अनलाइन र सञ्जालमा जथाभावी लेख्नेलाई कारवाही गर्ने तयारी


IMG_0228

काठमाडौं, माघ १८ गते । वरिष्ठ कानूनविद तथा मिडियाकर्मीहरुले नैतिकता नै सबैभन्दा बलियो कानून भएकाले त्यसकै आधारमा सञ्चारकर्मीले समाचार प्रकाशन तथा प्रशारणमा जोड दिनुपर्ने सुझाव दिनुभएको छ ।

प्रेस काउन्सिल नेपाल र अनलाइन पत्रकार संघको संयुक्त आयोजनामा सोमबार यहाँ आयोजित ‘अनलाइन पत्रकारिता र आचारसंहिता’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँहरुले त्यस्तो सुझाव दिनुभयो । अनलाइन पत्रकारिता सबैभन्दा कान्छो पत्रकारिता भएपनि त्यसमा भएको विकृतिलाई अन्त्य गर्न नैतिकतालाई आधार बनाउन सरोकारवालाहरुको सुझाव छ ।

आचारसंहिता कुनै न कुनै कानूनमा टेकेर तयार हुने हुनाले उल्लंघन गर्नेलाई कानूनी दायरामा ल्याउन कुनै समस्या नरहेको सरोकारवालाहरुको तर्क छ ।

अनलाइन पत्रकारितालाई नियमन गर्ने निकाय प्रभावकारी नभएकाले पनि अनलाइन पत्रकारितामा विकृति बढेको धारणा राख्दै वरिष्ठ पत्रकारहरुले प्रेस काउन्सिल आचारसंहितालाई तत्काल परिमार्जन गरी त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । आचारसंहिता कुनै न कुनै कानूनमा टेकेर तयार हुने हुनाले उल्लंघन गर्नेलाई कानूनी दायरामा ल्याउन कुनै समस्या नरहेको सरोकारवालाहरुको तर्क छ ।

प्रशासकीय अदालतका प्रमुख तथा कानुनविद् काशीराज दाहालले संविधान र कानुनभन्दा माथि न्याय हुने र त्यसभन्दा माथि नैतिकता हुने तर्क गर्नुभयो । नेपाली समाजमा सार्वजनिक नैतिकता धेरै खस्केको बताउनुहुँदै कानूनविद दाहालले संघीयताको स्वरुपमा क्षेत्रगत आचारसंहिता बनाउनु पर्नेमा जोड दिनुभयो । आचारसंहिता नैतिक बन्धनमात्र नभई कानूनी कारवाही गर्ने औजार भएको उहाँले स्पष्ट पार्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले कानूनको अभावमा व्यवस्थित र प्रभावकारी नियमन गर्न नसकिएको स्वीकार गर्नुभयो । कानूनको अभावकैबीच केही कार्यविधि बनाएर सूचिकरण गर्ने कामको थालनि गरिएको उहाँले दाबी गर्नुभयो । अनलाइन पत्रकारिता सुरुवाती चरणमा रहेकोले धेरै कमी कमजोरी र अव्यवस्थित भएको अध्यक्ष कार्कीले बताउनुभयो । “काउन्सिलवाट जारी पत्रकार आचारसंहिता कानूनी दस्तावेज हो, सबैले त्यहीरुपमा बुझ्नुपर्छ” उहाँले भन्नुभयो ।

“काउन्सिलवाट जारी पत्रकार आचारसंहिता कानूनी दस्तावेज हो, सबैले त्यहीरुपमा बुझ्नुपर्छ” उहाँले भन्नुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले अनलाइन पत्रकारिता अहिलेको प्रभावकारी पत्रकारिता भएपनि विकृतिले बद्नाम भएको बताउनुभयो । ‘कपी एण्ड पेस्ट’ ले अनलाइन पत्रकारितालाई गाँजेको बताउनुहुँदै अध्यक्ष विष्टले त्यसैका लागि पत्रकार आचारसंहिताको पुनरावलोकन आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।

पत्रकार प्रतिक प्रधानले मिडियामा कपी पेस्ट, अश्लिल र विभत्सको विषयमा स्पस्ट मापदण्ड बनाउन सुझाव दिनुभयो । अनलाइनलाई छुट्टै पत्रकारिताको रुपमा नलिई पत्रकार आचारसंहिताकै जगमा चल्नुपर्ने बताउँदै उहाँले काउन्सिललाई त्यसको नियमनमा प्रभावकारिता ल्याउन सुझाव दिनुभयो ।

अनलाइन पत्रकार संघका अध्यक्ष प्रवेश सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा काउन्सिलका सूचना प्रविधि अधिकृत रामशरण बोहरा, पत्रकार ऋषिकेश दाहाल, कार्यक्रममा वरिष्ठ प्रहरी उपरिक्षक सर्वेन्द्र खनाल, कम्प्युटर एशोसियशन अफ नेपालका पूर्व अध्यक्ष विप्लबमान सिंहले अनलाइन पत्रकारिताको विषयमा समिक्षात्मक टिप्पणी गर्नुभएको थियो ।  उहाँहरुले सामाजिक सञ्जाल र ब्लकमा आउने विषयवस्तुको पनि नियमन गर्नुपर्ने सुझाव सरोकारवालालाई दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया