अब कक्षा १० मा एसएलसी परीक्षा नहुने, अस्थायी शिक्षकलाई गोल्डेन ह्याण्डसेक


SLC

काठमाडौं, जेठ २२ गते । व्यवस्थापिका संसदले शनिबार शिक्षा ऐन आठौं संशोधन सर्वसम्मतिले पारित गरेपछि अस्थायी शिक्षकलाई ‘गोल्डेन हृयाण्डसेक’ लिएर अवकासमा जाने बाटो खुलेको छ । साथै कक्षा १० मा हुने प्रवेशीका परीक्षा पनि अब अर्को वर्षदेखि नहुने भएको   छ ।

शिक्षा ऐनमा भएको संशोधनसँगै अस्थायी शिक्षकलाई गोल्डेन हृयाण्डसेक लिएर अवकासमा जाने बाटो खुला भएको छ । वि. सं. २०४९ सालदेखिकै अस्थायी शिक्षकहरु कार्यरत छन् र उनहिरुको संख्या १७ हजारभन्दा बढी छ ।

शिक्षा ऐनमा भएको संशोधनले अब उनीहरुलाई तीन समूहमा विभाजन गरेको छ र स्थायीका लागि हुने आन्तरिक प्रतिस्पर्धामा भाग लिने वा अवकासमा जाने विकल्प दिइएको छ ।

अहिलेसम्म ४७ वर्ष उमेर नपुगेकाहरु मात्र आन्तरिक प्रतिस्पर्धामा जाने देखिन्छ । किनकी यो पेन्सनसँग जोडिएको छ । उमेर हदका कारण अवकास पाउने बेला हुँदासम्म पेन्सन पाउने अवस्था भएमा मात्र अस्थायी शिक्षकहरुले आन्तरिक परीक्षामा भाग लिनेछन् । पेन्सन नहुने हो भने उनीहरुका लागि स्वेच्छिक अवकास उपयुक्त हुन्छ ।

शिक्षा मन्त्रालयले अहिले भएका अस्थायी शिक्षकमध्ये ४० प्रतिशत स्वेच्छिक अवकासमा जान सक्ने आंकलन गरेको छ ।

शिक्षा ऐनमा भएको आठौं संशोधनले प्रारम्भिक बाल शिक्षा देखि कक्षा आठसम्मलाई आधारभूत शिक्षा र नौदेखि कक्षा १२ सम्मलाई माध्यमिक शिक्षा भनेको छ ।

के छ गोल्डेन ह्याण्डसेकमा
अघिल्लो वर्ष सरकारले नीति तथा कार्यक्रममा नै समावेश गरेपनि कानुनको अभावमा अस्थायी शिक्षकलाई स्वेच्छिक अवकाश दिन सकेको थिएन । यो पटक ऐनमा नै व्यवस्था भयो ।

संसदले पास गरेको ऐनमा स्वेच्छिक अवकासमा जाँदा अस्थायी शिक्षकहरुलाई तीन समूह बनाएर गोल्डेन ह्याण्डसेक दिइनेछ । सेवा अवधिलाई आधार बनाएर गोल्डेन ह्याण्डसेक प्याकेज बनाइएको छ । विज्ञापनमा उम्मेदवार हुन दरखास्त दिने अन्तिम मितिसम्मको अवधिलाई गणना गरी अधिकतम सेवा अवधि बीसवर्ष मानी निजलाई सुविधा दिईनेछ ।

के के छ विधेयकमाः
१. पाँच वर्षदेखि दश वर्षसम्म सेवा गरेको शिक्षकलाई निजले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलब बराबरको रकम

२. दश वर्ष भन्दा बढी पन्ध्र वर्षसम्म सेवा गरेको शिक्षकलाई निजले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब बराबरको रकम

३. पन्ध्र वर्षभन्दा बढी सेवा गरेको शिक्षकलाई निजले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब बराबरको रकम

साथै शिक्षकको पदपूर्तिको लागि हुने खुला तर्फको पहिलो विज्ञापनमा उम्मेदवार हुन राहत शिक्षकको रुपमा कार्यरत शिक्षकलाई उमेरको हद लाग्ने छैन ।

शिक्षा ऐनमा भएको आठौं संशोधनले प्रारम्भिक बाल शिक्षा देखि कक्षा आठसम्मलाई आधारभूत शिक्षा र नौदेखि कक्षा १२ सम्मलाई माध्यमिक शिक्षा भनेको छ ।

कक्षा १० को अन्तिममा हुने प्रवेशिका परीक्षा एसएलसीको पनि अन्त्य भएको छ । १२ कक्षाको अन्तिममा मात्रै अहिलेको एसएलसीजस्तो अर्को परीक्षा हुनेछ ।  अब राष्ट्रिय परीक्षा बोर्ड हुनेछ । बोर्डले कक्षा १० र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा सञ्चालन गर्नेछ ।

तपाईको प्रतिक्रिया