मिडियाको सहयोग विना नेपालको विकास असम्भवः विज्ञ


Nagarkot

भक्तपुर, चैत ३ गते । विकासका लागि मिडियाको महत्वपूर्ण योगदान हुने भन्दै सरोकारवाला पक्षहरुले सही विकासका लागि पत्रकारको गुणस्तरीयता र जिम्मेवारीपनको आवश्यकता औल्याउनुभएको छ ।

व्यवस्थापिका संसद अन्तर्गतको विकास समिति, संसदीय पत्रकार मामिला समाज, विकास पत्रकारिता मञ्चको संयुक्त आयोजनामा बुधबारदेखि नगरकोटमा शुरुभएको दुई दिने अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले त्यस्तो बताउनुभयो । मिडियालाई सकारात्मक र विकासप्रति उत्तरदायी नबनाउँदासम्म विकासको जति छलफल र संवाद गरेपनि विकासको औचित्यता पुष्टि नहुने वक्ताहरुको भनाई छ ।

विकास समितिका सभापति रविन्द्र अधिकारीले मिडियाको सक्रियता र सहयोग विना यथोचित विकास सम्भव नरहेको बताउनुभयो । “हामी समितिमा जति छलफल र संवाद गरेपनि मिडियाले त्यसको सही सूचना नागरिकमा लगेन भने त्यसको केही अर्थ हुँदैन” भन्नुहुँदै सभापति अधिकारीले त्यसकालागि पहिले मिडियाकर्मीलाई विकासप्रति जवाफदेही बनाउनुपर्ने बताउनुभयो ।

Nagarkot1

विकास सम्बन्धी सूचनालाई नागरिकसम्म पु¥याउन र नागरिकको आवश्यकतालाई सरकारसम्म लग्न पनि मिडियाले पुलकोरुपमा काम गर्न आवश्यक रहेको बताउँदै सभापति अधिकारीले मुलुक राजनीतिकभन्दा अब विकासको मुद्दामा केन्द्रीत हुनुपर्छ भन्नुभयो । हामी सबै लागेमा नेपालको विकास गर्न गाह्रो नभएको उहाँको भनाई छ ।

संसद सचिवालयका सचिव मुकुन्द शर्माले मिडियाले विकासका लागि भूमिका खेल्न अनिवार्य रहेको बताउनुभयो । उत्तरदायित्व विनाको सञ्चार र स्वतन्त्रता विनाको पत्रकारिताको अर्थ नरहेको भन्दै सचिव शर्माले पत्रकारलाई सही सूचनामा ध्यान दिएर सम्प्रेषण गरेमा विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । मुलुकको समृद्धिका निम्ति पत्रकारले भूमिका अहम् रहेको उहाँले तर्क गर्नुभयो ।

युएनडिपीकाका कन्ट्री निर्देशक रेनाउड मेयेरले नेपाल प्राकृतिक स्रोत सम्पादाले अति नै धनी रहेकाले त्यसलाई नेपालको विकासमा रुपान्तरण गर्न गाह्रो नरहेको बताउनुभयो । “त्यसको उचित सदुपयोग गर्नसके नेपालले प्रगति हासिल गर्छ” उहाँले भन्नुभयो ।

युएनडिपीकाका कन्ट्री निर्देशक रेनाउड मेयेरले नेपाल प्राकृतिक स्रोत सम्पादाले अति नै धनी रहेकाले त्यसलाई नेपालको विकासमा रुपान्तरण गर्न गाह्रो नरहेको बताउनुभयो । “त्यसको उचित सदुपयोग गर्नसके नेपालले प्रगति हासिल गर्छ” उहाँले भन्नुभयो । विकास आफैमा जटिल विषय हो, तर नेपालमा विकास गर्न गाह्रो छैन उहाँले भन्नुभयो । “मिडियासहित सरकार, सांसद, राजनीतिक नेताहरुले सकारात्मक सोचले काम गरेमा नेपालको विकास सम्भव छ” उहाँले सुझाव दिनुभयो ।

कार्यक्रममा संसदीय पत्रकार मामिला समाजका अध्यक्ष राजेन्द्र फुयाल, विकास पत्रकारिता मञ्चका अध्यक्ष गोपीकृष्ण ढुंगानाले विकासमा मिडियाको भूमिका विषयमा चर्चा गर्नुभएको थियो । दुई दिनसम्म चल्ने कार्यक्रममा विकासका लागि पत्रकारको भूमिका विषयमा वरिष्ठ पत्रकार मोहन मैनाली, विकास विज्ञ प्राध्यापक सूर्य आचार्य, रविन्द अधिकारी र राजेन्द्र फुयालले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा संसदलाई विट बनाएर रिपोटिङगर्ने पत्रकार, विकास पत्रकारिता मञ्चका सदस्यहरु, संसद सचिवालयका कर्मचारीसहित करिब ३५ जनाको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया