आफ्नै पत्निसँग यौन सम्पर्क गर्दा पनि अब सम्बन्धविच्छेद !


Divorce

लक्की चौधरी
काठमाडौं, फागुन ४ गते । “महिलाले अन्य पुरुषसँग र पुरुषले अन्य स्त्रीसँग यौन सम्बन्ध राख्दा पनि श्रीमान–श्रीमतीबीच सम्बन्ध विच्छेद हुन्छ ?” भन्ने जिज्ञासा तपाईलाई लाग्न सक्छ । तर ख्याल गर्नुस्, प्रस्तावित देवानी कानूनकोको सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्थामा त्यस्तो कानूनी व्यवस्था गर्न लागिएको छ ।

अचम्म त के भने, पतीले आफ्नै पत्नीसँग जवर्जस्ती करणी गरेमा समेत पत्नीले पतिसँग सम्बन्ध विच्ेछद गर्नसक्ने प्रावधान प्रस्ताव गरिएको छ । श्रीमान्ले जाँड रक्सीको मातमा श्रीमतीलाई दुःख दिने र श्रीमतीको इच्छा नहुँदानहुँदै पनि जवर्जस्ती यौन सम्पर्क गर्नेगरेको घटना सञ्चार माध्यममार्फत् बाहिर धेरै आएपछि त्यस्तो प्रावधानको व्यवस्था गरिएको सांसदहरुको भनाई छ ।

पतीले आफ्नै पत्नीसँग जवर्जस्ती करणी गरेमा समेत पत्नीले पतिसँग सम्बन्ध विच्ेछद गर्नसक्ने प्रावधान प्रस्ताव गरिएको छ ।

सम्बन्ध विच्छेद सम्बन्धी सो व्यवस्थामा पतिले पत्नीको मञ्जुरी विना पनि श्रीमतीसँग सम्बन्ध विच्छेद गर्नसक्ने चारवटा व्यवस्था कायम गरेको छ । ती व्यवस्थामध्ये कुनै एक अवस्थाले पनि श्रीमान् श्रीमतीबीच सम्बन्ध विच्छेद हुनसक्छ । त्यस्तै, श्रीमतीले श्रीमानसँग सम्बन्ध विच्छेद गर्नसक्ने छवटा व्यवस्था प्रस्ताव गरेको छ ।

प्रस्तावित व्यवस्थामा श्रीमान्ले ३ वर्षसम्म श्रीमतीसँग अलग बसेमा, पत्नीले खानलाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अङ्ग–भङ्ग हुनेगरी कष्ट दिएमा वा जाल प्रपञ्च गरेमा र पत्नीले परपुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा श्रीमान्ले श्रीमतिसँग सम्बन्ध विच्छेद गर्नसक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

सोहीअनुसार, पत्नीले पतिको मञ्जुरी नभएपनि सम्बन्ध विच्छेद गर्नसक्ने व्यवस्था गरिएको छ । जसमा पतिले पत्नीको मन्जुरी नलिई लगातार तीन वर्ष अलग बसेमा, पतिले खानलाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, शारीरिक मानसिक यातना वा जाल प्रपञ्च गरेमा, पतिले अर्को विवाह गरेमा, पतिले अन्य स्त्रीसँग यौन सम्बन्ध राखेको ठहरेमा र पतिले पत्नीलाई जवर्जस्ती करणी गरेको ठहरेमा पत्नीले पतिबाट सम्बन्ध विच्छेद गर्नसक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

Divorcing couples

सम्बन्ध विच्छेद सम्बन्धी सो व्यवस्थाले पति र पत्नीबीच राजीखुशीले कानूनी व्यवस्थाअनुसार सम्बन्ध विच्छेद गर्न तयार भएमा सोअघि अंशवण्डा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरेको छ । सम्बन्ध विच्छेदका लागि प्रक्रियामा गएपछि अदालतले पहिलो चरणमा दुवैबीच मेलमिलापको प्रयास गर्ने, मेलमिलाप नभएमा कानूनबमोजिम हुने व्यवस्था गरिएको छ ।

प्रस्तावित सम्बन्ध विच्छेदको व्यवस्थामा पतिको सम्पत्तिबाट पत्नीलाई सम्पत्तिको अंशवण्डा गराउने, मासिक खर्च भराईदिने व्यवस्था पनि प्रस्तावित छ । तर त्यसकालागि पत्नीले त्यसरी अंशवण्डा नहुँदै अर्को विवाह गरेमा भने पतिबाट अंश र मासिक रकम र खर्च नपाउने व्यवस्था छ । पति र पत्नीले कानूनअनुसार सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिनुपर्ने छ ।

त्यस्तै, सम्बन्ध विच्छेद गरेकी महिलाको मृत्यु भएमा निजको सम्पत्ति निजकै छोराछोरी र छोराछोरी नभए पूर्व पतिबाट पाएको सम्पत्ति माइतीपट्टिको हकलाग्ने ऐनमा प्रस्ताव गरिएको छ । तर सम्बन्ध विच्छेद गरेकी महिलाले अर्को विवाह गरेमा निजले सम्बन्ध विच्छेद गर्दा पतिबाट पाएको सम्पत्ति पतितर्फ छोराछोरी भए त्यस्ता छोराछोरी र छोराछोरी नभए सम्बन्धविच्छेद गर्नुअघिको पतिको हक लाग्ने व्यवस्था छ ।

व्यवस्थापिका संसद अन्तर्गतको विधायन समितिमा विचाराधिन रहेको सो ऐनमा सर्वसाधारणको सुझावका लागि समितिले आगामी चैत मसान्तसम्मको समयावधि तयगरेको छ । समितिले आगामी जेठ मसान्तसम्म सो ऐनलाई संसद बैठकमा पेशगर्ने तयारी गरेको समितिकी सभापति गंगा चौधरी सत्गौवाले बताउनुभयो ।

“यति खुकुलो कानून पहिले थिएन, अहिले नयाँ प्रस्तावमा श्रीमान र श्रीमतीबीच चित्त नबुझे सहजै सम्बन्धविच्छेद गर्नसक्ने प्रावधान राखिएको छ”

समितिका सदस्य लक्ष्मणलाल कर्णले समाजमा श्रीमान्ले श्रीमतीमाथि गरेको विभिन्न हिंसाजन्य घटनाकाकारण त्यसलाई न्यूनिकरण गर्न सम्बन्ध विच्छेदको सहज कानून प्रस्ताव गरिएको तर्क गर्नुभयो । “यति खुकुलो कानून पहिले थिएन, अहिले नयाँ प्रस्तावमा श्रीमान र श्रीमतीबीच चित्त नबुझे सहजै सम्बन्धविच्छेद गर्नसक्ने प्रावधान राखिएको छ” उहाँले भन्नुभयो । श्रीमान र श्रीमतीबीच समझदारी हुँदासम्म त ऐनको कुनै प्रभाव नहुने उहाँले प्रष्ट पार्नुभयो ।

विधायन समितिका सदस्य तथा एमाओवादी सांसद रामनारायण विनाडीले सम्बन्ध विच्छेदसम्बन्धको कानूनमा महिलाहरुलाई पुरुषभन्दा बढी अधिकार दिएको तर्क गर्नुभयो । श्रीमतीको यौनइच्छाविना श्रीमानले जवर्जस्ती करणी गरेमा सम्बन्ध विच्छेद हुनसक्ने तर श्रीमान्को इच्छाविपरित श्रीमतीले जर्वजस्ती गरेमा के गर्ने भन्ने व्यवस्था कानूनमा प्रस्ताव नगरिएको बताउनुभयो । यस्तो घटना निकै कम भए पनि कानूनमा व्यवस्था राख्न आवश्यक रहेको उहाँको तर्क छ ।

श्रीमतीको यौनइच्छाविना श्रीमानले जवर्जस्ती करणी गरेमा सम्बन्ध विच्छेद हुनसक्ने तर श्रीमान्को इच्छाविपरित श्रीमतीले जर्वजस्ती गरेमा के गर्ने भन्ने व्यवस्था कानूनमा प्रस्ताव नगरिएको बताउनुभयो ।

समितिले सम्बन्ध विच्छेद सम्बन्धी सो व्यवस्थामा सुझावका लागि सर्वसाधारणलाई आव्हान गरेको छ । समिति सभापति चौधरीकाअनुसार सर्वसाधारणले bidhyansamiti@gmail.com मार्फत् सुझाव दिन सक्नेछन् । त्यस्तै, हुलाकमार्फत् सुझाव पठाउनेले पोष्ट बक्स नं. २००९९ मा र सिधै फोनमार्फत पनि सुझाव राख्न सकिने व्यवस्था छ । त्यसकालागि ०१४२००१७२ मा सुझाव दिनेले डायल गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया