को हो नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष ? शुरुभयो बहस


Satyanarayan Bdr

                                २००८ सालमा स्थापना भएको  पत्रकार संघका तत्कालिन अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ ।

काठमाडौं, माघ १०  गते । तत्कालिन नेपाल पत्रकार संघ र हालको नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष को ? भन्ने बहसले अहिलेको पत्रकारिताको बजार तातेको छ । हुँदाहुँदा महासंघको विषय कानून निर्माण गर्नेथलो व्यवस्थापिका संसद बैठकको विषय पनि बन्न थालेको छ ।

नेपाल पत्रकार महासंघले समग्र पत्रकारको क्षमता अभिबृद्धिका लागि राष्ट्रियस्तरमै आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने तयारी गरेको छ । अहिलेको कार्यसमितिको ‘ड्रिम प्रोजेक्ट’ मध्ये प्रतिष्ठान पनि एक हो । सोही प्रतिष्ठानको नाममा कृष्णप्रसाद भट्टराईको नाम जोडिएर आएपछि गठन नहुँदै प्रतिष्ठान विवादमा तानिएको छ ।

SAM_2736

यसअघिको सुशील कोइराला नेतृत्वको सरकारका सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले महासंघका पदाधिकारीहरुसँग छलफल नै नगरी प्रतिष्ठानको नाममा कृष्णप्रसाद भट्टराईको नाम जोडेर ल्याउनुभएपछि महासंघका पदाधिकारी झस्केका थिए । महासंघले त्यस विषयमा आपत्ति जनाएपछि उहाँले पार्टीको भातृसंगठ नेपाल प्रेस युनियनलाई प्रतिष्ठान सञ्चालनको जिम्मेवारी दिने तयारी गर्नुभएको थियो ।

अहिले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिष्ठानलाई पुनः आमसञ्चार प्रशिक्षण प्रतिष्ठान नामदिने तयारी गरेपछि यूनियन निकट केही पत्रकारले आपत्ति जनाएका छन् । महासंघमा प्रतिनिधित्व गर्ने यूनियन निकट पत्रकारले विज्ञप्ती प्रकाशित गरी सार्वजनिकरुपमै त्यसको विरोध गरिसक्नुभएको छ । तर महासंघले प्रतिष्ठान गठन गरिनु नितान्त पत्रकारको दक्षता अभिबृद्धिसँग गाँसिएको विषय भएकाले त्यसमा कसैको नाम राखेर विवादित बनाउन नहुने धारणा राख्दै आएको छ ।

महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले श्रमजीवी पत्रकारको दक्षता अभिबृद्धिकालागि राष्ट्रियस्तरको आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन होस् भन्नेमात्र आफूहरुको चाहना रहेको बताउनुभयो । “प्रतिष्ठान साच्चिकै स्वतन्त्र, स्वायत्त र प्रागिक होस् भन्ने हाम्रो चाहना हो, यो भन्दा अन्य महासंघको कुनै स्वार्थ छैन” भन्नुहुँदै अध्यक्ष विष्टले महासंघमा जवर्जस्ती राजनीति घोल्न खोजिएकोमा दुःख व्यक्त गर्नुभयो ।

वरिष्ठ पत्रकार प्रा.डा. गोपाल सिवाकोटीले तथ्यहरुले पुष्टि गर्दागर्दै संस्थापक अध्यक्षमा विवाद गरिनखोज्नु राजनीतिले ग्रसित मानसिकता मात्र रहेको टिप्पणी गर्नुभयो । “महासंघको संस्थापक अध्यक्ष २००८ जेठमा गठित तत्कालिन नेपाल पत्रकार संघका अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ नै हुन्, कृष्णप्रसाद भट्टराईलाई जोडेर उहाँको ओज घटाउने प्रयास गरिनु ठीक होइन” सिबाकोटीको तर्क छ ।

तत्कालिन अध्यक्ष श्रेष्ठकी सुपुत्री अन्जना मानन्धर श्रेष्ठ (४८) ले नेपाल पत्रकार संघको संस्थापकमा नेता भट्टराईको नाम पत्रपत्रिकामा छापिदा बुवामाथि ठूलो अन्याय भइरहेको तर्क गर्नुहुन्छ । “पत्रपत्रिकामा संस्थापक भनेर भट्टराईको नाम आउँदा बुवा हाँस्नु हुन्थ्यो र हामीलाई सुनाउँदै भन्नुहुन्थ्यो– सबै ठाउँमा राजनीतिले गाँजेको छ ।” उहाँको अनुसार अध्यक्ष श्रेष्ठको निधन २०६० जेठ ९ गते भएको थियो ।

महासंघका पूर्व सभापति तारानाथ दाहालले संस्थापक अध्यक्षको विषयमा अहिले नै बोल्न हतार हुने तर्क गर्नुभयो । “महासंघले अहिलेसम्म आधिकारीक धारणा सार्वजनिक नगरेकाले टिप्पणी गरिहाल्दा हतार हुन्छ, महासंघको धारणा जे हुन्छ, मेरो धारणा पनि त्यही हो” उहाँले भन्नुभयो ।

पूर्व सभापति धर्मेन्द्र झाले महासंघको आधिकारीक दस्तावेजले संस्थापक अध्यक्ष भट्टराईलाई नै मानेकाले त्यसलाई स्वीकार गरेर जानुपर्ने बताउनुभयो । “महासंघको अहिलेको कार्यसमितिले संस्थापनको विषयमा आधिकारीक धारणा सार्वजनिक गरेको छैन, टिप्पणी गरिहाल्नु राम्रो नहोला” उहाँले भन्नुभयो, “प्रशिक्षण प्रतिष्ठानको विषय र महासंघको संस्थापनको विषय नितान्त फरक हो, प्रतिष्ठानमा भट्टराईको नाम जोडिदा महासंघले आपत्ति जनाउनुको कारण के ?”

महासंघका हालका महासचिव उजीर मगरले संस्थापनको विषयमा महासंघले अहिलेसम्म कुनै आधिकारीक धारणा नबनाएको बताउनु   भयो । “महासंघको संस्थापक को हो भन्नेमा ढिलोचाँडो महासंघको धारणा बाहिर आउला, त्यही विषयलाई लिएर अहिले नै विज्ञप्तीबाजी गरिनु पराजय मानसिकताको उपज हो” मगरले भन्नुभयो ।

SAM_2729

यसैबीच, शनिबार नेवारी पत्रकारको संगठन नेवाः दबुको आयोजनामा महासंघको संस्थापक अध्यक्षको विषयमा केन्द्रीत भएर छलफल भएको छ । छलफलमा महासंघका केन्द्रीय सदस्य तथा समावेशी उपसमितिका संयोजक लक्की चौधरीले संस्थापक अध्यक्ष नेपाल टुडेका सम्पादक सत्यनारायण बहादुर श्रेष्ठ नै संस्थापक भएको विभिन्न डकुमेन्टले पुष्टि गरिरहेको तर्क राख्नुभएको थियो ।

कार्यक्रममाम संस्थापक अध्यक्ष श्रेष्ठकी छोरी सुजिता मानन्धर, नेवा दवुका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, पत्रकार सुरजवीर मानन्धर, सुरज व्यन्जनकार, मुक्तिबहादुर आमात्य, राजेन्द्र शाक्य लगायतले संस्थापक अध्यक्षका विषयमा थप अनुसन्धान र वहसको खाँचो औल्याउनुभएको थियो । त्यसकालागि संस्थागतरुपमा अभियान शुरुगर्ने सो संस्थाले प्रतिवद्धता व्यक्त गरेको थियो ।

तपाईको प्रतिक्रिया