काठमाडौं, चैत ९ गते । पहाडी जिल्लामा मंगलबार देशभर होलीपर्व भव्यताकासाथ मनाउने भएपनि तराईमा बुधबार मात्रै होलीपर्व मनाइने भएको छ । तर उपत्यकामा बासोबास गर्ने थारु समुदायले मंगलबार नै धुमधामकासाथ होली मनाएका छन् ।
थारु कल्याणकारिणीसभा उपत्यका समितिको आयोजनामा मंगलबार ललितपुरको टीकाथलीमा आपसमा अविर, रंग दलेर रमाइलोगरी सामुहिकरुपमा होलीपर्व मनाइएको छ । काठमाडौंमा बस्ने थारुलाई एकठाउँमा जम्मा गरेर सामुहिकरुपमा होलीपर्व मनाइएको थारु कल्याणकारिणीसभाका उपाध्यक्ष प्रेमीलाल चौधरीले बताउनुभयो ।
होलीपर्वको अवसरमा रामरमाइलो गरेर सामुहिक खानपिनको व्यवस्थासमेत उपत्यका समितिले गरेको छ । सबै समुदायकाले होलीपर्व मनाउने भएपछि थारु समुदायले पनि होली मनाएको उपत्यका समितिका अध्यक्ष सुमन चौधरीले बताउनुभयो ।
त्यस्तै नेकपा (एमाले) सप्तरी काठमाडौं सम्पर्क मञ्चको आयोजनामा मंगलबार नै काठमाडौं बानेश्वर क्याम्पसमा होली कार्यक्रम आयोजना गरिएको छ । मञ्चका अध्यक्ष जयनारायण थारुका अनुसार थारु समुदायलाई एक ठाउँमा ल्याएर होली पर्व मनाइएको छ ।
कार्यक्रममा सांसद ताराकान्त चौधरी, थाकसका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, उपत्यका समितिका सदस्यहरु सहित थारु विद्यार्थीहरुको सहभागिता रहेको अध्यक्ष चौधरीले बताउनुभयो । थाकसका केन्द्रीय सदस्य रामलाल चौधरीका अनुसार थारु समुदायको होली बुधबार भएपनि मंगलबार उपत्यकामा एकापसमा सद्भाव बाँडेर भव्यताकासाथ होली मनाइएको छ ।