको कामबारे भने थारु जनबाट प्रसंशा भइरहेको बुझाइ छ ।

तपाईको प्रतिक्रिया