आन्दोलन कमजोर पार्ने गठबन्धन बन्दैछ थारु कल्याणकारिणीसभा


SAM_4797

भानुराम थारु
अध्यक्ष, थरुहट तराई पार्टी नेपाल

थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारु अहिले संघीय गठबन्धनको आन्दोलनमा सक्रिय हुनुहुन्छ । मधेसीमोर्चा सम्मिलित दलको साझा गठबन्धनमा सो पार्टी सहभागीता जनाएको छ । एक्लाएक्लै लडेर समस्या सामधान हुने नदेखेर सामुहिक लडाईका लागि गठबन्धनसँग सहकार्य गर्ने निर्णय पार्टीले गरेको अध्यक्ष थारुले बताउँछन् । न्यूनतमरुपमा माग मुद्दा र एजेण्डा मिल्नेसँग सहकार्य गरेर निर्णायक लडाई शासक विरुद्धमा लड्नुपर्छ भन्छन् अध्यक्ष थारु । तर थारु कल्याणकारिणीसभाको नेतृत्व असपक्षमताले थारु आन्दोलन तुहिने चरणमा रहेको उनको आरोप छ । हेरौं अध्यक्ष थारुसँग गरिएको कुराकानीको सारसंक्षेप–

थारु आन्दोलन विभाजित भयो भन्ने आरोप छ, के भन्नुहुन्छ ?
हो, यो देखिएको विषय हो । केही तत्वहरुको आत्मरती र व्यक्तिगत स्वार्थका कारणले थारु आन्दोलन अहिले टुटफुटको अवस्थामा छ । थारु नेतृत्वकर्ताबीच समन्वय, सहकार्य, छलफल र संवाद नहुनु नै टुटफुटको मुख्यकारण हो । एकठाउँमा ल्याउने वातावरण अहिलेसम्म कसैले बनाइदिएको छैन, बसेर छलफल गर्दा समस्या समाधान हुन्छ भन्ने मेरो विश्वास हो । थारु कल्याणकारिणीसभा नेतृत्वविहिनताको अवस्थाले समस्या आएको हो ।
थारु कल्याणकारिणीसभा केन्द्रले के गरिदियोस् भन्ने लाग्छ ?
थारु समुदायको सामाजिक छाता संगठन हो थारु कल्याणकारिणीसभा (थाकस) । त्यहीअनुसारको नेतृत्व चाहिन्छ । नेतृत्व एकातिर समुदाय अर्कोतिर भयो भने समस्या आउँछ नै । केन्द्रीय नेतृत्वको निस्क्रियता र असक्षमता नै थारु आन्दोलन तुहाउने पक्ष बन्दैछ । थाकस सबैको साझा संस्था हो भने त्यहीअनुसारको कार्यशैली र व्यवहार देखिनुपर्छ । सबैसँग छलफल र संवाद गर्न सक्नुपर्छ । समस्या उठाउनेतिर भन्दा समाधानतिर जानुपर्छ । समस्या समाधानको बदलामा कार्यकर्ता र नेताहरुलाई विभिन्न बहानामा कारवाही र निष्काशन गरेर थप जटिलता थप्नेकाम थाकसले गरिरहेको छ ।

SAM_4784
थारु आन्दोलन अघि बढ्न नसक्नुको प्रमुख कारण के हो ?
हाम्रो थरुहट तराई पार्टी नेपाल एउटा राजनीतिक दल हो । थारु हकहित र सत्ताका लागि आन्दोलन गर्छ । हाम्रो पार्टीले आन्दोलन ग¥यो भनेर मलाई र पार्टीका सचिवलाई संयुक्त संघर्ष समितिबाट निष्काशन गर्ने र कारवाही गर्ने निर्णय गरेर समस्या थप बल्झाउने काम भएको छ । यो पाराले समस्या समाधान हुँदैन । हामी एकता र सहकार्य चाहिरहेका छौं, थाकसका नेतृत्व भाग्न खोजिरहेको छ । आन्दोलनको उठान गर्न छाडि निस्क्रिय र तुहाउने काम थाकस नेतृत्वले गरिरहेको छ ।
थारु आन्दोलन तुहिनुको अर्कोकारण माओवादी केन्द्रका थारु भातृसंगठन थारु मुक्ति मोर्चा पछाडि फर्किनु, आन्दोलनबाट हात झिक्नु र अर्को कारण विजयकुमार गच्छदार नेतृत्वको फोरम (लोकतान्त्रिक) का थारु नेताहरु सरकारमा जानु । सरकारमा गएर आन्दोलन तुहाउने काम गच्छदारको पार्टीले ग¥यो । बाँकी अन्य कारण पछिल्लो पटक देखिएको टुटफुटको विषयले आन्दोलन कमजोर पर्दैछ ।
भानुराम र मिनराज चौधरीलाई थाकसले कारवाही गर्नुको मुख्य कारण के हो ?
केही कारण छैन । हामी थारु आन्दोलनमा लाग्यौं, संघीय गठबन्धनसँग सहकार्य गरेर अगाडि बढ्यौं भनेर कारवाही गरेको भनेको छ । अन्य कारण के हो, कारवाही गर्नेलाई थाहा होला । हामी थारु हकहितका लागि आन्दोलन गरिरहेका छौं, के बिगार ग¥यौं ? आन्दोलन गर्न पनि नसक्ने र गरेको पनि देख्न नसक्ने कुत्सित मनसायका व्यक्तिको गलत हर्कत् हो यो । यसले थारु आन्दोलनलाई बढाउने हैन, झन कमजोर पार्छ ।
वार्ता समितिमा तपाईको पार्टीका सदस्य परेनन् भनेर रिस लागेको त हैन ?
त्यस्तो हैन । हामीलाई वार्ता समितिमा बस्न रहर पनि छैन । समस्या समाधान गर्नेगरी बनेको यो वार्ता समिति नै हैन । नेताको चाकडी गर्न र थारु आन्दोलन तुहाउने उद्देश्य लिएर वार्ता समिति गठन भएको छ । पाँच सदस्यीय वार्ता समितिमा धनीराम, रुक्मिणी, किशोर विश्वास, राजकुमार लेखी र रमेश चौधरी वार्ता समितिमा छन् भनेर सुनेको छु । यीनिहरु आन्दोलन गर्ने व्यक्ति नै हैनन, सत्ता र अवसरका लागि चाकडी गर्ने व्यक्तिहरु हुन् ।
धनीरामलाई मात्र लक्षित गरेर गर्ने वार्ताको के अर्थ ? धनीरामको मुद्दा खारेज गर्ने तर १२३ जना विरुद्ध लागेको मुद्दा खारेज किन नगर्ने ? वार्ता समितिको दुईबुँदे मागमा त्यही देखियो । यो वार्ताटोली थारु आन्दोलन कमजोर पार्ने गठबन्धन मात्र हो, बाँकी केही हैन । यिनीहरुबाट समस्या समाधान हुनै सक्दैन । वार्ता पनि गर्न सक्दैनन् र गरिहालेमा त्यो सहमति थरुहटमा कार्यान्वयन हुँदैन ।
स्थानीय थारु नेताहरु धनगढी कारागारमा छन्, रिहाइको पहल के गर्नुभएको छ ?
यो नितान्त राजनीतिक मुद्दा हो । थारु आन्दोलनका क्रममा झुठा मुद्दा लगाएर फँसाइएकाहरु अहिले कारागारमा हुनुहुन्छ । उहाँहरुको रिहाइको उचित विकल्प भनेकै थारु आन्दोलनको उचाई हो । आन्दोलनके बलमा रिहाई गर्न सकिन्छ । तर दुर्भाग्य, टीकापुर घटनापछि थारु आन्दोलन निस्क्रिय भएको छ । कानूनी तवरबाट पहल भइरहेको छ, तर यो समाधान होइन । सरकारसँग पनि औपचारिक अनौपचारिक पहल भएको छ । त्यसैले म भन्छु, थारु आन्दोलनलाई एक भएर उचाइमा लगौं र साथीहरुलाई रिहाइ गराउँ । यही नै उपयुक्त विकल्प हो । हाम्रो दल निरन्तर लागेको छ रिहाइका लागि ।
थरुहट संघर्ष समितिले असार २३ गतेसम्म आन्दोलन घोषणा गरेको छ, तपाईको पार्टीको सहयोग रहन्छ कि रहँदैन ?
हामीसँग छलफल र सहकार्य गरेर घोषणा गरेको आन्दोलन नै हैन यो । आन्दोलनमा हाम्रो सहकार्य र सहयोग रहँदैन । नैतिकरुपमा समर्थन गरौंला तर सहभागिता जनाउँदैनौं । हामी गठबन्धनमा सरिक भएका छौं । आन्दोलनमा दोहोरो चरित्र देखाउँदैनौं ।
थारु नेताबीच नेतृत्व तहमा तपाईहरुको समन्वय नभएको कति भयो ?
हाम्रो फोन थाकसका नेतृत्वकर्ताले उठाउँदैनन् । महिना दिन भयो कसैसँग समन्वय र छलफल भएको छैन । मोर्चा फरक फरक प¥यो, त्यसैले पनि समन्वय र सहाकार्य हुन नसकेको होला । एक ठाउँमा ल्याउने वातावरण निर्माण भए सहकार्य हुनसक्ला । मैले धनीराम, लेखी, किशोर विश्वास र रुक्मिणीलाई फोन गरेको छु, तर फोन उठ्दैन ।
थारु आन्दोलनको निकास के हो अब ?
सरकारले विगतमा हामीसँग धेरै सहमति र सम्झौता गरेको छ । ती सम्झौताको अक्षरशः कार्यान्वयन सरकारले गर्नुपर्छ । थारुको मात्र माग पूरा गरेर समस्या समाधान हुँदैन । मधेसी, दलित, महिला, आदिबासी जनजाति, अल्पसंख्यक जति समुदायसँग सरकारले सहमति गरेको छ, ती सबैको कार्यान्वयन हुनुपर्छ । वार्ता गर्ने, सहमति सम्झौता गर्दैजाने तर कार्यान्वयन गर्दै नगर्नु समस्याको सामधान होइन । आन्दोलन तुहाउने लक्ष्यलिएर मात्र सरकारले वार्ताको नौटंकी गर्छ । माग मुद्दा सम्बोधन गर्नेतिर ध्यान दिएकै छैन । थारु एकता र सहकार्य नै समस्याको समाधान हो ।
थारु एकताको वातावरण कसरी बन्छ ?
थाकसले कमी कमजोरी सुधार्नुपर्छ । कारवाही प्रक्रियालाई फिर्ता लिनुपर्छ । नेतृत्वतहलाई सक्रिय र सक्षम बनाउनुपर्छ । थाकस कुनै व्यक्तिको स्वार्थमा लिप्त छ । समग्र थारुलाई नेतृत्व दिन सकेको छैन । नेतृत्वकर्ताहरु सच्चिनुपर्छ । व्यक्तिगत स्वार्थ त्यागेर थारु समुदायको स्वार्थ बोक्नुपर्छ । सबै थारुलाई एक ठाउँमा ल्याउने वातावरण बनाउनुपर्छ । त्यस्तो आचरण व्यवहार देखाएमा थारु एकता सम्भव छ ।

प्रस्तुतीः लक्की चौधरी

तपाईको प्रतिक्रिया