रानाथारु र कठरिया समुदायमा होलीको रौनक शुरु


Kathariya naach

अविनाश चौधरी
धनगढी, चैत ९ गते । पश्चिम तराईबासी रानाथारु र कठरिया थारु समुदायमा होली पर्वको रौनक बढेको छ । एक महिनासम्म होलीपर्व मनाउने दुवै समुदायमा नाचगानसहित यो पर्व मनाइदैंछ ।

कैलाली, कञ्चनपुरमा बसोबास गर्ने राना र कठरिया थारु समुदायले होलीपर्व आउनु अगाडिदेखि नै होली मनाउने गर्दछन् । यो दुवै समुदायको सबैभन्दा ठूलो पर्व पनि हो ।

रानाथारु समुदायका युवायुवतीहरुले रातीको समयमा होरी नाचगान गरेर पर्व मान्ने चलन छ । यसलाई उनीहरु आफ्नो भाषामा ‘जिन्दा होरी’ (जिउँदो होली) भन्ने गर्दछन् ।’ जिन्दा होरी चिरदहन नभएसम्म खेलिने गरेको रानाथारु समुदायका अगुवा एवम् पूर्व सभासद मालामती रानाथारुले बताउनुभयो ।

होलीपर्व सुरुभएको पहिलो दिनदेखि एक महिनासम्म आफ्नै समुदायको हरेक घरबाट गुइँठा र तोरीको सुकेको डाँठ चोरेर गाउँभन्दा खुलाक्षेत्रमा थुपार्ने चलन रानाथारु समुदायमा छ ।

होलीपर्व सुरुभएको पहिलो दिनदेखि एक महिनासम्म आफ्नै समुदायको हरेक घरबाट गुइँठा र तोरीको सुकेको डाँठ चोरेर गाउँभन्दा खुलाक्षेत्रमा थुपार्ने चलन रानाथारु समुदायमा छ । चोरेको गुइँठा र तोरीको डाँठ थुपारेर होलिका बनाइ चिरदहन गरिने उहाँले बताउनुभयो ।

रानाथारुका अनुसार चिरदहनपछि भोलिपन्ट मुर्दा होरी (मरेको होली) सुरु हुन्छ । यस दिनलाई रानाथारुले टीका भन्ने गर्दछन् । यहि दिन उनीहरु बिहानदेखि दिउँसोसम्म एक अर्कालाई अबिर लगाउँदै होली खेल्ने गर्दछन् ।

होरीको अन्त्यमा चराई बिसर्जन गर्ने चलन रहेको बताइन्छ । यो संगै होरी पर्वको विधिवत समापन हुने मालामतीले जानकारी दिनुभयो । सो समुदायमा होरीको धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ ।

दैत्य हृण्यकश्चपले शक्ति दुरुपयोग गरेर आफ्नै छोरा प्रह्लादलाई मार्नखोज्दा सत्यको जित भएको र असत्यको पक्षमा रहेकी हृण्यकश्चपका बहिनी होलिका आगोमा भष्म भएको सम्झनामा राना थारुले होरी पर्व मनाउँछन् । यो पर्वका बेला नराम्रो त्यागेर राम्रो विचारधारा अगाल्नु पर्ने जनविश्वास रहेको छ ।

साली नाता पर्नेले आफ्नो भिनाजु वा नजिकका मित्रलाई निम्तो गरेर मिठो मसिनो खुवाउने र भिनाजु तथा मित्रले आफ्नो क्षमतानुसारको दान वा श्रृङ्गारका सामान दिने चलनले आपसी सदभाव तथा सम्बन्ध बढाउने गरेको बताइन्छ । यस्तो चलनलाई रानाथारु भाषामा फगहा भन्ने गरिन्छ ।

यस्तै, कैलालीमा बसोबास गर्ने कठरिया थारु समुदायले पनि धुमधामसंग होलीपर्व मनाइरहेका छन् । युवायुवती तथा महिलाहरु घर–घरमा होलीनाच नाचेर उल्लासपूर्वक होरी मनाउन थालेका हुन् ।

कठरिया समुदायमा चारप्रकारको होली हुनेगरेको सन्तोष कठरियाले जानकारी दिनुभयो । उहाँको अनुसार ठर्मा होरी (पुरुष महिला सहभागी हुने), बन्ना होली (पाका पुरुषमात्रै सहभागी हुने), मिच्चा होली (महिला मात्रै सहभागी रहने) र एकल होली (आधुनिकतामा आधारित) मनाउने गरिन्छ । होलीपर्वमा मिठा–मिठा परिकार बनाएर खाने चलन समेत रहेको जनाइएको छ ।

कैलाली, कञ्चनपुरमा मात्रै बसोबास रहेको दुवै समुदायको जनसंख्या नेपालमा थोरै रहेको छ । छुट्टै सांस्कृतिक पहिचान भएका यी समुदायले अरु पर्वभन्दा होरी निकै उल्लासपूर्वक मनाउने गर्दछन् । यो समुदायमा होलीपर्व महिनादिनसम्म मनाइन्छ ।

तपाईको प्रतिक्रिया