विज्ञहरु भन्नुहुन्छ, ‘प्रधानमन्त्रीको भ्रमण उपलब्धीमूलक देखियो’


PM Oli Modi vet
काठमाडौं, फागुन १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई उपलब्धीपूर्ण तथा दुई देशबीच पछिल्लो पटक देखिएको केही असमझदारी अन्त्य गर्नेगरी केन्द्रीत भएको विज्ञहरुको बुझाई छ ।

प्रधानमन्त्रीको फागुन ७ देखि १२ गतेसम्म हुने भारत भ्रमणमा विभिन्न सातवटा विषयमा शनिबार दुईदेशबीच सहमति भएपनि त्यो भन्दा महत्वपूर्ण विषय नेपाल भारतबीचको आपसी सम्बन्ध सुधार र विश्वासको वातावरण निर्माण गर्नु नै प्रमुख भएको विज्ञहरुको विश्लेषण छ । दुवै देशका प्रधानमन्त्रीबीच ४० मिनेट लामो भएको गोप्य वार्तामा के भएको हो भन्ने विषयबारे अनुमान लगाउन भने गाह्रो रहेको विज्ञहरुको तर्क छ ।

संविधानविद तथा संवैधानिक समितिका पूर्व सभापति निलाम्बर आचार्यले दुई देशबीच पछिल्लो समय देखिएको सम्बन्ध सुधारमा प्रधानमन्त्रीको भ्रमण महत्वपूर्ण हो, तर अहिले नै ढुक्क हुन भने हतार हुन्छ भन्नुभयो । “हाम्रो नेपालकोको तर्फबाट असमझदारी अन्त्य भएको भन्नु ठीक हो, तर भारतबाट अझै पूर्णतः असमझदारी हट्यो भन्न सक्ने अवस्था छैन” गोरखापत्रसँगको कुरामा उहाँले भन्नुभयो ।

राजनीतिकरुपमा दुवै देशबीच सौहाद्रपूर्ण वातावरणमा सहमति र सम्झौता हुनु राम्रो भएको तर्क गर्नुहुँदै उहाँले भन्नुभयो, “यो भ्रमणबाट दुवै देशबीचको सम्बन्ध सुधारोन्मुख भयो भन्न सकिन्छ तर सबै अप्ठेरा हट्यो अहिले नै भन्नु हुँदैन ।” ‘भारतीय नाकाबन्दी, मधेसको आन्दोलनको विषयमा भ्रमणका बेलामा कुरा नउठ्नुले आशंका कायमै राख्छ’ उहाँले भन्नुभयो ।

“हाम्रो नेपालकोको तर्फबाट असमझदारी अन्त्य भएको भन्नु ठीक हो, तर भारतबाट अझै पूर्णतः असमझदारी हट्यो भन्न सक्ने अवस्था छैन”

पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भ्रमण सोचेजस्तै उपलब्धीपूर्ण भइरहेको तर्क गर्नुभयो । भ्रमणमा जानेबेला खुट्टा तान्ने प्रयास गर्ने, भ्रमणकै क्रममा भारतमै कालोझण्डा देखाउन लगाउनेलाई त जति उपलब्धी भएपनि सन्तुष्ट गर्न सकिदैन, भन्नुहुँदै नेता पाण्डेले थप्नुभयो, “भारतसँग पछिल्लोपटक विग्रेको सम्बन्धमा राम्रो सुधार आएको छ ।”

दुई देशका प्रधानमन्त्रीबीचमा जे छलफल र सम्झौता भएको छ, त्यसलाई सकारात्मकरुपले ग्रहण गर्नुपर्छ भन्नुहुँदै नेकपा (एमाले) का नेतासमेत रहनुभएका पाण्डेले भन्नुभयो, “सबै विषयमा रातारात उपलब्धी भैहाल्ने होइन, जे भएको छ त्यसलाई उपलब्धीपूर्ण मान्नुपर्छ ।” भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाएको उहाँको बुझाई छ ।

जलस्रोतविद ज्ञानेन्द्रलाल प्रधानले प्रधानमन्त्रीको भ्रमणले दुई देशबीचको तिक्तताको अन्त्य भएको दावी गर्नुभयो । भारतसँग जति सम्बन्ध चिसिन्छ नेपाललाई त्यति घाटा हुन्छ, पछिल्लो समय देखिएको असमझदारीले नेपाललाई नै बढी घाटा भयो भन्नुहुँदै प्रधानले भन्नुभयो, “भ्रमणले सम्बन्धसुधारको विषयमा दुई देशबीच तुष मेटिएको छ, त्यसको कार्यान्वयन कस्तो हुन्छ त्यो हेर्न बाँकी छ ।”

नेपालप्रति भारतको हेराई सकारात्मक देखिएको भन्नुहुँदै भ्रमण टोलीमै दिल्ली रहनुभएका जलस्रोत विज्ञ प्रधानले जलस्रोतमा पनि भारत र नेपालको कनेक्सन बृद्धिभएको बताउनुभयो । नेपालको लोडसेडिङ् अन्त्यमा भारतबाट आयात हुने विद्युतले महत्वपूर्ण भूमिका खेल्ने उहाँको तर्क छ । आज भारतसँग विजुली छ नेपाललाई सहयोग गर्छ, भोलि नेपालसँग होला भारतलाई सप्लाई गर्छौं, यो दुवै देशबीचको नयाँ शुरुवात हो उहाँले तर्क गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणकै क्रममा शनिबार पत्रकार सम्मेलन गर्नुहुँदै भारतसँगको सबै असमझदारी अन्त्य भएको बताउनुभएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नयाँ संविधान निर्माण नेपालको ऐतिहासिक सफलता भएको चर्चा गर्नुभएको थियो । भारतीय प्रधानमन्त्री मोदीको विशेष आमन्त्रणमा शुरुभएको भ्रमण १२ गतेसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया