विभेदकारी राज्यव्यवस्था चाँडै ध्वस्त गर्छौः अध्यक्ष यादव


Upendra

जलेश्वर, फागुन १९ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको विभेदकारी राज्यव्यवस्था चाँडै ध्वस्त पार्ने बताउनुभएको छ ।
फोरम नेपाल महोत्तरीद्वारा बुधवार जलेश्वरमा आयोजित ‘वर्तमान अवस्था एवं मधेश आन्दोलन’ विषयक अन्तरक्रियामा त्यस्तो बताउनु भयो । अध्यक्ष यादवले पछिल्लो मधेश आन्दोलनले शासकवर्गको ढाड भाचिसकेको जिकिर गर्दै अबको आन्दोलनले विभेदको जरा उखेलेर फाल्ने चेतावनी दिनुभयो ।

मधेशी, जनजाति र थारु लगायत बहुसंख्यक जनताले अस्वीकार गरिसकेको संविधान कार्यान्वयन हुनैनसक्ने यादवले दावी गर्नुभयो । मधेशी जनजाति, दलित, मुश्लिम, महिलासहितको संयुक्त आन्दोलन एकसाथ गर्ने तयारी अन्तिम चरणमा पुगेको छ– यादवले भन्नुभयो ।

शासक वर्गले आफूलाई मालिक ठानेर शोषित वर्गलाई अधिकार सम्पन्न बनाउन अझै बहानाबाजी गरिरहेकोले मधेश, पहाड, हिमालसँगै काठमाडौंमा एकैसाथ आन्दोलन गरिने यादवले दावी गर्नुभयो । आन्दोलन दबाउन सेना, सशस्त्र र प्रहरीको प्रयोग विफल भएकोले सरकारले पूर्वाग्रही ढंगले झूठामुद्दा लगाएर आन्दोलनकारीलाई फसाउने काम गरिरहेको आरोप यादवले लगाउनुभयो ।

‘बन्दुकले नसकेपछि आन्दोलन दबाउन नेता कार्यकर्तालाई झूठा मुद्दामा फसाइँदैछ’, फोरम नेपालका अध्यक्ष यादवले भन्नुभयो, ‘आन्दोलनकारीलाई झूठा मुद्दामा गिरफ्तार गर्दैमा आन्दोलन कमजोर हुने दिवास्वप्न सरकार र प्रमुख दलका नेताले नदेखे हुन्छ ।’

विगतको आन्दोलनमा पनि झूठा मुद्दा लगाएर पनि आन्दोलन दबाउन नसकिएको इतिहास साक्षी रहेको स्मरण गराउँदै यादवले अधिकार प्राप्तिबिना उत्पीडित जनता पछिनहट्ने चेतावनी दिनुभयो ।

‘बन्दुकले नसकेपछि आन्दोलन दबाउन नेता कार्यकर्तालाई झूठा मुद्दामा फसाइँदैछ’, फोरम नेपालका अध्यक्ष यादवले भन्नुभयो, ‘आन्दोलनकारीलाई झूठा मुद्दामा गिरफ्तार गर्दैमा आन्दोलन कमजोर हुने दिवास्वप्न सरकार र प्रमुख दलका नेताले नदेखे हुन्छ ।’

यादवले महोत्तरी लगायत विभिन्न जिल्लाहरुबाट पक्राउ परेका मोर्चाका कार्यकर्ताहरुलाई अविलम्ब रिहागर्न माग गर्नुभयो । ‘सरकारले केही बहाना नपाएर सामाजिक सञ्जालमा लेखेकै भरमा कार्यकर्ता पक्राउ गर्न तल्लिन छ’, यादवले भन्नुभयो, ‘यसले स्वतः प्रष्ट हुन्छ सरकार विचलित भइसकेको छ ।’

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका करिब २० जना कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेको सो दलले बताएको छ । नवप्रवेशीहरुलाई केन्द्रीय अध्यक्ष यादवले अबीर मालासहित स्वागत  गर्नुभयो ।

त्यसैगरी, जारी मधेश आन्दोलनको क्रममा महोत्तरीका सहीद परिवारलाई दोसल्ला ओढाएर अध्यक्ष यादवले सम्मान गर्नुभयो । फोरम नेपाल महोत्तरीका जिल्ला अध्यक्ष रामनरेश राय यादवको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा केन्द्रीय सदस्य एवं सांसद उर्मिला साह, केन्द्रीय सदस्य अमरेशनारायण झा, तेजनारायण यादव, दिपनारायण मण्डल लगायतले धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया