थारुगाउँ होमस्टेमा स्थानीय र बाह्य पर्यटकको बढ्यो आकर्षण


Homestay

कपिलबस्तु, चैत २४ गते । चराको ‘स्वर्ग’ मानिने जगदीशपुर ताल छेउ पर्यटक बसाउन होमस्टे सञ्चालनमा ल्याइएको छ । पर्यटक आकर्षित गर्न निग्लिहवा १ स्थित थारू समुदायका घरमा सञ्चालन गरिएको हो ।

गाउँका ४० मध्ये १० जनाले यस्तो व्यवस्था गरेका हुन् । अहिले घरमा उपलब्ध साधन स्रोतलाई उपयोग गरेर सञ्चालन गरिएको छ । घरमा भएको खाट, लत्ताकपडा र भाँडाकुँडालाई उपयोग गरेर पाहुनालाई बासको व्यवस्था गरिएको होमस्टे अध्यक्ष गयाप्रसाद थारूले बताउनुभयो ।

विश्व सिमसार सूचीमा रहेको जगदीशपुर ताललगायत पर्यटकीयस्थल घुम्नआउने पर्यटकलाई यहाँ बास अभाव थियो । समस्या भएको गुनासो गरेपछि थारू समुदाय यस्तो व्यवस्थाका लागि उत्साहित बनेका हुन् ।

तालमा धेरै कार्यक्रम आए पनि स्थानीय लाभान्वित नभएको देखेर होमस्टे सुरुगरेको अध्यक्ष थारूले बताउनुभयो । बर्सेनि सयौं स्वदेशी तथा विदेशी पर्यटक आएपनि बास अभावमा फर्किने गरेका थिए । थारू समुदायको उत्साह देखेपछि जगदीशपुर ताल बहुसरोकार मञ्चले सहयोग गरेको थियो ।

मञ्चले उनीहरूलाई पाहुनाको स्वागत सत्कार सिकाउन नवलपरासीको अमलटारी होमस्टे भ्रमण गराएको थियो । त्यहाँबाट धेरै सिकेर आएपछि आफूहरूले सानो लगानीमा सुरुवात गरेको होमस्टे सञ्चालन समितिकी सचिव सरिता थारूले बताउनुभयो ।

‘एकै पटक ४० जनासम्म राख्नेगरी घर निर्माण गर्न थालेका छौं ।’ सुरुमा २ कोठाको घर बनाउन थालिसेको उहाँले बताउनुभयो ।

समिति गठन गरेर नयाँ पूर्वाधार विकासमा लाग्न थालेको अध्यक्ष थारूले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एकै पटक ४० जनासम्म राख्नेगरी घर निर्माण गर्न थालेका छौं ।’ सुरुमा २ कोठाको घर बनाउन थालिसेको उहाँले बताउनुभयो । थारुको अनुसार अहिलेसम्म २ लाख खर्च भइसकेको छ ।

सक्नेले नयाँ र नसक्ने पुरानै घरलाई मर्मत गर्ने योजना बनाएको थारुले बताउनुभयो । गत साता घरमा २ जना पाहुना राखेर नौलो अनुभव सँगाल्नु भएकी सुनिता थारूले पर्यटक कसरी खुसी बनाउने किसिमले स्वागत र बिदाइ गर्न योजना बनाएको सुनाउनुभयो ।

महिना दिनदेखि सञ्चालनमा रहेको होमस्टेमा १ बेलायतीसहित १३ नेपाली पर्यटक बसिसकेका छन् । अहिले सञ्चालनमा रहेको होमस्टेलाई निरन्तरता दिँदै थोरै लगानीमा थारू संस्कृति झल्कने गरी नयाँ बनाउने योजनामा रहेको गाविसका पूर्वअध्यक्ष अब्दुलरसिद खाँले बताउनुभयो । होमस्टेमा पाहुनालाई थारु परिकार ढिकरी, घोंगी, उसिनेको भात, माछा, चिचर र लोकल कुखुराको मासुको स्वाद दिने गरेको होमस्टे सञ्चालकहरु बताउँछन् ।

मञ्चले १० होमस्टेलाई ८ हजार बराबरको सामग्री वितरण गरेको छ । फलामको खाट, सिरक र तकिया प्रजिअ इन्दु घिमिरे र स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले वितरण गर्नुभयो ।

तपाईको प्रतिक्रिया