क्रिकेटमा धनगढीको मलजल

अविनाश चौधरी

अविनाश चौधरी

Abinash

विषय प्रवेश
अहिले नेपाली क्रिकेट संघ (क्यान) विवादमा फसेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले राजनीति भएको भन्दै क्यानलाई आफ्नो सदस्यबाट निलम्बन गरेपछि नेपाली क्रिकेटको भविष्य के हुने हो ? सर्वत्र चासोको विषय बनेको छ । र, बन्नु पनि स्वभाविक हो । यसले नेपाली क्रिकेट प्रेमीहरुलाई निराश बनाएको छ । निलम्बनमा परेसम्म क्यानले आइसीसीबाट कुनै पनि सहयोग पाउने छैन । तर, यसलाई सजायकोरुपमा मात्रै लिनु हुँदैन । आइसीसीको यस्तो कदम नेपाली क्रिकेटमा सुधार ल्याउने थप अवसर पनि हो ।

कैलालीको धनगढी क्रिकेटको उर्वरभूमी हो । यसमा, कसैको दुईमत हुन सक्दैन । पछिल्लो पटक धनगढीलाई क्रिकेटको सहर नै घोषणा गरिएको छ । यहाँ क्रिकेट गतिविधि अन्य क्षेत्रको तुलनामा बढेपछि क्रिकेटको सहरकोरुपमा चिनाइएको हो ।

विभिन्न अप्ठयारा र कठिनाईका बावजुद मुलुकको क्रिकेट प्रगतिपथमा लम्किरहेकाबेला धनगढीले त्यसमा मलजल गरिरहेको छ । क्यानको प्रत्यक्ष संलग्नता वा आयोजनमा क्रिकेट गतिविधि सुस्ताएको बेला खेलाडीले यता आफ्नो प्रतिभा तिखार्ने अवसर पाएका छन् ।
कैलालीको धनगढी क्रिकेटको उर्वरभूमी हो । यसमा, कसैको दुईमत हुन सक्दैन । पछिल्लो पटक धनगढीलाई क्रिकेटको सहर नै घोषणा गरिएको छ । यहाँ क्रिकेट गतिविधि अन्य क्षेत्रको तुलनामा बढेपछि क्रिकेटको सहरकोरुपमा चिनाइएको हो । क्रिकेटलाई लामो समयसम्म पुराना पुस्ताले मात्रै धान्न सक्दैन । खेलाडी भएरमात्रै पनि हुँदैन । नयाँ खेलाडी उत्पादन गर्न र भएका खेलाडीहरुको प्रतिभालाई तिखार्नका लागि पर्याप्त क्रिकेट प्रतियोगिता हुन आवश्यक हुन्छ । जुन कार्य विगत केहि वर्षयता धनगढीले निरन्तर गर्दै आएको छ । यहाँ भएको एसपीए कप क्रिकेट प्रतियोगिता, नेपाल प्रिमियर लिग (एनपीएल) र धनगढी क्रिकेट लिग (डीसीएल) त्यसको उदाहरण हो ।

धनगढीमा भएका यी तीन यस्ता ठूला प्रतियोगिता हुन, जुनखालको क्रिकेट प्रतियोगिता नेपालका अन्य ठाउँमा अझै हुन सकेको छैन । अझ भन्ने हो भने क्यानले समेत यस्तो खालको घरेलु प्रतियोगिता गरेको छैन । कैलालीमा क्रिकेटको इतिहास पुरानो छ । तर, १० वर्षे जनयुद्धकाकारण बीचमा गतिविधि नभएपछि सुस्ताएको थियो । धनगढीमा रहेको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) ले २०६८ सालदेखि यहाँ कलेजस्तरीय एसपीए कप क्रिकेट प्रतियोगिताको आयोजना गरेपछि सुस्ताएको क्रिकेटमा फेरि एक किसिमको क्रान्ति नै देखा प¥यो । यो प्रतियोगिता अहिले नेपालमै कलेजस्तरिय ठूलो र एक चर्चित प्रतियोगिता बनेको छ । विभिन्न कलेजले मुलुकका राम्रा–राम्रा खेलाडीलाई अनुबन्ध गरेर आफ्नो टिमबाट खेलाउँदै आएका छन् ।

विक्रमसम्वत २०७० मा नेपालमै पहिलो पटक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता पनि धनगढी र महेन्द्रनगरमा सफलतापूर्वक सम्पन्न भयो । यो प्रतियोगितामा मुलुकभरीकै सिनीयर र जुनियर खेलाडीहरुका सहभागिता थियो ।

विक्रमसम्वत २०७० मा नेपालमै पहिलो पटक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता पनि धनगढी र महेन्द्रनगरमा सफलतापूर्वक सम्पन्न भयो । यो प्रतियोगितामा मुलुकभरीकै सिनीयर र जुनियर खेलाडीहरुका सहभागिता थियो । सुरुमा क्यानले आयोजना गर्ने भनिएको एनपीएल विवादबाट भने अछुतो रहन सकेन । व्यवस्थापक जोहरा स्पोर्टस् म्यानेजमेन्ट प्रा. लि. प्रति असन्तुष्ट क्यानले प्रतियोगिताबाट हात नै झिक्यो । क्यानले हात झिकेपछि जोहरा र स्थानीय आयोजकको आयोजनामा एनपीएल सम्पन्नभयो । एनपीएल अन्तर्गत एक दिवसीय खेल सफलतापूर्वक यता सम्पन्न भएपनि काठमाण्डौंमा गर्ने भनिएको टी–२० प्रतियोगिता हुन सकेन ।

यी दुई प्रतियोगिताले धनगढीमा क्रिकेटको माहोल बन्दै क्रिकेटप्रतिको क्रेजपनि बढ्दै गयो । यहाँका स्थानीयले क्रिकेटलाई मन पराउन   थाले । त्यहि बीचमा धनगढीमा अर्को प्रतियोगिता पनि २०७० बाटै सुरु भयो । त्यो हो, धनगढी क्रिकेट लिग (डीसीएल) । हरेक वर्ष हुने यो प्रतियोगिता दोस्रो संस्करणसम्म त्यति रोचक भएन । प्रतियोगिताबारे प्रचारप्रसार त्यति हुन सकेन । तर, पछिल्लो तेस्रो संस्करण भने नेपालमै पहिलो र फरकखालको प्रतियोगिता बन्न गयो । डीसीएल–३ मा खेलाडीहरुकै किनबेच भयो । जुन भारतमा हुने आइपीएलको स्वरुपजस्तै हो । त्यहाँकोजस्तै, यहाँका टिम मालिकहरुले बढाबढ प्रक्रियामार्फत खेलाडीहरु किने । यसमा राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सिनीयर तथा स्थानीय खेलाडीहरुको मोलमोलाई भयो । यसले दुई फाईदा भएको छ । एकातिर खेल खेलेवाफत खेलाडीहरुले निश्चित पारिश्रमिक पाए भने अर्कोतिर, खेललाई व्यवसायीकरण गर्नुपर्छ भनेर मुलुकभरी नै सन्देश गयो । यसकैकारण यो प्रतियोगिताले मुलुकभरी नै व्यापक चर्चा पनि पायो ।

डीसीएल प्रतियोगिता स्थानीय धनगढी क्रिकेट एकेडेमीले आयोजना गरेपनि यसमा मुलुकभरीकै सिनीयर तथा जुनियर खेलाडीले प्रतिभा देखाउने मौका पाए । यो प्रतियोगिताबाट मुलुकको क्रिकेटलाई व्यवसायीकरण गर्नुपर्छ भन्ने सर्वत्र बहस पनि सुरुभएको छ ।
धनगढीमा भएका यी तीन प्रतियोगिताले क्रिकेटमा नयाँ अनुहार आउनका लागि प्रेरित गरेको छ । यसले खेलाडीहरुको प्रतिभामा समेत निखार ल्याउनमा सहयोग गरेको छ । धनगढीमै भएको प्रतियोगिता मार्फत यस क्षेत्रबाट भुवन कार्की, प्रेम चौधरी, राजु रिजाल, सुनिल धमला, दिपेन्द्र ऐरी, प्रदिप ऐरी, विनोद भण्डारी, नरेश बुढाऐर, प्रेम तामाङ्ग, योगेन्द्र कार्की, चन्द्र साउँद, ललितसिंह भण्डारी जस्ता खेलाडीले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा आफ्नो प्रतिभा देखाउने मौका पाएका छन् ।

सम्भावना 
धनगढीमा भइरहने क्रिकेट गतिविधिले खेलाडीहरुलाई राम्रो ‘एक्सपोजर’ दिनेछ । यस किसिमको गतिविधिले राम्रो क्रिकेटर पनि जन्माउनेछ । यहाँ भएको प्रतियोगितालाई नै टेकेर खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्नका लागि मौका पाउँछन्् । उदाहरणकैरुपमा पछिल्लो गतिविधिलाई टेकेर सुदूरपश्चिमबाट अण्डर १९ विश्वकप पाँचजनाले खेल्ने मौका पाए । एउटै क्षेत्रबाट पाँचजना खेलाडीले अन्तर्राष्ट्रिय, त्यो पनि विश्वकप प्रतियोगिता खेल्न पाउनु ठूलो उपलब्धी हो । यस्तै, १७ वर्ष मुनीका थुप्रै सम्भावना बोकेका खेलाडीहरु धनगढीबाटै उत्पादन भइरहेका छन् । यहाँको धनगढी क्रिकेट एकेडेमीले त्यस्ता खेलाडीहरु उत्पादन गरिरहेको छ । भोली गएर यी जुनियरहरु नै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सिनीयर बन्नेछन् ।

अवसर
धनगढी अब त्यस्तो सहर भइसक्यो, जहाँ क्रिकेटक्रेज कुना–कुनामा देख्न सकिन्छ । यसले यो सहरलाई क्रिकेटको केन्द्र वा ‘हब’ जे भनौं, त्यो बनाउनमा मदत गर्नेछ । त्यसैगरी, यहाँ भएका गतिविधिकै आधारमा धनगढीले अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान पाउँदैछ । यसलाई ठूलो अवसरकोरुपमा लिनुपर्दछ । २०७० मा एनपीएल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएसंगै बोराडाँडीमा रहेको फाप्ला मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट ‘स्टेडियम’ बनाउनका लागि आवाज उठेको थियो । फलस्वरुप, सरकारले समेत फाप्लालाई अन्तर्राट्रिय क्रिकेट मैदान बनाउने निर्णय गर्दै बजेट समेत दिएको छ ।

यहाँ भएको खेलकैकारण यस क्षेत्रलाई एउटा अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट मैदान मिल्दैछ । हाल फाप्लालाई अन्तर्राट्रियस्तरको क्रिकेट मैदान बनाउने काम भइरहेको छ । यसैगरी, धनगढीमा व्यवसायिकरुपमा सुरुवात गरिएको डीसीएल प्रतियोगितामा आउने वर्ष सरकारी निकायकै सहभागिता रहने सम्भावना बढेको छ । तीन वर्षसम्म धनगढी क्रिकेट एकेडेमीले आफ्नै खर्चमा आयोजना गरेको यो प्रतियोगिताका लागि आउने वर्ष सरकारी निकायले नै बजेट दिने छलफल भइरहेको छ ।

चुनौती 
स्वभाविकरुपमा धनगढीमा क्रिकेट गतिविधि बढी भइरहेका छन् । धनगढी उप–महानगरपालिकाले धनगढीलाई क्रिकेटको सहर घोषणा गरेपछि नाम पनि चलेको छ । तर पनि, अहिले हामीसामु प्रमुख चुनौती भनेकै उपयुक्त खेल मैदानको अभाव हो । क्रिकेटको सहर घोषित धनगढीमा फाप्ला मैदान नबनेसम्म क्रिकेटकै लागि भनेर एउटा पनि मैदान छैन । विभिन्न प्रतियोगिताका लागि अहिले सेती अञ्चल प्रहरीको मैदानमा निर्भर हुनुपरेको छ । प्रहरीले आफ्नो मैदान खेलका लागि दिएर अहिलेसम्म क्रिकेटमा ठूलो भलो गरेको छ । यसका लागि प्रहरीलाई धन्यवाद दिनै पर्छ । यहाँ, अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनेसंगै स्थानीय खेलका लागि पनि विभिन्न ठाउँमा क्रिकेट मैदान हुन आवश्यक छ । तब मात्रै, क्रिकेटको सहरभित्र सुनमा सुगन्ध हुनेछ ।

अन्तिममा 
धनगढी क्रिकेटको सहर बन्नु धनगढीलाई मात्रै फाइदा होइन । यसले, अरु क्षेत्रमा समेत क्रिकेट गतिविधिका लागि प्रेरणा दिएको छ । समग्रमा राष्ट्रकै क्रिकेट विकासमा सहयोग पुगेको छ । यहाँको गतिविधिले क्रिकेट खेललाई व्यवसायिक बनाउनु पर्ने सन्देश पनि दिएको छ ।
क्रिकेटको विकासमा सक्रिय धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले क्रिकेटलाई खेलकोरुपमा मात्रै नलिएर जीवन निर्वाहको ठूलो पेशाकोरुपमा विकास गर्नुपर्ने बताउँछन् । क्रिकेटलाई संस्कृतिकैरुपमा विकास गर्नुपर्नेमा उनको जोड छ । शाही भन्छन्–‘अब मान्छेले आफ्नो छोराछोरीलाई डाक्टर, इञ्जिनियर बनाउँछु भन्दापनि क्रिकेटर बनाउछु भन्ने संस्कारको विकास गर्न आवश्यक छ । त्यसकालागि क्रिकेट खेलेर पनि कमाउन सकिने माहौल बन्न आवश्यक छ ।’

उनी धनगढीको नमूनालाई मुलुकभरी नै लागूगर्न सकिएमात्रै क्रिकेट अगाडि बढ्ने औंल्याउछन् । उनले भनेजस्तै, क्रिकेटमा नेपाली खेलाडीको भविष्य सुरक्षित गर्नकालागि क्रिकेट खेल र खेलाडीलाई व्यवसायिक बनाउन अत्यन्त आवश्यक छ । खेलमा खेलाडीको भविष्य सुनिश्चित गर्न जरुरी छ । किनभने, खेलाडी टिकेमात्रै खेलयुग युगान्तरसम्म चल्ने छ ।

रतनपुर, ४ भुईयाँफाँटा, कैलाली ।

तपाईको प्रतिक्रिया