जथाभावी लेख्नेलाई प्रेस काउन्सिलले तत्काल कारवाही शुरु गर्ने


Press council

लक्की चौधरी
काठमाडौं, फागुन २९ गते । प्रेस काउन्सिल नेपालले माघ ३ देखि २९ गतेसम्म गरेको मिडिया अनुगमनबाट पत्रकार आचारसंहिता उल्लङ्घन गरेका २० वटा गम्भीर प्रकृतिको घटना फेला पारेको छ । सो घटना घटाउने सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि तत्काल कारवाही प्रक्रिया थाल्ने निर्णय काउन्सिलले गरेको छ ।

टेलिभिजन, रेडियो र अनलाईन मिडियामा केन्द्रीत भएर गरिएको २६ दिनको अनुगमनले टेलीभिजनमा सबैभन्दा वढी गम्भीर प्रकृतिको घटना रहेको काउन्सिलको प्रतिवेदन छ । अनुगमनबाट टेलिभिजनमा १२ वटा गम्भीर प्रकृतिका, १४ वटा सामान्य तर ध्यानाकर्षण गराउने खालका, १५ वटा सूचना (नोटिस) गराउने खालका, १३ वटा अन्तरवार्ताबाट र ३२ वटा विज्ञापनमा आचारसंहिता उल्लंघनको घटना फेला परेको काउन्सिलले फेला पारेको हो ।

टेलिभिजन, रेडियो र अनलाईन मिडियामा केन्द्रीत भएर गरिएको २६ दिनको अनुगमनले टेलीभिजनमा सबैभन्दा वढी गम्भीर प्रकृतिको घटना रहेको काउन्सिलको प्रतिवेदन छ ।

त्यस्तै, रेडियोतर्फ १ वटा गम्भीर प्रकृतिको, ३ वटा ध्यानाकर्षण गराउने खालको, १८ वटा विज्ञापनबाट, ५ वटा अन्य गरी २८ वटा आचारसंहिता उल्लंघनको घटना फेला परेको छ । सोहीअनुसार अनलाईन मिडियाको अनुगमनबाट ७ वटा गम्भीर प्रकृतिको, २ वटा ध्यानाकर्षण गराउनेखालको, २ वटा सामान्य र २६ वटा अन्य गरी ३७ वटा घटना फेला परेको छ ।

काउन्सिलका सूचना प्रविधि अधिकृत रामशरण बोहराकाअनुसार अनुगमनका क्रममा आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यम र सञ्चारकर्मीलाई घटनाको प्रकृति हेरेर कारवाहीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । गम्भीर प्रकृतिको घटना गर्नेलाई पहिलो चरणमा कारवाही प्रक्रिया अगाडि बढाउने तयारी भएको उहाँले गोरखापत्रलाई बताउनुभयो ।

बोहराकोअनुसार काउन्सिलले ११ टेलिभिजन, २३ एफ.एम. रेडियो, २७० अनलाईनको अनुगमन गरेको थियो । राष्ट्रियस्तरका टेलिभजनमा गरिएको अनुगमनले सबैभन्दा वढी आचारसंहिता उल्लंघन गर्नेमा एबीसी टेलिभिजन रहेको काउन्सिलको प्रतिवेदन छ । सो टेलिभिजनले गम्भीर प्रकृतिको ६, ध्यानाकर्षण गराउनुपर्ने ८, नोटिस गर्नुपर्ने ३, अन्तरवार्ताबाट १२, विज्ञापनबाट १० अन्य ३ गरी ४२ वटा उल्लंघनको समाचार दिएको छ ।

त्यस्तै, सोपछि एभिन्यूज टेलिभिजनले आचारसंहिता उल्लंघन गर्ने सूचीको दोस्रो नम्बरमा छ । त्यसले कुल २४ वटा उल्लंघनको घटना गरेको छ । त्यसमध्ये, गम्भीर प्रकृतिको २, सामान्य २, नोटिस गर्नुपर्ने ४, अन्तरवार्ताबाट १, विज्ञापनबाट १२ र अन्य २ रहेको छ । त्यस्तै, माउन्टेन टिभी १८, न्युज २४ ले ८, सगरमाथाले ५, मकालु र इमेज टीभीले १–१ वटा आचारसंहिता उल्लंघन गरिएको प्रतिवेदनमा उल्लेख  छ ।

सोहीअनुसार ११ वटा रेडियोले कुल २८ वटा आचारसंहिता उल्लंघनको घटना गरेका छन् । सोमध्ये रेडियो मिर्मिरे र मिथिलाले ५–५ वटा, रेडियो कान्तिपुरले ४, रेडियो नमस्ते, कालिन्चोक र रेडियो कर्णालीले ३–३, रेडियो नेपाल, नेपाल एफ.एम., रौटहत एफ.एम., विग एफ.एम. र विजय एफ.एम.ले क्रमशः १–१ वटा आचारसंहिताको उल्लंघन गरेका छन् । त्यस्तै, अनलाईन मिडियाले गम्भीर प्रकृतिको ७ सहित ३७ वटा उल्लंघनको घटना घटाएको काउन्सिलको प्रतिवेदन छ ।

यस्ता छन् उल्लंघनका घटनाः
एबीसी टेलिभिजनको गत माघ ८ गते साँझ ८ः२५ मा प्रशारित कार्यक्रममा रौतहटको गौर नाकाबाट भन्सारकै कर्मचारीको मिलेमतोमा तस्करी भएरहेको अपुष्ट खबर प्रशारण भएको थियो । काउन्सिलले त्यसलाई गम्भीर प्रकृतिको उल्लंघनमा राखेको छ ।

साझा डटकम अनलाइनको गत जनवरी १३ मा प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण गर्दा सुंगुरको अङ्ग प्रत्यारोपण गरिएको खुलासा शीर्षकमा भ्रामक समाचार प्रकाशन गरेको समाचारलाई काउन्सिलले गम्भीर प्रकृतिको घटनामा सुचीकृत गरेको छ ।

साझा डटकम अनलाइनको गत जनवरी १३ मा प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण गर्दा सुंगुरको अङ्ग प्रत्यारोपण गरिएको खुलासा शीर्षकमा भ्रामक समाचार प्रकाशन गरेको समाचारलाई काउन्सिलले गम्भीर प्रकृतिको घटनामा सुचीकृत गरेको छ ।

त्यस्तै, आजभोलि डटकमको गत माघ ४ गते छापिएको नेपालसहित हिमालय क्षेत्रमा ८ रेक्टर स्केलको भूकम्प जाने भारतीय गृहमन्त्रालयको दावी शीर्षकमा भ्रामक समाचार प्रकाशन गरेको खबरलाई काउन्सिलले गम्भीर प्रकृतिको उल्लंघनमा सूचीकृत गरेको छ ।

सोहीअनुसार नेपालहेडलाईन्स डटकमले गत माघ १८ गते तपाईको विचारमा तराईमा आन्दोलनरत मधेसी नेतालाई के भन्दा उचित होला ? (क) राष्ट्रघाती (ख) देशद्रोही (ग) भारतीय दलाल (घ) माथिको सबै । विकल्प राखेर सामग्री प्रकाशन गरेको थियो । त्यसलाई पनि काउन्सिलले गम्भीर प्रकृतिको उल्लंघनमा सूचीकृत गरेको छ ।

काउन्सिलले पहिलो चरणमा अनलाईन, रेडियो र केही टेलिभिजनको मात्र अनुगमन गरेको भएपनि छापासहित अन्य मिडियाको अनुगमन कार्यलाई अगाडि बढाउने तयारी भएको बताएको छ ।

काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले गम्भीर प्रकृतिको घटना घटनाउने मिडिया हाउस र पत्रकारलाई पत्रमार्फत पहिलो चरणमा सुधार्न आग्रह गरिने बताउनुभयो । आफूलाई सच्याउने काम नभए अर्को चरणको कारवाहीमा मिडियाको नाम, उल्लंघनको घटनासहित सार्वजनिक गर्ने र त्यसबाट पनि नसच्चिए अन्य कारवाही अगाडि बढाउने चेतावनी दिनुभयो ।

तपाईको प्रतिक्रिया