सरोकार मञ्चले सुदूरपश्चिमको विकासमा सामुहिक प्रयास गर्ने


SAM_4967

काठमाडौं, असार १८ गते । सुदूरपश्चिमको सर्वाङ्गिण विकास गर्ने लक्ष्य लिएर दशवर्ष अघि स्थापित सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले त्यहाँको विकासका लागि सामुहिक प्रयास गर्ने भएको छ ।

मञ्चले शनिबार यहाँ गरेको नवनिर्वाचित पदाधिकारी तथा सदस्यको स्वागत तथा निवर्तमान पदाधिकारी तथा सदस्यहरुको विदाई कार्यक्रममा वक्ताहरुले त्यस्तो बताउनुभएको हो । सुदूरपश्चिमको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक अन्य विकास गर्ने उद्देश्यसाथ २०६३ सालमा मञ्चको गठन भएको थियो ।

SAM_4996

सुदूरपश्चिममा घर भई उपत्यकामा बसोबास गर्दैआउनुभएका समाजसेवीहरुको मञ्चमा प्रतिनिधित्व रहेको छ । कार्यक्रममा बोल्दै मञ्चका संस्थापक अध्यक्ष तथा पूर्व प्रहरी महानिरिक्षक मोतीलाल बोहराले सुदूरपश्चिमको विकासका लागि त्यहाँबाट काठमाडौंमा आई काम गर्नेहरुको सामुहिक प्रयास र लगनशीलताले विकास सम्भव रहेको बताउनुभयो ।

सुदूरपश्चिमा अथाह प्राकृतिक स्रोतसाधन भएपनि त्यसको सही सदुपयोग हुन नसक्दा विकास नभएको बताउँदै उहाँले त्यसकालागि मञ्चको तर्फबाट सामुहिक प्रयास गर्नुपर्ने सुझाव दिनुभयो ।

मञ्चका पूर्व अध्यक्ष डा. बी.डी. चटौतले सुदूरपश्चिम नै हाम्रो पहिचान र गौरव भएकाले त्यहाँको विकासमा मञ्चमार्फत् सामुहिक प्रयासको खाँचो औल्याउनुभयो । त्यहाँको विकासमा सुदूरपश्चिमका सबै नागरिकको साझा सहयोग र प्रयास गर्न आवश्यक रहेको उहाँले सुझाव दिनुभयो ।

SAM_4975

कार्यक्रममा मञ्चका अध्यक्ष विष्णुप्रसाद खत्रीले सुदूरपश्चिम देशको केन्द्रबाट निकै टाढा रहेकाले नै विकासमा पछि परेको बताउँदै तुलनात्मकरुपमा पहिलेभन्दा अहिले धेरै विकास भइसकेको बताउनुभयो । सडक यातायातमा सुदूरपश्चिममा केही विकास भएपनि अन्य क्षेत्रमा अझै पिछडिएको बताउनुभयो । उहाँले १७ दिन लगाएर काठमाडौंमा जाँचदिन आएको स्मरण गर्दै ढिला भएपनि विकास भइरहेको बताउनुभयो ।

मञ्चका महासचिव डा. ठाकुरमोहन श्रेष्ठले कामविशेषले उपत्यकामा बासोबास गर्ने सबै सुदूरपश्चिमेलीको सामुहिक एकता, प्रयास र लगनशीलताले सुदूरपश्चिमको विकास गर्न समस्या नरहेको बताउनुभयो । व्यक्तिगत स्वार्थभन्दा सुदूरपश्चिमको स्वार्थमा केन्द्रीत हुन उहाँले सबैमा आग्रह गर्नुभयो ।

मञ्चको संस्थापक अध्यक्ष मोतीलाल बोहराको संयोजकत्वमा ११ सदस्यीय सुदूरपश्चिमाञ्चल भवन निर्माण प्रारुप समिति पनि शनिबार गठन गरेको छ । जसमा नेपाल सरकारको पूर्व सचिव श्रीमान श्रेष्ठ, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कीर्तिचन्द ठाकुर, स्वास्थ्य विभागका पूर्व महानिर्देशक डा.वि.डी चटौत, सरकारका पूर्व सचिव महेन्द्रप्रसाद श्रेष्ठ, पूर्व डिआइजी भुवनचन्द्र भट्ट, श्रीमती राजराजेश्वरी, पूर्व प्रहरी नायव उपरिक्षक सुरतबहादुर शाह, मञ्चको महासचिव (सदस्य सचिव) डा. ठाकुर मोहन श्रेष्ठ, पत्रकार लक्की चौधरी, पुष्प भट्ट सदस्य हुनुहुन्छ ।

कार्यक्रममा मञ्चको पूर्व कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको विदाई गरिएको थियो । मञ्चका अध्यक्ष तथा सरकारका पूर्व सचिव विष्णुप्रसाद खत्रीले उहाँहरुलाई पुष्पगच्छा र मायाको चिनोसहित विदाई गर्नुभयो । त्यस्तै, मञ्चले नवनिर्वाचित सदस्यहरुलाई स्वागत गरेको छ । मञ्चमा वरिष्ठ कालाकार मिथिला शर्मा पनि सदस्य मनोनित हुनुभएको छ ।

SAM_4998

तपाईको प्रतिक्रिया