अब गा.वि.स. सचिवलाई मोटरसाईकल चढ्ने सुविधा


Mosa

काठमाडौं, चैत ५ गते । मोटरबाटो पुगेका गाविसका सचिवले अब मोटर साईकल चढ्न पाउने भएका छन् । गाविस सचिवले धेरै काम गर्नुपर्ने भएकाले उनीहरुलाई यातायातको सुविधा दिन लागेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता सहसचिव पूर्णचन्द्र भट्टराईका अनुसार मोटरबाटो पुगेको गा.वि.स. सचिवलाई २ लाख ५० हजारसम्म मोटर साइकल किन्न अर्थ मन्त्रालयले बजेटको स्वीकृति दिइसकेको छ। ‘अब मोटर बाटो पुगेका र मोटरसाइकलको लाइसेन्स भएका गाविस सचिवले मोटरसाइकल किन्न पाउँछन्’ भट्टराईले भन्नुभयो ।

अहिले देशभरका ३१ सय ५७ गाविसमध्ये २७ सय ३९ गाविसमा मोटर बाटो पुगेको छ । ४ सय १८ गाविसमा अझै मोटरबाटो पुगेको छैन। मोटर पुगेको २७ सय ३९ गा.वि.स. सचिवलाई मो.सा. बापत सरकारलाई थप ६८ करोडप ४७ लाख ५० हजार रकम भार पर्नेछ ।

VDC

अहिले देशभरिका २ सय ६२ ओटा गाविसमा सचिव छैनन्। एउटै सचिवलाई दुई गाविसको जिम्मेवारी दिइएको छ। भूकम्पबाट अति प्रभावित १४ जिल्लाका १ सय २५ गाविसमा सचिव नभएको भट्टराईले बताउनुभयो ।

‘गाउँका हरेक कामका लागि गाविस सचिव दौडिनु पर्छ’, भट्टराईले भन्नुभयो ‘अब सवारी साधन भएमा गाविस सचिवले छिटो काम गर्न सक्छन् भन्ने मन्त्रालयको विश्वास छ।’

गाविसको मोटरसाइकलको व्यवस्थापन प्रमुख जिल्ला अधिकारीले गर्ने र मोटरसाइकलका चाहिने तेलको बारेमा पनि छिटै व्यवस्था गरिने भट्टराईले बताउनुभयो ।

यसका साथै मन्त्रालयले गाविस सचिवलाई सञ्चार सुविधावापतको रकम पनि उपलब्ध गराउन अर्थ मन्त्रालयमा प्रस्ताव गरेपनि स्वीकृत नभएको भट्टराईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया