पार्टीको नाम परिवर्तन गर्ने तयारी गर्दै फोरम (लोकतान्त्रिक)


काठमाडौं, वैशाख १६ गते । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) पार्टीले आगामी महादिवेशनदेखि आफ्नो दलको नाम परिवर्तन गरी ‘समावेशी राष्ट्रिय चरित्र झल्काउने’ नयाँ नाम राख्ने तयारी गरेको बताएको छ ।

पार्टी नेता जितेन्द्र देवका अनुसार नाम परिवर्तन बारे पार्टीमा कुराकानी भएको र आगामी महाधिवेशनले नाम परिवर्तन सम्वन्धमा निर्णय लिने बताउनुभयो ।

‘पार्टीको नामका सम्बन्धमा आगामी महाधिवेशनले निर्णय लिने छ,’ देवले भन्नुभयो, ‘के नाम राख्ने भन्नेमा अहिले कुनै निर्णय भइसकेको छैन।’  गच्छदार नेतृत्वको फोरमले यही वैशाख २० गतेदेखि विराटनगरमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ ।

पार्टीले किन नाम परिवर्तन गर्न लागेको भन्ने प्रश्नमा पार्टीका महाधिवेशन प्रचार प्रसार उपसमिति संयोजक डा, सुवोधराज पोखरेलले ‘हाम्रो दल स्थापना हुँदादेखि नै यसलाई राष्ट्रिय दलको स्वरूप दिने भन्ने सोच थियो। पार्टीमा सबै बर्ग र पहिचानका मानिस अटाउनुपर्छ भन्ने मान्यता अनुसार अब पार्टीलाई नयाँ स्वरूप दिने तयारी भएको हो’ भन्नुभयो ।

पहिलो, नेपाल लोकतात्रिक पार्टी वा राष्ट्रिय लोकतान्त्रिक पार्टी राख्ने। दोस्रो, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) नै यथावत राख्ने र तेस्रो, नेपाल लोकतान्त्रिक फोरम राख्ने ।

पार्टीको नाम सम्बन्धमा अहिले तीन विचारहरू रहेको पोखरेलले बताउनुभयो । पहिलो, नेपाल लोकतात्रिक पार्टी वा राष्ट्रिय लोकतान्त्रिक पार्टी राख्ने। दोस्रो, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) नै यथावत राख्ने र तेस्रो, नेपाल लोकतान्त्रिक फोरम राख्ने ।

पोखरेलका अनुसार मध्यमखालको र सबैले स्वीकार गर्ने नाम भनेको ‘नेपाल लोकतान्त्रिक फोरम’ हो। ‘फोरम’ भन्ने शब्दले पार्टीको विगतलाई पनि निरन्तरता दिन्छ भने मधेसी जनाधिकार हटाएपछि एकमात्र जातिको वा क्षेत्रको मात्र पार्टी भन्ने देखिँदैन सो पार्टीले भन्छ ।

पार्टी नेताका अनुसार गच्छदार अब मधेसको नाम मात्र लिएर क्षेत्रीय दलको रुपमा खुम्चिएर बस्न नहुने सोँचमा छन्। राष्ट्रिय दल हुँदा समानुपातिक निर्वाचनको प्रावधानका कारण पार्टीलाई धेरै फाइदा हुने उहाँको धारणा छ। अहिले उहाँको पार्टी संसदको पाँचौ ठूलो दल हो।
पोखरेलका अनुसार पार्टीमा खसआर्य, महिला, मधेसी, जनजाति, मुस्लिम आदि सबैका निम्ति पनि आरक्षणको व्यवस्था रहने छ। ‘पार्टीलाई राष्ट्रिय स्वरूप दिनु हाम्रो उद्दधेश्य हो,’ पोखरेलले भन्नुभयो ।

यसअघि उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालले अशोक राईसँग पार्टी एकीकरणपछि ‘मधेसी जनअधिकार भन्ने शब्दावली हटाएर ‘संघीय समाजवादी फोरम नेपाल’ नामकरण गरेको थियो।

तपाईको प्रतिक्रिया