अबको दुई वर्षमा नेपाल पेट्रोलियममा आत्मनिर्भरः प्रधानमन्त्री ओली


SAM_4323

काठमाडौं, जेठ ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अवको दुई वर्षभित्र नेपालमै पेट्रोलियम पदार्थ उत्पादन गरी नेपाल आत्मनिर्भर हुने बताउनुभएको छ । त्यसको उत्खनन्कार्य शुरु भइसकेको बताउँदै उहाँले अरुको भरपर्ने अवस्थाको अन्त्य हुने दावी गर्नुभयो ।

प्रेस चौतारी नेपालको आठौं राष्ट्रिय अधिवेशनको विहिबार यहाँ उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । नेपाल सबै किसिमले उर्वरभूमि भएपनि त्यसको सही सदुपयोग गर्न नसक्दा मुलुक समस्यामा रहेको उहाँले तर्क गर्नुभयो ।

SAM_4288

प्राकृतिक स्रोतसाधनको सही उपयोगका लागि सरकारले अभियान शुरु गरिसकेको छ, कामको शुरुवात गरे उपलब्धी हुन्छ उहाँले भन्नुभयो । केही गर्छु भन्दा आफूलाई नेपाली बुद्धिजीवीले उराउने गरेको टिप्पणी गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “केही बुद्धिजीवीबाट म हैरान भएको छुँ, केही गर्छु भन्न नहुने, विकास गर्छु भन्दा पनि नहुने ?”

प्रधानमन्त्री ओलीले आगामी वर्षदेखि आर्थिक बृद्धिपनि ६.५ प्रतिशत पु¥याउने बताउनुभयो । “अहिले आर्थिक बृद्धिदर कम छ भनेर आत्तिनु हुँदैन, चुनौति छ तर गर्न नसकिने भन्ने छैन” उहाँले भन्नुभयो । राष्ट्र निर्माणको महाअभियानमा अहिले मुलुक रहेको बताउनुहुँदै उहाँले निजगढ–काठमाडौं फाष्टट्रयाक आफ्नै लगानीमा बनाउन कुनै समस्या नरहेको उहाँले तर्क गर्नुभयो ।

चुपचाप बसेर विकासको शुरुवात हुँदैन, अघि बढेरै हुन्छ भन्नुहुँदै प्रधानमन्त्री ओलीले देशमा रहेको सबै तुइन दुईवर्षमा विस्थापन गर्ने बताउनुभयो । “काम गर्ने इच्छाशक्ति भए त काम गर्न सकिदो रहेछ नि, यसअघिका सरकारले तुइन विस्थापनबारे किन सोचेनन्, यही सरकारले गर्नुपर्ने अवस्था किन आयो ?” उहाँले जिज्ञासा गर्नुभयो ।

विकासको काम रातारात भैहाल्ने होइन, काम शुरुभएपछि एकदिन त पूरा हुन्छ भन्नुहुँदै उहाँले कामको शुरुवात गर्दा पनि आलोचना हुने, नगर्दा पनि आलोचना हुने नेपाली बुद्धिजीवीप्रति आफू हैरान भएको टिप्पणी गर्नुभयो । “नीति तथा कार्यक्रम आउँदा केही व्यक्ति छटपटाए, बजेट आउन नदिनेगरी सरकार ढाल्ने खेलमा लागे, अब बजेट आउने भयो, केही दिन पर्खनुस् बजेट आएपछि सरकारको काम देखिनेछ” उहाँले चर्चा गर्नुभयो ।

SAM_4274

समुन्द्रमा सबै देशले जहाज चलाउने अनुमति पाउँछन्, हामीले आफ्नो नेपाली जहाज चलाउँछौं भन्दा किन आलोचना हुन्छ ? जिज्ञासा गर्नुहुँदै उहाँले वि.सं. २०२७ सालमै पानी जहाज किन्ने प्रक्रिया अघि बढेको भएपनि पूरा नभएको बताउनुभयो । अब वर्तमान सरकारले आफ्नै जहाज किनेर समुन्द्रको बाटो भएर सामान नेपालमा आयात गर्ने उहाँले तर्क गर्नुभयो । “पानी जहाज किन्ने भनेर शुरु गर्ने म नै पहिलो मान्छे हुँ भनेर सोचेको थिएँ, तर हिजोमात्र थाहा पाएँ २०२७ सालमै तत्कालिन सरकारले जहाज किन्ने एडभान्स दिइसकेको रहेछ” उहाँले भन्नुभयो ।

गौतमबुद्ध नेपालमा जन्मेकाले अहिले नेपाल विश्वको आकर्षणको केन्द्रविन्दु भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले बुद्ध नेपालमा जन्मेको कुरा स्थापित सत्य भएको बताउनुभयो । नयाँ संविधानमा लोकतन्त्र र समावेशीताको मुलभूत पक्षलाई समेटिएकाले त्यसको कार्यान्यनका लागि सबै लाग्नुपर्ने उहाँले बताउनुभयो । मधेसवादी दलको आन्दोलनलाई संकेत गर्दै उहाँले जायज माग सम्बोधन गर्न सरकार तयार भएकाले वार्ता र छलफलमा आउन उहाँले आग्रह गर्नुभयो ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मिडियाको मागलाई सम्बोधन गर्नेगरी नयाँ सञ्चारनीति तयार भइरहेको र धेरै विषयलाई बजेटले पनि सम्बोधन गर्ने तयारी गरेको बताउनुभयो । संविधानको पुनरलेखन असम्भव रहेकाले त्यस्तो मागहरु नउठाउन आन्दोलनकारीसँग उहाँले आग्रह गर्नुभयो । “संविधान पुनरलेखनको माग खतरनाक छ, यसले जनमतको अपमान गर्छ” भन्नुहुँदै उहाँले मुलुक अब पछाडि फर्कन नसक्ने बताउनुभयो ।

चौतारीको बन्दसत्र विहिबारबाटै शुरुभएको छ । आगामी नेतृत्वका लागि गणेश बस्नेत र माधवकुमार नेपाल अध्यक्षका लागि दावेदार हुनुहुन्छ । बस्नेतको नाममा सर्वसम्मतको प्रयास भइरहेको आयोजकले बताएको छ ।

प्रेस चौतारी नेपालले स्थापना गरेको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट पत्रकार शिव गाउँले, अग्नीशीखा पत्रकारिता पुरस्कारबाट देवराज रिमाल, डेकेन्द्र थापा पत्रकारिता पुरस्कारबाट यज्ञराज थापा र विद्युतमा आउजी, वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरस्कारबाट दिलिपकुमार सिंह सम्मानित हुनुभएको छ । प्रधानमन्त्री ओलीले नगदसहित दोसल्ला तथा सम्मापत्रले उहाँहरुलाई सम्मानित गर्नुभयो ।

चौतारीका अध्यक्ष राजेन्द्र अर्यालको सभापतित्वमा भएको कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्रविष्ट, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा, क्रान्तिकारी पत्रकारका गोविन्द आचार्य, प्रेस युनियनका उपाध्यक्ष दिपक आचार्य लगायतले पत्रकारको मुद्दाका विषयमा धारणा राख्नुभएको थियो ।

चौतारीको बन्दसत्र विहिबारबाटै शुरुभएको छ । आगामी नेतृत्वका लागि गणेश बस्नेत र माधवकुमार नेपाल अध्यक्षका लागि दावेदार हुनुहुन्छ । बस्नेतको नाममा सर्वसम्मतको प्रयास भइरहेको आयोजकले बताएको छ ।

त्यस्तै, महासचिवमा राजेश राई र गणेश पाण्डे प्रतिस्पर्धामा देखिएपनि राईको नाममा सर्वसम्मतको प्रयास भइरहेको चौतारीका उपाध्यक्ष उपेन्द्र केसीले बताउनुभयो । अधिवेशनमा देशभरबाट करिब सातसय प्रतिनिधि सहभागी रहेको चौतारीले बताएको छ ।

तपाईको प्रतिक्रिया