थारू बरघर सञ्चार प्रणालीका अभ्यासहरु

सञ्चार प्रणालीमा अभ्यस्त हुँदै बरघर

लक्की चौधरी

प्रज्ञा नेपाली बृहत् शब्दकोशका अनुसार ‘बरघर’ भनेको ‘गाउँलेहरु मिलेर एक वर्षका लागि चुनेर बनाइएको मुखिया, गाउँको अगुवा, बडघर’ भनिएको छ । थारू गाउँको कार्यकारी प्रमुख बरघर हुन्छ । पश्चिम नेपालको कैलाली कञ्चनपुरमा बरघरलाई ‘भलमन्सा’ भनिन्छ । बर्दिया, बाँके जिल्लामा यसलाई ‘बरघर’ भन्छन् । दाङ, सुर्खेतमा यसलाई मटावाँ भन्ने चलन छ । गैर थारू समुदायले बरघरलाई ‘बडघर’ भन्ने गरे पनि ‘बड’ को अर्थ थारुमा केही नलाग्ने भएपछि थारू अगुवाले यसलाई बरघरको रुपमा परिभाषित गरेका छन् । ‘बर’ भनेको ‘ठुलो’ अर्थ लाग्छ । ठुलोघर भएको सम्पन्न व्यक्ति बरघरको जिम्मेवारीमा रहने परम्परा भएकै कारण बरघर भनिएको विश्वास गरिन्छ ।

विकिपिडियाले भन्छ, ‘नेपालको पश्चिम तराईका थारू तथा बसाइ सरेर आएका पर्वतेले मान्ने र सही निर्णय गर्नमा पोख्त व्यक्तिलाई आफ्नो बरघरका रुपमा चयन गर्ने चलन छ । यस्ता बरघर एकताको प्रतीक पनि मानिन्छन् । यी बरघरले प्रत्येक गाउँमा हुने गरेका कामकाज र न्यायिक छलफलमा निर्णय गर्छन् । थारू समुदायको प्रतिनिधित्व गर्ने र शान्ति सुव्यवस्था कायम राख्ने काम बरघरले गर्छन् । बरघर राख्ने चलन कहिलेदेखि चल्यो ऐतिहासिक प्रमाण भेटिएको छैन । बरघर राख्ने चलन खासगरी बाँके, वर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रुपन्देही र नवलपरासीमा विद्यमान छ । बरघरलाई गाउँका बासिन्दाले वार्षिक रुपमा सम्झौताअनुसार मानापाथी, धान–चामल, नगद (रुपियाँ) उठाएर पारिश्रमिकको व्यवस्था गरिएको हुन्छ । यस्ता व्यक्तिको सहायकका रुपमा चौकीदार चुनिएका हुन्छन् ।’

थारू समुदायलाई एकतावद्ध, संगठित, अनुशासित र विकास काममा परिचालन गर्ने काम बरघरले गर्छ । बरघर थारू समुदायको मौलिक प्रथा हो । बरघरले थारूको मौलिक सञ्चार प्रणालीअनुसार सूचना प्रवाह गर्ने गर्छन् । बरघर थारू समुदायको पहिचान पनि हो । बरघरलाई थारू समुदायले गाउँको अभिभावक मान्छन् । गाउँको परम्परागत शासक स्वीकारेका हुन्छन् । थारु समुदायमा रहेको जीवित सत्ताको अभ्यास बरघरले गर्दैआएका छन् । बरघर प्रणालीमा हिजोसम्म थारू समुदाय मात्र सीमित थियो । अहिले बसाइसरी थारू गाउँमा बसोबास गर्न आएका गैर थारू समुदाय पनि बरघर प्रणालीभित्र प्रवेश गरेका छन् । बरघर प्रणाली थारूको मौलिक प्रणाली त हो नै । थारू गाउँलाई एकताको सूत्रमा बाँधिराख्ने हतियार पनि हो । थारू गाउँका सबै घरधुरी वरघरका सदस्य हुन्छन् । गाउँमा बसाइसरी आउने जोकोही बरघरका सदस्य हुन पाउँछन् । केही गाउँमा गैरथारू पनि बरघर रहेको उदाहरण छ । अहिले महिला तथा युवाहरु बरघरको नेतृत्वमा आउनेक्रम बढेको छ ।

पदीय परिभाषा
गाउँ सञ्चालन गर्न विभिन्न व्यक्तिहरुले जिम्मेवारी लिएका हुन्छन् । बरघरलाई सहयोग गर्न विभिन्न व्यक्तिलाई परिभाषित जिम्मेवारी दिइएको हुन्छ । वर्दियाको बारवर्दिया नगरपालिकाले बरघर ऐन नेपालमा पहिलो पटक निर्माण गरी पारित गरेर कार्यान्वयनमा ल्याएको छ । बारवर्दिया नगरपालिकाको कार्य भूगोलभित्र रहेको बरघर प्रणालीको संरक्षण, प्रवर्धन र विकास गर्न बनेको ऐन २०७७ ले परिभाषित रुपमा जिम्मेवारी तोकेको छ ।

सो ऐनअनुसार ‘नगर बरघर’ भन्नाले ‘नगरपालिकामा सूचीकृत प्रत्येक गाउँको मूल बरघर वा गाउँ बखेरी (भेला) ले नगर बरघर बखेरीका लागि छनौट गरेको एक गाउँ, एक जना प्रतिनिधि र वडा बरघर समितिका सबै सदस्य रहनेगरी नगर बखेरी गठन हुनेछ । सो बखेरीले आफूमध्येबाट एक जना बरघर, दुई जना सहायक बरघर र एक जना लिखन्डार चयन गर्नेछ । प्रत्येक वडाका वडा बरघर नगर बरघर समितिको पदेन सदस्य रहने छन् ।’

यसैगरी सो ऐनले भनेको छ, ‘प्रत्येक वडाभित्र रहेका गाउँको गाउँ बरघर र सहायक बरघर रहेको वडा बखेरी गठन हुनेछ । हरेक गाउँ बखेरीले वडा बखेरीका लागि गाउँ बरघरसहित दुई जना प्रतिनिधि चयन गर्न सक्नेछ । यस बखेरीले आफूमध्येबाट एकजना वडा बरघर, दुई जना सहायक बरघर र एक जना लिखन्डार चयन गर्नेछ ।’ यसरी नै सो ऐनको परिभाषामा ‘गाउँ बरघर’ भन्नाले ‘गाउँ बरघरको सीमानाभित्र पर्ने प्रत्येक घरधुरीबाट कम्तिमा एक जना वा वढीमा महिला पुरुष गरी दुई जनाको प्रतिनिधित्व भएको गाउँ बखेरी गठन हुनेछ । यो बखेरी बरघर प्रणालीको सर्वोच्च अङ्ग हुनेछ । बरघर वर्षको माघ महिनामा गाउँका सबै घरधुरीबाट प्रतिनिधित्व भएको बखेरी बस्नेछ । यस बखेरीले बरघर प्रणालीको पदाधिकारी जस्तैः बरघर, सहायक बरघर, लिखन्डार, चिरक्या, चौकीदार, गुरुवा, केसौका आदिको खोज्नीबोझ्नी (चयन) गर्नेछ । यस बखेरीले वडा बखेरीका लागि गाउँ बरघरसहित दुई जना प्रतिनिधि चयन गर्नेछ ।’

सो ऐनअनुसार ‘सहायक बरघर’ भन्नाले ‘बरघर प्रणालीमा गाउँ बरघरलाई सहयोग गर्ने नियुक्त सहायक बरघरलाई सम्झनु पर्छ’ भनेको छ । त्यस्तै, लिखन्डार भन्नाले ‘बरघर प्रणालीमा लेखापढी, हिसाव कितावको काम गर्ने व्यक्तिलाई सम्झनुपर्छ’ भनेको छ । त्यस्तै, ‘टोल बरघर’ भन्नाले गाउँ बरघरलाई सहयोग गर्ने र आवश्यकताअनुसार आफ्नो टोलमा नेतृत्व गर्ने बरघरलाई सम्झनु पर्दछ भनेको छ । त्यस्तै, चौकीदार भन्नाले ‘गाउँको चौकीदारी गर्ने, रेखदेख, सूचना प्रवाह र आपतविपदका बेलामा सहयोग गर्ने कार्यका लागि नियुक्त भएको व्यक्तिलाई सम्झनुपर्छ’ भनेको छ । माथि परिभाषित यी पदहरु सबै बरघरलाई सहयोग गर्न बनेका सहायक पदहरु हुन् ।

सञ्चार प्रणाली
थारू बरघरहरुले गाउँ सञ्चालनका लागि महत्वपूर्ण भेला, छलफल, बैठक (जुटेल्हा) मा सहभागिताका लागि गाउँका सदस्यलाई विभिन्न माध्यमबाट सूचनाको सञ्चार (प्रवाह) गर्ने गर्छन् । बैठकको सन्देश प्रवाह गर्न बरघर आफैले त्यो काम गर्छन् । सूचना प्रवाहका लागि आफू मातहत चौकीदार नियुक्त गरेर त्यसमार्फत् खबर प्रवाह गर्नेगरेका पनि छन् । बरघरले मुख्यतः आठ प्रकारका प्रणालीमार्फत गाउँका सदस्यलाई सूचना प्रवाह गरेको अभ्यास देखिन्छ । त्यसमा कुनै अति भरपर्दो सूचना प्रवाह गर्ने शैली छ, कुनै भने खासै कार्यान्वयनमा छैन । बरघरले प्रयोग गर्ने मुख्य सञ्चार अभ्यासहरु यस्ता छन् –

(क) बरघर आफै खट्ने
बरघरको जिम्मेवारीमा रहेका व्यक्तिले स्वयम् प्रत्येक गाउँको घरधुरीमा पुगेर सूचना दिने काम गर्छन् । सूचना प्रवाह गर्दा गाउँका सबै घरमा पुगेर लिखित या मौखिक सूचना दिने काम गर्ने गर्छन् । बरघर आफै खट्नु बढी विश्वसनीय हुने भएकाले समय भएसम्म बरघर आफै खट्ने गर्छन् ।

(ख) चौकीदार खटाउने
बरघरले आफू मातहत आफ्नो सहयोगीको रुपमा गाउँमा एक वा दुई जना चौकीदार नियुक्त गरेका हुन्छन् । गाउँको सामुहिक भेलाले बरघरको प्रस्तावमा चौकीदार नियुक्त हुन्छन् । चौकीदारमार्फत हरेक घरधुरीमा सूचना प्रवाह गराउने काम बरघरको जिम्मेवारी हुन्छ । सूचना प्रवाह गर्ने र गराउन तौर तरिका परम्परागत र आधुनिक दुवै अभ्यासमा छन् । उहिले परम्परागत विधिमात्र प्रयोगमा थियो, अहिले सूचना प्रविधिको विकासका कारण नयाँ सूचना प्रणालीको विकास भएको छ ।

(ग) टेलीफोन गर्ने
बरघर आफै वा चौकीदारमार्फत गाउँका सदस्यहरुलाई टेलीफोनमार्फत गाउँमा भेला, छलफलका लागि जुट्ने सूचना जानकारी गराउने गरिन्छ । बरघर आफैले वा चौकीदार मार्फत् टेलीफोनको प्रयोग गरी सूचना प्रवाह गर्ने अभ्यास अहिले बढेको छ । टेलिफोनको सहज पहुँचले बरघरलाई सूचना प्रवाह गर्न सहज भएको छ ।

(घ) लिखित पत्र
अहिले गाउँमा युवाहरु बरघर नेतृत्वमा आउनेक्रम बढेको छ । पढेलेखेका, शिक्षित बरघरले गाउँका सदस्यहरुलाई गाउँमा बस्ने छलफल वा जुटेल्हाका लागि चौकीदारमार्फत लिखित पत्र पठाउने परम्परा सुरु भएको छ । यसअघि परम्परागत रुपमा मौखिक खबर पठाउने चलन चल्दैआएको थियो । अहिले शिक्षाको महत्व गाउँलेहरुले पनि बुझ्ने भएपछि युवापीढि बढी शिक्षित भएको छ । शिक्षाको विकासले थारू बरघरको सूचना प्रणालीलाई पनि सहज बनाइदिएको छ ।

(ङ) हाँक लगाउने
उहिले गाउँमा मानिसहरु पढे लेखेका थिएनन् । चिठीपत्र पठाउन लेख्न जानेका थिएनन् । टेलिफोनको विकास भएको थिएन । त्यतिबेला गाउँको अग्लो ठाउँमा गएर हाँक लगाएर सूचना प्रवाह गर्ने परम्परा थियो । गाउँमा भएको रुखमा चढेर पनि हाँक लगाएर (चिच्याएर, कराएर) बरघरको सूचना चौकीदारमार्फत् गाउँलेहरुलाई पुगाउने चलन थियो । अहिले यो परम्परा निकै कम अभ्यासमा छ । प्रविधिको विकासले यो प्रथा ओझेलमा पर्दैगएको छ ।

(च) एसएमएस
सूचना प्रविधिले फड्को मारेसँगै अहिले गाउँ पनि त्यसबाट अछुतो छैन । घर–घरमा मोबाइल इन्टरनेट पुगेको छ । सोही कारण सूचना प्रवाह गर्ने अर्को शैली एसएमएस गर्न सुरु गरिएको छ । गाउँका सदस्यहरुमा बरघर प्रथा पुस्तान्तरण हुँदै गएपछि युवाहरु नेतृत्वमा आउन थालेका छन् । त्यसैले सूचना प्रवाह गर्ने एसएमएस प्रविधि अभ्यासमा आउन थालेको हो । घरमै बसेर मोबाइल सेटमार्फत छलफलको विषय, एजेण्डा र निर्धारित समय र स्थानबारे एसएमएस गर्न थालिएको केही बरघरको भनाइ छ ।

(छ) च्याट ग्रुप
इन्टरनेटको विकास भएसँगै अहिले आधुनिक मोबाइल सेटमा सहजरुपले डाटा मार्फत इन्टरनेट सञ्चालन हुन्छ । सामान्य मोबाइल सेटमार्फत पनि एसएमएस पठाउन मिल्छ । बरघरहरुले गाउँको नामबाट ग्रुप च्याट बनाएर त्यसमार्फत सूचना प्रवाह गर्न थालेका छन् । तर यो अभ्यास निकै कम गाउँमा भएको देखिन्छ । सूचना प्रवाहका लागि बैठकका सूचना र भएको निर्णय सोही ग्रुप च्याट बक्समा राख्ने प्रचलन सुरु भएको बरघरहरुको भनाइ छ । यसले सूचना प्रवाहलाई चुस्त बनाउन सहयोग गरेको बरघरको बुझाइ छ ।

(ज) इमेल
इन्टरनेट चलाउन जान्नेले इमेलमार्फत सूचना पठाउन र प्राप्त गर्न सजिलै सक्छन् । गाउँमा विजुली बत्ती र इन्टरनेटको सहज पहुँच हुन थालेपछि गाउँका सदस्यहरु इन्टरनेट प्रयोगमा अभ्यस्त हुन थालेका छन् । सामाजिक सञ्जालको बढ्दो प्रयोगले झन गाउँका सदस्यहरुलाई सूचना प्रविधिको ज्ञान बढाउनमा सहज बनाइदिएको छ । गाउँका सदस्यहरु इमेल आइडि बनाएर सूचना प्रवाह गर्न सक्नेसम्म सक्षम हुन थालेका छन् । बरघर जिम्मेवारीमा रहेकाहरुको भनाइ अनुसार केही गाउँमा इमेल मार्फत सूचनाहरु आदान प्रदान गर्न सुरु गरिएको छ । तर थोरै गाउँमा त्यो अभ्यास छ । खासगरी शहर बजार नजिकको गाउँ र इन्टरनेटको सहज पहुँच भएको गाउँमा त्यो अभ्यास गरेको देखिन्छ ।

यी आठ अभ्यासमध्ये भरपर्दो र प्रयोगमा रहेको सञ्चार प्रणाली भनेकै सबै घरधुरीमा बरघर स्वयम् पुगेर सूचना प्रदान गर्नु हो । अथवा चौकीदारलाई खटाएर लिखित या मौखिक सन्देश प्रवाह गराउने अभ्यास हो । धनगढी उपमहानगरपालिका नगर भलमन्सा समितिका अध्यक्ष रोहित चौधरीका अनुसार बरघरको सूचना प्रवाह गर्ने विविध प्रणाली विकास भए पनि प्रविधिमैत्री भने अझै हुन सकेको छैन । केही गाउँमा घरको भित्तामा, गाउँको चोकमा भएको रुखमा सूचना टाँस्ने परम्परा पनि रहेको देखिन्छ ।

हाँक लगाउने प्रणाली निकै पुरानो थारू मौलिक सञ्चार प्रणाली हो । अहिले यो खासै प्रयोगमा छैन । जब प्रविधिको विकास भएको थिएन, अर्थात् नयाँ तौर तरिकाको विकास नहुन्जेल यो विधिको प्रयोग लामो समयसम्म अभ्यासमा रहेको उहाँको बुझाइ छ ।

हाँक लगाउने प्रणाली निकै पुरानो थारू मौलिक सञ्चार प्रणाली हो । अहिले यो खासै प्रयोगमा छैन । जब प्रविधिको विकास भएको थिएन, अर्थात् नयाँ तौर तरिकाको विकास नहुन्जेल यो विधिको प्रयोग लामो समयसम्म अभ्यासमा रहेको उहाँको बुझाइ छ । उहाँका अनुसार सूचना प्रविधिको विकाससँगै अभ्यासमा आएको इमेल प्रविधिलाई अझ पूर्णतः अभ्यासमा ल्याउन नसकिए पनि प्रयोग गर्न थालिएको छ ।

धनगढी उपमहानगरपालिका वडा ५ जाइँ गाउँका बरघर (भलमन्सा) कुलवीर चौधरीका अनुसार युवा र महिलामा नेतृत्व क्षमता विकास भएको छ । तर पुस्तान्तरण हुन अझ समय लाग्नेछ । भलमन्साको सूचना प्रवाह गर्ने प्रणाली सबैभन्दा बढी मौखिक प्रणाली भरपर्दो रहेको उहाँको भनाइ छ । घरधुरीमै गएर मौखिक खबर गरेपछि बैठक, कचहरीमा सबै घरधुरीबाट सदस्य अनिवार्य उपस्थित हुन्छन् । उपस्थित नहुनेलाई जरिवाना तोक्ने अधिकार बरघरलाई हुन्छ । बैठकमा अनुपस्थित रहनेलाई कारवाही वा सजाय बापत तोकिने दण्ड पनि बरघर स्वयम्ले निर्धारण गरी गाउँको भेलाबाट पारित गराएका हुन्छन् ।

धनगढी उपमहानगरपालिका वडा ८ का भलमन्सा सरोज चौधरी अहिले २९ औं पटक भलमन्साको जिम्मेवारीमा हुनुहुन्छ । उहाँको हजुरबुवा, बुवापछि आफू बरघरमा आउँदा पूरै तीन पुस्ता बरघर जिम्मेवारी निर्वाह गर्दैआउनुभएको छ । उहाँका अनुसार परम्परागत सूचना प्रवाह गर्ने सञ्चार प्रणाली जोगाउने र नयाँ प्रविधिमैत्री सञ्चार प्रणाली अङ्गाल्ने मुख्य चुनौती छ । गाउँको अग्लो ठाउँमा गएर हाँक लगाउने सूचना प्रणालीलाई जोगाउँदै च्याट ग्रुप, एसएमएस र इमेलमार्फत सूचना प्रवाह गर्ने प्रणालीको अभ्यास गर्न युवाहरु नेतृत्वमा आउनुपर्ने सुझाव उहाँको छ । इच्छुक भए पनि बुढापाकामा प्रविधियुक्त ज्ञानको अभाव छ । फोन पहुँच प्रायः सबै सदस्यमा भए पनि सहज प्रयोगको अझै बुढापाकामा समस्या छ । सञ्चार प्रणालीलाई युग सुहाउँदो बनाउने प्रयासमा आफूहरु लागिपरेको भए पनि अझै रुपान्तरण हुन नसकेको उहाँको बुझाइ छ । यद्यपि आधुनिक सूचना प्रविधिको प्रयोग भने गाउँमा सुरु भएको उहाँको भनाइ छ ।

नगर भलमन्सा समितिका सचिव तथा धनगढी –६, मटियारी गाउँका बरघर बिन्तिराम चौधरीले नगरभित्र करिब १०० बरघर आवद्ध छन् । केही बरघरलाई समेट्न बाँकी छ । समितिको विधान तयार गरी धनगढी उपमहानगरपालिकामा दर्ताका लागि पेश गरिएको उहाँको भनाइ छ । परम्परागत सूचना प्रवाह गर्ने प्रणाली गाउँमा अझै जीवित रहेको भए पनि विश्वसनीय बनाउन सकिएको छैन । पहिले गाउँमा थारूहरुको घर एक ठाउँमा गुजमुज्ज रहेका बेला हाँक लगाउन सहज थियो । अहिले गाउँ फैलिएको छ । घरधुरी संख्या एक गाउँमा दुई–तीन सयसम्म पुगेकाले हाँक लगाउने परम्परा हराउँदो छ ।

अहिले सबैभन्दा भरपर्दो र अभ्यासमा रहेको सूचना प्रवाह प्रणाली भनेकै सबैको घरमा गएर सूचना प्रवाह गर्ने हो । लिखित र अलिखित दुवै प्रकारको सूचना प्रवाह अभ्यासमा रहेको उहाँ भन्नुहुन्छ, ‘सामान्य बैठक र छलफलका लागि मौखिक खबर गरे पुग्छ, महत्वपूर्ण भोज विवाह, मर्नीकर्नी, पूजा, उत्सव, महोत्सवका लागि लिखित पत्रमार्फत् सूचना प्रवाह गर्दैआएका छौं ।’

धनगढी उपमहानगरपालिका वडा ५ हसनपुरका बरघर बुद्धि चौधरी बरघर जिम्मेवारीमा आएको सात वर्ष भयो । उहाँको गाउँमा १०५ घरधुरी छ । गाउँमा सूचना प्रवाह गर्ने प्रणाली पुरानो र नयाँ दुवै अभ्यासमा रहेको उहाँको भनाइ छ । अहिले गाउँमा युवा र महिला बढी सक्रिय रहेकाले पुस्तान्तरण गर्न सहज भएको उहाँको बुझाइ छ । थारू देउथान पूजा, गाउँमा हुने जन्मोत्सव, मर्नीकर्नी, खोज्नीबोझ्नी र विवाह भोजका बेला गाउँलेहरु एक ठाउँमा आउनेगरेको उहाँको भनाइ छ । सूचना प्रवाह गर्दा टेलिफोन, एसएमएस, घरमै गएर खबर गर्नेदेखि पुरानो मौलिक परम्परा हाँक लगाउने अभ्यास पनि कहिलेकाहीँ गर्नेगरेको उहाँको अनुभव छ ।

चुनौती र अवसर
बरघर भेला तथा छलफलका लागि गाउँमा सूचना प्रवाह गर्ने अनेक अभ्यास छन् । त्यसबारे माथि चर्चा गरिसकिएको छ । यद्यपि परम्परागत सूचना प्रवाह प्रणालीलाई जोगाउने र त्यसलाई प्रभावकारी बनाउने मुख्य चुनौती देखिन्छ । हाँक लगाउने सूचना प्रणाली सूचना प्रवाहका हिसावले मौलिक र जिवन्त मानिन्छ । तर गाउँको आकार ठूलो हुने र सदस्य संख्यामा अत्यधिक बढोत्तरी भएपछि कि त्यसलाई साउण्डजडिट माइकिङ प्रणालीमा विकास गर्नुपर्छ कि हाँकमार्फत सूचना प्रवाह गर्ने प्रणालीलाई त्याग्नुपर्छ । व्यक्ति चिच्याएर हाँक लगाउनाले गाउँका सबै सदस्यसम्म अब सूचना प्रवाह सम्भव देखिदैन । यद्यपि सानो गाउँको लागि यो अभ्यास बढी प्रभावकारी छ । त्यही कारण यो प्रणालीलाई बरघरहरुले कम अँगाल्न थालेको देखिन्छ ।

अहिले सबैभन्दा भरपर्दो र अभ्यासमा रहेको सूचना प्रवाह प्रणाली भनेकै सबैको घरमा गएर सूचना प्रवाह गर्ने हो ।

अर्को चुनौती हो गाउँका पाका पुस्तालाई सूचना प्रविधिको ज्ञान सिकाउनु । हातमा मोबाइल छ । कल गर्ने र रिसिभ गर्नसम्म अभ्यास छ । तर एसएमएस गर्ने त्यति भेउ छैन । च्याट गर्न र इमेल चलाउन त झन टाढाको काम भयो । ती पाका पुस्तालाई प्रविधिमैत्री बनाउन आजको पुस्तासामु चुनौती धेरै छ । कि पाका पुस्तालाई ज्ञान र सीप सिकाउनु पर्छ कि बरघरको जिम्मेवारीमा आफै आउने आँट गर्नुपर्छ । पाका पुस्ताको परम्परागत ज्ञान, सीप र अनुभव युवा पुस्तामा पुस्तान्तरणको खाँचो बढी छ । उनीहरुलाई प्रविधिको ज्ञान पनि सिकाउनु पर्ने युवासामु बाध्यता छ । यही चुनौतीका कारण बरघरको सूचना प्रवाह प्रणाली प्रविधिमैत्री हुन नसकेको अनुभव धनगढी –१६, रामपुरका पूर्व बरघर नारायण चौधरीको भनाइ छ । युवापुस्ता अझ बरघर जिम्मेवारीमा अभ्यस्त भइनसकेकाले सूचना प्रवाह प्रणाली परम्परागत रुपमा चलिरहेको उहाँको भनाइ छ ।

सूचना प्रविधिले यति फड्को मारिसकेको छ कि गाउँमा अहिले सबैको हातमा आधुनिक मोइबाल छ । त्यसलाई अवसरमा बदल्न सक्ने हो भने बरघरको सूचना प्रवाह गर्ने प्रणाली पनि प्रविधिमैत्री हुने नगर भलमन्सा समितिका अध्यक्ष रोहित चौधरीको बुझाइ छ । समय परिवर्तन भएसँगै सूचना प्रविधिको ज्ञान पाका पुस्तालाई सिकाउन सक्ने हो भने बरघरको सूचना प्रवाह गर्ने प्रणाली पनि सहज हुने उहाँको विश्वास छ । विस्तारै युवापुस्ता बरघर प्रणालीमा अग्रसर भइरहेकाले प्रविधिमैत्री सञ्चार प्रवाह गर्ने प्रणाली छिटो कार्यान्वयनमा आउने उहाँको विश्वास छ ।

तपाईको प्रतिक्रिया