थारु नेतालाई एकठाउँमा ल्याउने मध्यस्थकर्ताको खोजी ! (टिप्पणी)


SAM_6730

काठमाडौं, असार १० गते । थारु कल्याणकारिणीसभा र थरुहट तराई पार्टी नेपालमा आवद्ध थारु नेताहरुबीचको तिक्तताले गम्भीर रुप लिन थालेपछि दुवै पक्षका थारु नेताहरुलाई एक ठाउँमा ल्याउने मध्यस्थकर्ताको खोजी हुन थालेको छ ।

भदौ ७ को टीकापुर घटनापछि थारु नेताहरुबीचको दूरी बढ्न थालेपछि सबै नेतालाई एक ठाउँमा र थारुको माग मुद्दामा एकमत बनाउनेगरी पहल गर्नेखालको मध्यस्थकर्ताको खोजी दुवै पक्षका नेताहरुले गर्न थालेका छन् । ‘एक्लाएक्लै हिडेर कहिं पुग्न सकिन्न’ भन्ने सबै नेतालाई प्रायः जानकारी छ, तर व्यक्तिगत र समूहगत स्वार्थका कारण पछिल्लो समय दुवै पक्षका नेताहरुबीच आरोप प्रत्यारोप हुनेगरेको छ ।

थारु समुदायको मागमुद्दालाई सम्बोधन गराउन र टीकापुर घटनामा पक्राउ परेकाहरुको रिहाईका लागि सामुहिक लडाईको विकल्प छैन भनेर भाषण सबैले गर्छन् । तर एक ठाउँमा आउने कसरी हो भन्ने मेसो पाउँदैनन् । करिब धरमरमा रहेको थारु आन्दोलनलाई पुनः सक्रिय बनाउन थारु नेताको एकता र एउटै स्वार्थ हुनु अनिवार्य छ । तर त्यसकालागि पहल कसले गर्ने भन्ने अन्यौल दुवै पक्षका नेताहरुमा देखिन्छ ।

करिब धरमरमा रहेको थारु आन्दोलनलाई पुनः सक्रिय बनाउन थारु नेताको एकता र एउटै स्वार्थ हुनु अनिवार्य छ । तर त्यसकालागि पहल कसले गर्ने भन्ने अन्यौल दुवै पक्षका नेताहरुमा देखिन्छ ।

थारु कल्याणकारिणीसभाका पूर्व महामन्त्री राजकुमार लेखीले आफूहरु सामुहिक लडाईको पक्षमा रहेको तर थरुहट पक्षकाले आरोप प्रत्यारोपमा उत्रेपछि एकताको वातावरण बिग्रेको बताउनुहुन्छ । थाकस सामाजिक संस्था हो, यसमा कांग्रेस, एमाले, माओवादी, मधेसी, थरुहट सबै पक्षका नेता र कार्यकर्ता अटाएका छन् भन्दै लेखीले सामुहिक नेतृत्वका लागि आफूहरु तयार रहेको तर्क गर्नुहुन्छ ।

“एकोहोरो गाली गरेर कसैको भलाई हुँदैन, कुरा मीठो र ठूलो गर्ने तर कार्यशैली र व्यवहार ठीक उल्टो गर्ने प्रबृत्तिले समस्या पारेको हो” लेखी भन्नुहुन्छ “थरुहट तराई पार्टीका नेताहरुको भनाई र गराईमा एकरुपता आउनुपर्छ ।” भानुराम र मिनराज थारुलाई थाकसले निस्कासन गर्नुको पछाडि कारण त होला नि, त्यतिकै कोही किन कारवाही गर्छ उहाँले तर्क गर्नुभयो । थारु एकताका लागि पहल भएमा आफू जहिले जहाँसुकै आएर छलफल गर्न तयार रहेको बताउनुभयो ।

यता थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारुले थारु कल्याणकारिणीसभा सामाजिक संस्था भएपनि राजनीतिक दलको जस्तो व्यवहार र कार्यशैली देखाएको आरोप लगाउनुहुन्छ । “सामाजिक संस्था हो भने सामाजिक काममा भूमिका खेल्नुपर्छ, दलीय चरित्र देखाउनु हुँदैन” अध्यक्ष थारुले भन्नुभयो “थारु कल्याणकारिणीसभा अहिले सबै थारुको छाता संगठन बन्न सकेको छैन, केही व्यक्तिको व्यक्तिगत स्वार्थले थाकस थारु आन्दोलन तुहाउने गठबन्धन बन्दैछ ।”

थारु नेताबीचको कार्यगत एकता र सहकार्यका लागि आफ्नो दल जहिले तयार रहेको बताउँदै अध्यक्ष थारुले थारु आन्दोलनलाई कसैको निजी व्यक्तिगत स्वार्थपूर्ति गर्नका लागि दुरुपयोग गर्न नहुने तर्क गर्नुभयो । थाकसले छलफल र सहकार्यकालागि बोलाएमा आफू जहिले तयार रहेको उहाँले बताउनुभयो ।

थरुहट तराई पार्टीका वरिष्ठ नेता गोपाल दहितले पनि थारुको आन्दोलन तुहिनुमा थारुबीचको आपसी तिक्तता र स्वार्थ रहेको बताउनुहुन्छ । केही थारु नेताले थारु कल्याणकारिणीसभालाई निजी स्वार्थकालागि दुरुपयोग गर्नमा लागेको उहाँको आरोप छ । थरुहट तराई पार्टी जहिले थारुको हकहित र सवालमा वकालत र अभियान शुरु गर्दैआएको तर अरुले रिस पोख्ने गरेको बुझाई उहाँको छ । थारुलाई मिलाउने मध्यस्थकर्ताको आवश्यकता उहाँले पनि औल्याउनु भयो ।

थारु नेताबीच देखिएका कमी कमजोरीलाई समयमै संवादको माध्यमबाट सल्टाएर अघि बढ्नसके मात्र थारुको माग मुद्दा सरकारले पनि सम्बोधन गर्नमा चासो राख्ने छ । अन्यथा ‘रातदिन करायो, दक्षिणा हरायो’ मात्र हुनेछ ।

यता थारु कल्याणकारिणीसभाका उपाध्यक्ष प्रेमीलाल चौधरीले आफूहरु कसैलाई निषेध नगरेको र मिलेरै थारु आन्दोलन उठाउने पक्षमा सधैं रहेको तर्क गर्नुहुन्छ । “थारुहरु एक भएका बेला र नभएका बेलाको अनुभूति हामीलाई राम्रोसँग छ, त्यसैले विचारमा जो जहाँ भएपनि मूलभूत मुद्दामा एक ठाउँमा आउनैपर्छ” चौधरीले भन्नुभयो ।

थारुबीचको दूरी बढाउनेकाम कसैले गर्नु हुँदैन, समस्या छन् भने एक ठाउँमा बसेर समाधान खोजौं उपाध्यक्ष चौधरीको भनाई छ “त्यसकालागि कोही मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न कोही अगाडि बढ्नुपर्छ ।”

थारु कल्याणकारिणीसभा अन्तर्गत गठित थरुहट थारुवान संयुक्त संघर्ष समितिले असार २३ गतेसम्म दवावमूलक कार्यक्रमको आयोजना गरेको छ । त्यसमा कालोपट्टि बाँध्ने, झण्डा गाड्ने देखि सांकेतिक दवावका लागि लालटिन बाल्नेसम्मका कार्यक्रम छन् । तर त्यसको प्रभावकारीता देखिएको छैन । समितिले आइतबार नयाँ बानेश्वरमा सांकेतिकरुपमा विरोधको कार्यक्रम गर्ने जनाएको छ । तर अहिलेसम्म घोषित कार्यक्रममा थारुको उल्लेख्य सहभागिता देखिएको छैन ।

यस्तो अवस्थामा संघर्ष समितिको कार्यक्रममा थरुहट तराई पक्षका नेताहरुको समर्थन र सहयोग नरहनु र थरुहट तराई पार्टीको कार्यक्रम र गठबन्धनको कार्यक्रममा संघर्ष समितिको समर्थन र सहयोग नहुने हो भने थारुबीचको फाटो जहिले यथावतै रहने छ । थारु नेताबीच देखिएका कमी कमजोरीलाई समयमै संवादको माध्यमबाट सल्टाएर अघि बढ्नसके मात्र थारुको माग मुद्दा सरकारले पनि सम्बोधन गर्नमा चासो राख्ने छ । अन्यथा ‘रातदिन करायो, दक्षिणा हरायो’ मात्र हुनेछ ।

तपाईको प्रतिक्रिया