दसैंमा सखिया नाचले थारू गाउँ गुञ्जयमान (फोटो फिचरसहित)


हमार पहुरा डट कम
धनगढी, असोज २२ गते । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरस्थित थारू गाउँ अहिले सखिया नाचको गुञ्जयमानले भरिएको छ । नाचले गाउँको रौनक नै फरक गरिदिएको छ ।

दसैंको चहलपहलसँगै थारु वस्तीमा सखिया नाचले गाउँको गरिमा बढाएको छ । थारू समुदायमा विशेषगरी दसैंमा सखिया नाच नाच्ने गरिन्छ । दसैंको बेला गाउँमा हरेक वर्ष सखिया नाच नाचिने गरेको धनगढी उपमहानगरपालिका –५ जाईका भलमन्सा कुलवीर चौधरीले बताउनुभयो । उहाँका अनुसार जाइँ गाउँमा असोज ११ गतेदेखि सखिया नाच नाच्न सुरु गरिएको हो ।

जाइँमा मात्र नभइ, अन्य गाउँ रामपुर, भादा, श्रीपुर लगायत गाउँमा पनि थारु युवतीहरु मादलको तालमा एकसाथ सखिया नाच नाचिरहेका छन् । यति बेला थारु वस्तीमा सखिया नाचको रौनकले चहलपहल बढाएको छ ।

आफ्नो मौलिक संस्कृति जोगाउन र नयाँ पुस्तालाई सखिया नाच सिकाउन आफूहरुले सखिया नाच्ने गरेको जाइँ गाउँकी दिलमाया चौधरीले बताउनुभयो । “यसोगर्दा रमाइलो पनि हुन्छ र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण पनि हुन्छ” उहाँले थप्नुभयो, “हामी नाच्न जानेकाहरुले नै नयाँ पुस्तालाई नाच्न सिकाउने हो । त्यो काम हामीले गरिरहेका छौं ।”

महिलाले मादलको तालमा मजिरा बजाउँदै सखिया नाच नाच्ने गर्दछन् । यो नाचमा सुरुमा गीत गाउने गरेको उल्लेख गर्दै मादल बादक स्थानीय रामप्रसाद दहितले भन्नुभयो, “ रमाइलोका लागि पैंयाँ लाग्ने गरिन्छ ।” मादलको तालमा युवतीहरुलाई नचाउन छुट्टै उत्साह आउने उहाँको भनाइ छ ।

सखिया नाच कृष्ण लीलामा आधारित गीत गाएर नाच्ने गरिन्छ । यसका गीतहरु महाभारत प्रसंगसँग जोडिएका छन् । सखिया नाचको गीत कृष्णजन्माष्टमीदेखि गाउने सुरु गरिन्छ । सखिया नाच भने दसैंको अवसरमा नाच्ने गरिएको स्थानीय देउमति चौधरीले बताउनुभयो । कृष्णलीलाको गीत सकिएपछि सखिया नाच्ने कार्य पनि सम्पन्न हुनेगरेको उहाँले प्रष्ट पार्नुभयो ।

गोरखापत्र अनलाइनबाट । तस्विरः अविनाश चौधरी

तपाईको प्रतिक्रिया