कार्यान्वयन गर्न नसके संघीयता सबैभन्दा जटिल प्रणाली


7-pardesh Final

काठमाडौं, फागुन १७ गते । कागजमा नेपालले संघीयतासहितको उत्कृष्ट संविधान बनाएको भएपनि कार्यान्वयनमा सबै चुनौति र जटिलता बाँकीरहेको संघीयताका क्यानेडियन विज्ञहरुले तर्क गर्नुभएको छ ।

फोरम अफ फेडरेसन्सको आयोजना तथा नेपाल पत्रकार महासंघको सहकार्यमा सोमबार यहाँ आयोजित कार्यक्रममा ती विज्ञहरुले त्यस्तो बताउनुहुँदै संविधान लेख्नु र कार्यान्वयन गर्नु फरक विषय भएको बताउनुभयो । संघीयताको चुनौतिबारे नेपाली जनतालाई केही जानकारी भएपनि कार्यान्वयन तहमा त्यसको जटिलताबारेको अझै अनुभूति गर्दैजाने बुझाई उहाँहरुको छ ।

“अहिलेसम्म २९ जति मुलुकमा संघीयताका अभ्यास भएको र संघीय मुलुकको राम्रो अभ्यास र सकारात्मक विषयलाई ल्याएर नेपालको संविधान संघीयतामा उत्कृष्ट देखिएको हो, लेखिएकोजस्तो व्यवहारमा कार्यान्वयन गर्न सजिलो छैन” उहाँहरुले भन्नुभयो । “नेपालले यसको सहजै कार्यान्वयन गरिहाल्यो भने त ठूलो सफलता हासिल गर्छ, गर्न सकेन भने उल्झनमा फँस्छ” विज्ञहरुको विश्लेषण छ ।

“नेपालले यसको सहजै कार्यान्वयन गरिहाल्यो भने त ठूलो सफलता हासिल गर्छ, गर्न सकेन भने उल्झनमा फँस्छ” विज्ञहरुको विश्लेषण छ ।

क्यानेडियन विश्वविद्यालयका प्राध्यापक डा. डेनियल बेलाण्डले संघीयता आफैमा चुनौतिले भरिएको व्यवस्था रहेको बताउनुभयो । क्यानडालगायतका अन्य मुलुकले संघीयताको अंगीकार गर्दा थुप्रै आन्तरिक संघर्ष र गृहयुद्ध लड्नुपरेको उदाहरण दिंदै उहाँले कार्यान्वयनको चरणमा जाँदा नेपालमा पनि समस्या आउनसक्ने बताउनुभयो ।

संघ, प्रदेश र स्थानीय निकायको कामकाजको बाँडफाँट, स्रोत साधनको बँटवारा, कर्मचारी र मानव संशोधनको विभाजनकैचरणमा थुप्रै समस्या आउनसक्ने बताउँदै उहाँले क्यानडामा पनि शुरुवाती चरणदेखि अहिलेसम्म स्रोतसाधनको विषयमा आन्तरिक झैझगडा जारीरहेको उहाँले अनुभव सुनाउनुभयो । स्थानीयले प्रदेशलाई दोसी देख्ने, प्रदेशले केन्द्रलाई देख्ने र केन्द्रले प्रदेश र स्थानीय निकायले काम गरेनन् भनेर आरोप लगाउने प्रचलन बढी हुन्छ उहाँले भन्नुभयो ।

क्यानेडियन वरिष्ठ पत्रकार तथा संघीयताका विज्ञ जेफ्री सिम्पसनले छलफल, संवाद, समन्वय र सम्झौता संघीयताको सुन्दर पक्ष भएपनि कार्यान्वयनमा उतार्न निकै चुनौतिरहेको बताउनुभयो । “नेपाल आफैमा विविधताले भरिएको छ, यसको सही व्यवस्थापन गर्नसके निकै प्रगति हुन्छ, गर्न नसके सबैभन्दा जटिल विषय यही हो” उहाँले भन्नुभयो ।

“नेपाल आफैमा विविधताले भरिएको छ, यसको सही व्यवस्थापन गर्नसके निकै प्रगति हुन्छ, गर्न नसके सबैभन्दा जटिल विषय यही हो” उहाँले भन्नुभयो ।

संघीय प्रणालीमा पत्रकारको भूमिका महत्वपूर्ण रहने बताउँदै जेफ्रीले सबै पक्षको समाचारलाई सन्तुलित तवरले सम्प्रेषण गर्नु प्रेसको लागि पनि चुनौति हुनेगरेको अनुभव उहाँले सुनाउनुभयो । संघीय प्रणालीमा मिडियाहरु संघ केन्द्रीत हुन्छन् तर विकासका लागि स्थानीयस्तरको समाचार र प्रदेशका समाचारले प्राथमिकता पाउनुपर्ने हुन्छ भन्नुहुँदै उहाँले स्थानीय स्तरको समाचार प्रकाशन नभए मिडिया पूर्वाग्रहीको आरोप खेप्ने चुनौति आउने बताउनुभयो ।

वरिष्ठ अधिवक्ता डा. सूर्य ढुंगेलले सबै नागरिकको राज्यमा पहुँच नभएकैकारण मुलुकलाई संघीय प्रणालीमा लग्नुपरेको बताउनुभयो । संघीयतामा गएर पनि विभेदको अन्त्य र सहीरुपले विकेन्द्रीकरण नभए संघीयता असफल हुने बताउँदै उहाँले नेपालको विविधतालाई एकतामा रुपान्तरण गर्नसक्नु नै नेपालका लागि चुनौति रहेको तर्क गर्नुभयो । अरु देशको संघीयता भन्दा नेपालको संघीयता फरक र आफ्नै शैलीको हुने तर्क गर्नुहुँदै उहाँले अरुको नक्कल गरेर नेपालमा संघीयता सफल हुन नसक्ने दावी गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पदाधिकारी, सदस्यहरु तथा अन्य सञ्चारमाध्यमका पत्रकारहरुले संघीयताको बाह्य अनुभव र नेपालमा हुने सन्दर्भको विषयमा क्यानेडियन विज्ञहरुसँग जिज्ञासा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया