थर राख्ने स्वतन्त्रता सहितको नयाँ ऐन बन्ने तयारीमा


CA

काठमाडौं, माघ २८ गते । नामको पछाडिको थर के राख्ने भन्ने चिन्ताले तपाईलाई सताएको त छैन ? यदि त्यस्तो हो भने अब कुनै चिन्ता गर्नु पर्दैन । देवानी कानूनको संशोधन र एकीकरण गर्न बनेको विधेयकले थर राख्ने सम्बन्धी प्रशस्त बाटोहरु खुला गरिदिएको छ ।

व्यवस्थापिका संसदको विधायन समितिमा छलफल जारी रहेको प्रस्ताविक विधेयकमा विवाह गरी अरुको घरमा गएका चेलीबेटी, आमा वा बाबुबाट जन्मिएको व्यक्ति, धर्मपुत्र वा धर्मपुत्री, कृतिम गर्भाधारणबाट जन्मिएको व्यक्ति सबैकालागि आफ्नो इच्छाअनुसारका थर राख्ने प्रावधान प्रस्तावित गरिएको छ ।

हाम्रो संस्कारमा प्रत्येक व्यक्तिले आ–आफ्नो धर्म, संस्कृति, चलन र परम्पराअनुसार निजको आमा वा बाबुले राखेको नामसहित थर पाउने व्यवस्था गरिएको हुन्छ । प्रायजसो बुवाकै थरबाट बच्चाको थर पनि राख्ने गरिन्छ । तर पितृत्वको ठेगान नलागेको अवस्थामा आमाको थरबाट बच्चाको थर राख्ने पाउने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।

प्रस्तावित ऐनको नियम १११ (४) ले व्यक्तिले चाहेमा आफ्नो बुवा वा आमाको वा व्यक्तिले चाहेमा दुवैको थर प्रयोग गर्न सक्ने व्यवस्था प्रस्ताव गरेको छ । त्यस्तै, नियम १०९ ले पति पत्नीको मञ्जुरीले अन्य कुनै व्यक्तिको वीर्यबाट कृतिम गर्भाधान प्रणालीबाट जन्मिएको शिशु विवाहित पतिबाट नै जन्मिएको मानिने र त्यसको पितृत्व निर्धारणहुने व्यवस्था गरेको छ ।

सोहीअनुसार नियम १७९ ले धर्मपुत्र वा धर्मपुत्री भएको व्यक्तिले धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्ने बुवा वा आमा वा उसले चाहेमा दुवैको थर प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ । सोही नियमको उपनियम (१) ले व्यक्तिले चाहेमा निजलाई जन्माउने बाबु आमाको थर प्रयोग गर्नसक्ने व्यवस्था पनि खुला गरिदिएको छ । तर निजको धर्मपुत्र वा धर्मपुत्री बदर भएमा जन्माउने आमा वा बाबुकै थर कायम हुने सोही नियमको उपनियम (२) मा व्यवस्था छ ।

प्रस्ताविध ऐनको ८१ को विवाहित महिलाको थर प्रयोग सम्बन्धी व्यवस्थाको महलमा विवाहिता महिलाले विवाहपछि बाबु वा आमाले प्रयोग गरेको थर वा निजको पतिको थर वा दुवै थर प्रयोग गर्न सक्ने लचिलो व्यवस्था प्रस्ताव गरेको छ ।

त्यस्तै, प्रस्ताविध ऐनको ८१ को विवाहित महिलाको थर प्रयोग सम्बन्धी व्यवस्थाको महलमा विवाहिता महिलाले विवाहपछि बाबु वा आमाले प्रयोग गरेको थर वा निजको पतिको थर वा दुवै थर प्रयोग गर्न सक्ने लचिलो व्यवस्था प्रस्ताव गरेको छ । सोही नियमको उपनियम (३) ले पतिको थर प्रयोग गरेकी महिलाको पतिसँग सम्बन्ध विच्छेद भएमा निजले चाहेमा बाबु वा आमाले प्रयोग गरेको थर प्रयोग गर्न सक्ने व्यवस्था छ ।

विधायन समितिकी सभापति गंगा चौधरी सत्गौंवाले देवानी ऐन लैङ्गिक र बालबालिकाको हकको विषयमा निकै खुकुलो प्रस्ताव गरिएको बताउनुभयो । “सबै नेपालीले बुझ्ने र अर्थ लगाउन सक्ने शब्दहरु राखेर ऐन प्रस्ताव गरेका छौं, त्यसमा थप परिमार्जनका लागि जिल्लाव्यापीरुपमा छलफल भइरहेको छ” सभापति चौधरीले भन्नुभयो । प्राप्त राय सुझावका आधारमा आगामी जेठ मसान्तभित्र विधेयकलाई पूर्णरुप दिई संसद बैठकमा समितिको तर्फबाट प्रस्तुत हुने उहाँले जानकारी दिनुभयो ।

“सबै नेपालीले बुझ्ने र अर्थ लगाउन सक्ने शब्दहरु राखेर ऐन प्रस्ताव गरेका छौं, त्यसमा थप परिमार्जनका लागि जिल्लाव्यापीरुपमा छलफल भइरहेको छ” सभापति चौधरीले भन्नुभयो ।

विधायन समितिकी सदस्य सांसद रेवतीरमण भण्डारीले पहिलेको कानूनभन्दा अहिलेको कानून निकै लचिलो प्रस्ताव गरिएको बताउनु   भयो । “पहिलेको कानूनमा बुवाको नामबाट बच्चाको थर कायम गर्ने व्यवस्था थियो, श्रीमतीले श्रीमान्को थर राख्नुपर्ने बाध्यात्मक व्यवस्था थियो तर अहिले सबै विकल्प खुला गरिदिएको छ” भण्डारीले भन्नुभयो ।

समिति सदस्य तथा अधिवक्ता रामनारायण विनाडीले समयानुकुल ऐनलाई परिमार्जन गर्ने तयारी भएकाले थर राख्ने व्यवस्थामा विभिन्न विकल्प राखिएको बताउनुभयो । “पहिलेकोजस्तो कडा ऐन अहिले छैन, तुलनात्मकरुपमा धेरै खुकुलो प्रस्ताव गरिएको छ” विनाडीले भन्नुभयो । समितिले जेठसम्म विधेयकलाई संसद बैठकमा पेश गर्ने हुनाले सो समयावधिसम्म सुझाव र सल्लाह दिन सबैलाई छुट रहेको उहाँले बताउनुभयो ।

प्रस्तावित ऐन व्यवस्थापिका संसदमा दफाबार छलफलपछि पारित भएमा लागु हुनेछ । ऐनमा प्रस्तावित व्यवस्थालाई परिमार्जनका लागि विधायन समितिले खुलारुपमै राय, सुझाव माग गरेको छ । आगामी चैत मसान्तभित्र आउने उपयुक्त सुझाव परिमार्जनका लागि योग्य हुने समितिकी सभापति चौधरीले बताउनुहुन्छ । सो ऐनमा भएको व्यवस्थाबारे समितिले समिति भित्र र बाहिरका विज्ञ तथा पत्रकारसँग पनि छलफल गरिरहेको छ ।

प्रस्तुतिः लक्की चौधरी

तपाईको प्रतिक्रिया