श्रेष्ठ हुन् पत्रकारको संस्थापक अध्यक्ष

प्रा.डा. गोपाल शिवाकोटी

प्रा.डा. गोपाल शिवाकोटी

SAM_2702

राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा कृष्णप्रसाद भट्टराईको नाम हटाइएपछि नेपाल पत्रकार संघका संस्थापक सभापति को हुन् भन्ने विवाद खडा भएको छ । सरकारले यो प्रतिष्ठानसम्बन्धी विधेयकमा कृष्णप्रसाद भट्टराईको नाम हटाएको भनी यसप्रति नेपाल पत्रकार महासंघ भित्र नै आपत्ति समेत शुरुभएको र व्यवस्थापिका संसदका सदस्यहरुले नेपाल पत्रकारसंघका संस्थापक सभापति कृष्णप्रसाद भट्टराईको नाम हटाएको भनी यस्तो सरकारी कार्यको विरोध शुरु भएपछि नेपाल पत्रकार संघका संस्थापक सदस्य को हुन् ? नेपाल पत्रकार संघको आधिकारिकता कसलाई मान्ने भन्ने विषय समेत सार्वजनिक बहसको विषय भएको छ । यसप्रति भएका भ्रम र यथार्थ के हो भन्ने कुराको खोजी गरी यो विवादलाई टुंगो लगाउनु अनिवार्य भएको छ ।

पत्रकार संघमा सम्पादक तथा पत्रिकाका लेखकहरु तथा विदेशबाट नेपालमा आएर पत्रकारिता गरिरहेका व्यक्तिसमेत सदस्य हुने प्रावधान राखिएको थियो र सदस्य हुनका लागि दुईजना सदस्यको सिफारिश तथा संघले तोकेको शुल्क बुझाउनु पर्ने व्यवस्था गरिएको थियो ।

नेपाल पत्रकार संघका विभिन्न समयमा गठन भएको र विभिन्न किसिमका भ्रम समेत रहेकोले संस्थापक सभापतिकाबारेमा समेत विवाद भएकोले यसको ऐतिहासिक पृष्ठभूमिबारेमा प्रष्ट भएमा यी भ्रमहरु स्वतः निवारण हुनेछन् । दोस्रो कुरो कृष्णप्रसाद भट्टराई संस्थापक सभापति भएको हुँदा उनलाई सम्मान गर्न यो राष्ट्रिय आमसञ्चार प्रतिष्ठान उनकै नाममा राखेर सम्मानित गर्न खोजेको हो वा भट्टराई पत्रकार संघको संस्थापक सदस्य भएको नाताले उहाँको नाम प्रतिष्ठानसंग जोडिएको हो भन्ने कुरा पनि प्रष्ट हुनु जरुरी छ ।

संस्थापक सभापतिलाई सम्मानित गर्नकालागि भट्टराईको नाम प्रस्तावित गरिएको भए अर्कै कुरा हो र भट्टराईले पत्रकार संगठनको स्थापना गर्न दिएको योगदानलाई कदर गर्नको लागि उनको नाम राख्न खोजिएको हो भन्ने दुई छुट्टाछुट्टै विषय भएको समेत यहाँ हेक्का राख्नु जरुरी भएको छ ।

यसअघिको सुशील कोइरालाको नेतृत्वको सरकारले निर्माण गरेर कृष्ण सन्तनेता कृष्णप्रसाद भट्टराईको नाममा आमसञ्चार प्रतिष्ठान गठन गर्ने कामलाई अगाडि बढाएकोमा वर्तमानको केपी शर्मा ओलीे नेतृत्वको सरकारले कृष्णप्रसाद भट्टराईको नाम हटाएर यो प्रतिष्ठान गठन गर्ने कामलाई अगाडि बढाएको भनी यो विषय पत्रकार संघका संस्थापक सभापति भन्दा पनि राजनीतिक आस्थाबाट समर्थन र विरोध गर्ने काम भएकोले यसप्रति राजनीतिक पूर्वाग्रहसमेत देखिन पुगेको छ । नेपाली कांग्रेस समर्थकहरुले कृष्णप्रसादको नाम हटाएर उनको सम्मानमा चोट पु¥याएकोरुपमा प्रस्तुत गरेको देखिन्छ भने अन्य पक्षले संस्थापक सभापति कृष्णप्रसाद भट्टराई हुँदै नभएकोले उनको नाम हटाएकोमा समर्थन गर्ने काम गरेकोले पत्रकार लगायत यो विषयले विभाजन ल्याएर राजनीतिक विवादमा मुछेको छ । यसैले यो विवादले अरु चर्कोरुप लिनुभन्दा अगाडि नै यस बारेमा यथार्थता अगाडि आउनु जरुरी भएको छ ।

संस्थापक सभापति कृष्णप्रसाद भट्टराई हुँदै नभएकोले उनको नाम हटाएकोमा समर्थन गर्ने काम गरेकोले पत्रकार लगायत यो विषयले विभाजन ल्याएर राजनीतिक विवादमा मुछेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले आमसञ्चार गठनका लागि तयारी गरेको मस्यौदामा अघिल्लो वर्षको बजेट भाषणमा उल्लेख भएको प्रतिष्ठान गठनबाट भट्टराईको नाम हटाएर राष्ट्रिय आमसञ्चार प्रतिष्ठान राख्ने तयारी गरेपछि विवाद अगाडि आएको हो । यो गठन आदेशको विषयमा सरोकारवालाहरुसँग छलफल हुँदा नाम परिवर्तन गर्ने प्रस्ताव आएपछि यस बारेमा सबैको चासो समेत उत्पन्न भएको छ । पञ्चायत व्यवस्था हटेपछि पहिलो प्रधानमन्त्रीको रुपमा कृष्णप्रसाद भट्टराई भएपछि तत्कालीन अवस्थामा कृष्णप्रसाद समेत नेपाल पत्रकारसंघको सभापति बनिसकेकोले पत्रकारसंघले बढी फाइदा लिनका लागि उनको फोटो पत्रकार संघमा झुण्ड्याएर संस्थापक सभापति भनेदेखि नै नेपाल पत्रकार संघको संस्थापक अध्यक्ष को हो ? भन्ने बारेमा चर्चा चलेपनि अहिले आएर यो विवादले उत्कर्षमा पुगेको छ । म स्वयं पनि पत्रकार संघको लामो समय सदस्य भएको र पत्रकारहरुको आन्दोलनमा महत्वपूर्ण भूमिका समेत निर्वाह गरेको हुँदा यो बारेमा प्रष्ट गर्नु आवश्यक ठानेर यसको ऐतिहासिक पृष्ठभूमिबारेमा यथार्थ ल्याउने प्रयास गरेको छु ।

नेपालमा राणाशासन समाप्त भएपछि विभिन्न संघ संस्थाहरु गठन गर्ने कामको बाढी नै आएको खथियो । त्यसै अवस्थामा नेपालका पत्रकाहरु तथा नेपाल बाहिरका पत्रकारहरुलाई संगठित गरी पत्रकारहरुको आवश्यक सुविधा, हकहितको संरक्षण गर्ने र बाह्य देशका पत्रकाहरुसँग समेत सम्बन्ध कायम गर्नका लागि २००८ सालमा नेपाल टुडेको सम्पादक श्री सत्यनारायण बहादुर श्रेष्ठको सभापतित्व र तरंगका सम्पादक भोजबहादुर सिंह न्यौपाने सचिव रहेको पहिलो पत्रकार संघको गठन भएको हो । यसैले नेपाल पत्रकार संघका पहिलो सभापति सत्यनारायण बहादुर श्रेष्ठ भएकोले नेपाल पत्रकारसंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ थिए ।

नेपाल पत्रकार संघका पहिलो सभापति सत्यनारायण बहादुर श्रेष्ठ भएकोले नेपाल पत्रकारसंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ थिए ।

यही सत्यबहादुर श्रेष्ठको सभापतित्वमा गठन भएको नेपाल पत्रकार संघको दोस्रोसभा २००९ साल वैशाख २८ गते भोटाहिटी स्थित आर्य समाजको भवनको सभाकक्षमा यसको दोस्रोसभा भएको थियो । यो सभाले पनि श्री सत्यनारायण बहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकारसंघको पुर्नगठन गरेको थियो । यो संघमा गोरखापत्रका प्रेमराज शर्मा उपसभापति, सचिव भोजबहादुर सिंह न्यौपाने, उपसचिव श्री रामहरी जोशी र कोषाध्यक्षमा श्री रामराज शर्मा नेपाल पुकार पत्रिका लगायतका नौ जनाको कार्यसमितिको गठन भएको थियो । यो कार्यसमितिले तत्काल बनेको छापाखाना प्रकाशन सम्बन्धी ऐनमा रहेका पत्रकारिता विरुद्ध प्रावधानहरुको विरोध र पत्रकाहरुको हकहितका सम्बन्धमा सरकारसमक्ष मागहरु समेत प्रस्तुत गरेको थियो । यो पत्रकार संघमा सम्पादक तथा पत्रिकाका लेखकहरु तथा विदेशबाट नेपालमा आएर पत्रकारिता गरिरहेका व्यक्तिसमेत सदस्य हुने प्रावधान राखिएको थियो र सदस्य हुनका लागि दुईजना सदस्यको सिफारिश तथा संघले तोकेको शुल्क बुझाउनु पर्ने व्यवस्था गरिएको थियो ।

यसको तीन वर्षपछि मात्र दोस्रो नेपाल पत्रकारसंघको गठन भएको थियो । उदयराज शास्त्रीको सक्रियतामा २०१२ सालको पुष १९ मा पत्रकारहरुको बैठक बोलाएर संघको गठन गर्ने प्रयास गरिएको थियो । तर आवश्यक संख्यामा पत्रकाहरुको उपस्थिति नभएकोले २०१२ सालको चैत्र १६ गते पत्रकाहरुको अर्को बैठक बोलाएर यही पत्रकाहरुको बैठकबाट नेपाल पुकारका सम्पादक कृष्णप्रसाद उपाध्याय भट्टराई सभापतित्वमा नेपाल पत्रकार संघको गठन गरिएको हो । यो संघमा उपसभापति नेपाल भाषाका सम्पादक फत्तेबहादुर सिंह, मन्त्री तथा समाजका सम्पादक मणिराज उपाध्याय, सहायक मन्त्री तथा नेपाल टाइम्सका सम्पादक श्री रामसिंह, नेपाल समाचारका सम्पादक उदयराज शास्त्री कोषाध्यक्ष रहेको ९ जनाको कार्यसमिति गठन भयो । यसका मन्त्री मणिराज उपाध्याय अहिले पनि जीवित र क्रियाशील हुनुहुन्छ ।

नेपाल पत्रकार संघका पहिलो संस्थापक सभापति सत्यनारायण बहादुर श्रेष्ठ हुन् । त्यसको चार वर्षपछि मात्र कृष्णप्रसाद भट्टराई सभापति भएकोले भट्टराई पत्रकार संघको संस्थापक सभापति मान्नसक्ने स्थिति देखिंदैन ।

तर यो कार्यसमितिले डेढ वर्षसम्म पनि राम्ररी काम गर्न सकेको थिएन । सोभियतसंघबाट निम्ता आएको र भरत समशेरले सो निम्तामा जानका लागि षड्यन्त्र गरेपछि यो संघ विभाजन भएर एक किसिमले निष्क्रिय हुनपुगेको थियो । त्यसैले नेपाल पत्रकार संघका पहिलो संस्थापक सभापति सत्यनारायण बहादुर श्रेष्ठ हुन् । त्यसको चार वर्षपछि मात्र कृष्णप्रसाद भट्टराई सभापति भएकोले भट्टराई पत्रकार संघको संस्थापक सभापति मान्नसक्ने स्थिति देखिंदैन । तथापि अहिलेको पत्रकार संघले चैत्र १६ गतेलाई नै संस्थापन दिवस मानेको र कृष्णप्रसाद भट्टराईको संस्थापकको रुपमा फोटो झुण्ड्याएको हुँदा भट्टराई नै संस्थापक हुन भन्ने भ्रम परेको हुन सक्दछ ।

यो संघको २०१३ को चैत्र १५ गते बसेको बैठकमा राष्ट्रवाणीका तर्फबाट भरत शमशेरले मन्त्री रामसिंह विदेशी भएकोले मन्त्री पदमा राख्न हुँदैन भनी आपत्ति गरेपछि संघ विभाजित भएको थियो । भरत समशेर रामसिंहलाई हटाएर आफू सोभियत संघको पत्रकार प्रतिनिधिका रुपमा जान खोजेकोले नै विवाद भएको थियो । यसबाट पत्रकार संघ दुई गुटमा विभाजन भई एउटा गुटका सभापतिमा द कमनरका सम्पादक गोपालदास श्रेष्ठ र अर्को गुट भट्टराईको सभापतित्वमा रहेको थियो । त्यसपछि यो संघले खासै काम गर्न सकेन ।

पत्रकार संघ दुई गुटमा विभाजन भई एउटा गुटका सभापतिमा द कमनरका सम्पादक गोपालदास श्रेष्ठ र अर्को गुट भट्टराईको सभापतित्वमा रहेको थियो । त्यसपछि यो संघले खासै काम गर्न सकेन ।

पञ्चायत व्यवस्था शुरु भएपछि यसअघि विभाजित भएका दुवै पत्रकारसंघहरु एक ठाउँमा आउने निर्णय गरेका थिए । २०२३ को अषाढ २७ गते पत्रकाहरुको पारस होटेलमा दाताराम शर्माको नेतृत्वमा बैठक बसी नयाँ पत्रकार संघको गठन भएको थियो । यो पत्रकार संघलाई राष्ट्रिय निर्देशन ऐन अन्तर्गत दर्ता गरिएको थियो । यो पत्रकार संघले राजालाई अभिनन्दन समेत चढाएको थियो । यसपछि २७ सालमा पत्रकाहरुको सम्मेलन दुई ठाउँमा भएर विभाजित भएको थियो । पछि पत्रकार संघमा गैर पत्रकाहरुलाई प्रवेश गराएर पत्रकार संघ कब्जा गर्ने कार्यहरु भएपछि नेपाल पत्रकार संघ पत्रकाहरुको भन्दा पनि गैर पत्रकाहरुको व्यक्तिगत स्वार्थ पूरागर्ने साधनमात्र बन्यो । ३६ सालमा यही पत्रकार संघको सभापतिलाई शाही आयोगमा समेत राखिएको थियो । यसैले गर्दा २०३९ पछि पुराना पत्रकाहरु निष्क्रिय भएका थिए । उनीहरुलाई श्रमजीवि पत्रकार संघले पुनः सक्रिय बनाएपछि चौध जना सम्पादकहरुले दस्तखत गरी पत्रकाहरुको नयाँ संगठनको प्रारम्भ गरेका थिए । त्यसैले अहिलेको पत्रकार महासंघ यही १४ सम्पादकको संयुक्त विज्ञप्तिपछि खडाभएको हो । नेपाल पत्रकार संघ अहिले पनि व्यक्तिगत स्वामित्वमा क्रियाशील र वैधानिकरुपमा जीवित रहेको छ ।

पञ्चायतको पतन भएपछि पत्रकार संघमा गैर पत्रकाहरुको हस्तक्षेपबाट मुक्त गर्नकालागि यसलाई महासंघीय ढाँचा प्रदान गरिएको थियो । यही ढाँचा अन्तर्गत नै अहिलेको पत्रकार महासंघ क्रियाशील रहेको छ । यसैले पत्रकारहरुको संस्थापक कसलाई मान्ने भन्ने बारेमा खासै महत्व नदिएर कृष्णप्रसाद भट्टराईलाई संस्थापक सभापतिकोरुपमा लिने र चैत्र १६ लाई संस्थापन दिवस भनी हचुवाको तालमा मात्र केही व्यक्तिले स्वार्थसिद्धिका लागि गरिएको प्रपञ्च मात्र हो ।

पत्रकारहरुको संस्थापक कसलाई मान्ने भन्ने बारेमा खासै महत्व नदिएर कृष्णप्रसाद भट्टराईलाई संस्थापक सभापतिकोरुपमा लिने र चैत्र १६ लाई संस्थापन दिवस भनी हचुवाको तालमा मात्र केही व्यक्तिले स्वार्थसिद्धिका लागि गरिएको प्रपञ्च मात्र हो ।

वास्तवमा नेपाल पत्रकार संघको संस्थापन विभिन्न समयमा भएको पाइन्छ । पहिलो संस्थापक सभापति सत्यनारायण श्रेष्ठ हुन् । दोस्रो सभापति कृष्णप्रसाद भट्टराई हुन् । पञ्चायत शुरु भएपछि राष्ट्रिय निर्देशन ऐन अन्तर्गत दर्ता भएको पत्रकार संघका सभापति मणिराज उपाध्याय हुन् । उनले पछिल्लो अवस्थामा पत्रकार संघलाई विभाजित गरी नयाँ आन्दोलनको रुपमा म लगायत चौधजना सम्पादकहरुले विज्ञप्ति जारीगरी शुरुगरेको पत्रकार महासंघको निर्माण भएको हो । यसैले अहिले फेरि राजनीतिकलाभका लागि विवाद नै नरहेको विषयमा संस्थापक भट्टराईको नाम हटाइयो भनी यसको विरोध गर्नु र उनको अपमान भयो भन्ने कुराको कुनै तुक देखिंदैन । तर भट्टराई कुनै समयमा पत्रकार भएको र उनी प्रधामन्त्री समेत भएकोलाई सम्मानित गर्नको लागि हो भने भट्टराईलाई संस्थापक विवादभन्दा पनि माथि उठेर कृष्णप्रसाद भट्टराई प्रतिष्ठान बनाएमा अनावश्यक विवादबाट कृष्णप्रसाद भट्टराईको व्यक्तित्वलाई समेत अलग गर्न सकिने हुँदा यसतर्फ ध्यान दिन सकिन्छ । तर अहिलेको विवाद संस्थापकको हैसियतमा भने कृष्णप्रसाद भट्टराईलाई राख्नु कुनै पनि दृष्टिले उपयुक्त र तर्कसंगत हुँदैन ।

तपाईको प्रतिक्रिया