संघीय गठबन्धन दलको सिंहदरवार घेराउ, पहिलो दिन शान्तिपूर्ण


IMG_3669

काठमाडौं, जेठ २ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले मुलुकको मुख्य प्रशासनिक निकाय सिंहदरबार घेराउ गर्नेकाम आइतबारबाट शुरु गरेको छ । पहिलो दिनको घेराउ कार्यक्रम शान्तिपूर्ण रह्यो ।

तत्कालीन राज्य पुनर्संरचना आयोगको प्रतिवेदन अनुसार पहिचानसहितका प्रदेश बनाइनुपर्ने माग गर्दै गठबन्धनले आइतबारदेखि सिंहदरबार घेराउ शुरु गरेको हो । सिंहदरबार घेराउका क्रममा गठबन्धनका नेता तथा कार्यकर्ता माइतीघर मण्डला र हनुमानस्थानमा धर्नामा बसेका थिए ।

IMG_3579

धर्नाको कार्यक्रम मंगलबारसम्म जारी रहने र थप कार्यक्रमका लागि मंगलबार साँझ नै बसेर निर्णय सार्वजनिक गरिने गठबन्धन दलका संयोजक उपेन्द्र यादवले बताउनुभयो । पार्टीको झण्डासहित धर्नामा बसेका गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ताले सात प्रदेशको संविधान कुनै हालतमा स्वीकार नगर्ने बताएका छन् ।

धर्नामा बसेका बेला आन्दोलनकारीले सरकारविरोधी नारा लगाएका थिए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गालीगलौज गर्दै नारा लगाएका हुन् ।

Tharuhat

गठबन्धनका नेता तथा कार्यकर्ता धर्नामा बसेकाकारण सिंहदरबारको आसपासको क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो । ट्राफिक प्रहरीले नयाँवानेश्वर हुँदै त्रिपुरेश्वर, सहिदगेट चल्ने सवारीसाधनलाई तीनकुनेमा नै रोकेका कारण यात्रुहरु हिंडेर गन्तव्यमा पुग्न वाध्य भएका थिए ।

नयाँ वानेश्वरमा संसद् भवन आसपास तथा सिंहदरबार आसपासको क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका थिए । सुरक्षाकर्मी बाक्लो संख्यामा परिचालन गरिएपनि प्रदर्शनकारीहरुले माइतीघर मण्डलामा एउटा सरकारी गाडी तोडफोड गरिदिएका छन् ।

यद्यपि गठबन्धनका नेताहरुले आफुहरुको प्रदर्शन शान्तिपूर्ण भएको दाबी गरेका छन् । उनीहरुले संविधानले हक अधिकार सुरक्षित नगरेका सबै समुदाय प्रदर्शनमा सहभागी रहेको भन्दै माग सम्बोधन नभएसम्म सिंहदरबार घेराउ कार्यक्रम जारी रहने बताएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पाँच महिनाभन्दा लामो मधेश आन्दोलन यसअघि गरिसकेको छ । सरकारले माग सम्बोधनका लागि ठोस पहल नगरेपछि जनजाती सम्बद्ध पार्टीसहितको गठबन्ध बनाएर सिंहदरबार केन्द्रीत आन्दोलन सुरु गरेको हो ।

संघीय गठबन्धनको आइतबार साँझ बसेको बैठकले सिंहदरबार घेराऊ कार्यक्रमलाई जारी राख्ने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले जानकारी दिनुभयो ।

संघीय गठबन्धनको आइतबार साँझ बसेको बैठकले सिंहदरबार घेराऊ कार्यक्रमलाई जारी राख्ने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले जानकारी दिनुभयो ।

आइतबारदेखि सुरु भएको सिंहदरबार घेराऊ कार्यक्रम सोमबार र मंगलबार यथावत रहने भएको छ । त्यसपछि सिंहदरबार घेराऊ कार्यक्रमलाई निरन्तर राख्ने वा स्वरुप परिवर्तन गर्नेबारे गठबन्धनको बैठकले निर्णय गर्ने बताइएको छ ।

सिंहदरबार घेराऊको पहिलो दिन शान्तिपूर्ण र जनताको व्यापक सहभागितामा सफल भएको गठबन्धनले समिक्षा गरेको छ । गठबन्धनले काठमाडौं केन्द्रीत आन्दोलनलाई शान्तिपूर्ण ढंगले अझ उचाइँमा पुर्याउने समेत निर्णय गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया