कांग्रेस महाधिवेशनमा नौजना थारु उम्मेदवार मैदानमा

संविधानमा भएको व्यवस्थाअनुसार थारु कोटा छुट्याइएन


CONGRESS-BANER

लक्की चौधरी
काठमाडौं, फागुन २२ गते । काठमाडौंमा भइरहेको नेपाली कांग्रेसको १३ औं केन्द्रीय महाधिवेशनमा पदाधिकारीदेखि सदस्यसम्म नौजना थारुले उम्मेदवारी दिएका छन् । तर संविधानमा भएको व्यवस्थाअनुसार थारुकोटा भने छुट्याइएको छैन ।

आदिबासी जनजाति, मधेसी, मुश्लिम, महिला, दलित कोटा छुट्याएर प्रतिस्पर्धा गराइएको भएपनि थारु कोटा छुट्याइएको छैन । नयाँ संविधान २०७२ अनुसार थारुको अलग कोटा छुट्याउने व्यवस्था गरिएको छ । तर कांग्रेसको महाधिवेशनमा सो व्यवस्था कार्यान्वयन हुन सकेन ।

कांग्रेस महाधिवेशन पुरानै विधानअनुसार सञ्चालन भइरहेकाले थारु कोटा नपरेको थारु उम्मेदवारहरुको बुझाई छ । संविधान संशोधनका लागि प्रस्ताव समेत जान नसकेको र थारु उम्मेदवारले नेतृत्वलाई दवाव दिन नसक्दा त्यस्तो व्यवस्था नभएको कतिपय प्रतिनिधिको बुझाई छ ।

कांग्रेसको महाधिवेशनमा स्पष्टतरुपले तीन प्यानल खडा भएर प्रतिस्पर्धा भइरहेको छ । संस्थापनपक्षबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सभापतिका उम्मेदवार छन् भने शेरबहादुर देउवा अलग प्यानल बनाएर मैदानमा उत्रेका छन् ।

पदाधिकारीमा एकमात्र थारु उम्मेदवार उमाकान्त चौधरी कृष्णप्रसाद सिटौला प्यानलबाट कोषाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । त्यस्तै अन्य थारुहरुले विभिन्न प्यानलमार्फत् केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् । देउवा प्यानलबाट वर्तमान कोषाध्यक्ष चित्रलेखा यादवले पुनः सोही पदमा उम्मेदवारी दिनुभएकाले उमाकान्तलाई चुनाव जित्न निकै कठिन हुने थारु उम्मेदवारकै बुझाई छ ।

पद्मनारायण चौधरीले खुलाबाटै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने एकमात्र थारु उम्मेदवार हुनुहुन्छ । यसअघि पौडेल प्यानलबाट कोषाध्यक्षको उम्मेदवारी दिने चर्चा चलेपनि चौधरीले अन्तिममा आएर खुलाबाट उम्मेदवारी दिनुभएको हो । त्यस्तै, सातवटा प्रदेशमा हरेक प्रदेशबाट दुईजनाका दरले उम्मेदवारी दिने व्यवस्था गरिएको छ । तर प्रदेश नं. १ र २ बाहेक कुनै प्रदेशबाट थारुको उम्मेदवारी परेको छैन ।

प्रदेश नं. १ बाट बद्रीनारायण चौधरी उम्मेदवारी दिनुभएको छ । प्रदेश नम्बर २ बाट दुईजना थारु उम्मेदवार मैदानमा हुनुहुन्छ । सांसद तेजुलाल चौधरी र रामकुमार चौधरीले एउटै प्रदेशबाट केन्द्रीय सदस्यको उम्मेदवार हुनुहुन्छ ।

SAM_3939

सांसद चौधरीले कांग्रेसलाई सुदृढ, लोकतान्त्रिक र सुशासनयुक्त बनाउन आफ्नो उम्मेदवारी दर्तागरेको बताउनुभयो । संस्थापनपक्ष पौडेलको प्यानलबाट उम्मेदवारी दिनुभएका चौधरीले थारुकोटा छुट्याउन नसकिएको स्वीकार गर्नुभयो । “पुरानो विधान संशोधन हुन नसक्दा थारु कोटा पार्न सकिएन” उहाँले भन्नुभयो ।

थारु कोटा छुट्याउन नसक्दा थारु समुदायलाई ठूलो घाटाहुने देखिएको छ । कोटामा चुनाव लड्दा थारु नै हार्ने र जित्ने भएकाले एउटा थारुको जित सुनिश्चित् हुन्थ्यो । तर कोटा छुट्याउन नसक्दा थारु उम्मेदवारको विजय हुने नहुनेमा सुनिश्चित् भन्नसक्ने अवस्था छैन । जुन समुदायका लागि कोटा छुट्याइएको हो, सोही समुदायको उम्मेदवारी मात्र पर्ने व्यवस्था कोटा प्रणालीमा हुन्छ ।

त्यस्तै, आदिबासी जनजाति कोटाबाट तीनजना थारु मैदानमा छन् । तीन पदकालागि सो कोटामा ४८ जनाको उम्मेदवारी परेको छ । आदिबासी कोटाबाट रामसमझ चौधरी, मुक्तिनाथ चौधरी र दुर्योधन चौधरीले उम्मेदवारी दिनुभएको छ । त्यस्तै, मधेसी कोटाबाट भोलानाथ चौधरीले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

कांग्रेसको महाधिवेसनमा तीन पदका लागि मधेसी केन्द्रीय सदस्यमा १८ जनाको उम्मेदवारी परेको छ । ६ पद महिलाका लागि ४० जना मैदानमा छन् । १ पद मुस्लिमका लागि १० जना मुस्लिमको उम्मेदवारी परेको छ । तर कुनै थारु महिलाको उम्मेदवारी परेको छैन ।

फागुन २० गतेबाट शुरुभएको कांग्रेसको तेह्रौं महाधिवेशनमा देशभरका गरी तीनहजार दुईसय १८ जना मतदाता प्रतिनिधि छन् । कुल ६४ पदकालागि तीनसय ७५ जना उम्मेदवार मैदानमा रहेको कांग्रेसले जनाएको छ ।

तपाईको प्रतिक्रिया