विद्यालय जानभन्दा खोलामा बग्न रुचाउँछन मुसहर बालबालिका


Musahar 2

अविनाश चौधरी
अमलटारी, असार १८ गते । बाह्र वर्षीय साहुल मुसहर शेरगञ्जमा रहेको श्री चण्डेश्वरी माविमा पढछन् । चार कक्षामा अध्ययनरत उनको पढाईमा रुचि भने त्यति छैन । जेठ अन्तिम साता विद्यालय सञ्चालन भइरहेको बेला उनी नजिकै रहेको वाण खोलामा ‘डाइभ’ हान्दै थिए ।

साहुलसंगै सोही विद्यालयमा अध्ययनरत उनका दौतरीहरु पनि खोलाको धमिलो पानीमा रमाउँदै भेटिए । उनीहरु खोलामा हामफाल्ने, दुईजना केटाहरु मिलेर एकजना केटीलाई समातेर पानीमा फाल्ने जस्ता गतिविधिहरु दोहो¥याउँदै थिए । चण्डेश्वरीमै कक्षा चारमा अध्ययनरत मालतीले भनिन्–‘खोलामा खेल्नु हाम्रो दैनिकी हो ।’

शेरगञ्जमा रहेको मुसहर बस्तीका यी बालबालिका प्रतिनिधि पात्र मात्रै हुन । तर, नवलपरासीको कावासोती नगरपालिकास्थित वाणखोला आसपास बसोबास गर्ने सीमान्तकृत मुसहर समुदायका अधिकांश बालबालिकाहरु विद्यालय भन्दा पनि खोलासंग मितेरी गाँस्नमा ललायित छन् । उनीहरुको महत्वपूर्ण समय खेल्नमै बितिरहेको छ । ज्ञान आर्जन गर्नेबेलाको सुन्दर बालापन खोलामा बगिरहेको छ ।

माछा मारेर गुजारा गर्ने मुसहर समुदायका ती बालबालिकाहरु पढाईभन्दा पनि खोलामा केन्द्रित देखिन्छन् । उनीहरुले खोलामा रमाउने सक्ने वातावरण अभिभावकले नै बनाई दिएको सहजै अनुमान गर्न सकिन्छ ।

खोलामा गोता लगाउँदै गरेका साहुलले घरमा अन्य काम नहुँदा खोला पुग्ने गरेको बताए । ‘विद्यालय किन नगएको ?’ समाचारदाताको प्रश्नमा सजिलै उनले भने–‘घरमा अभिभाव छैनन् । घर कुर्नु पर्छ । मौका पारेर साथीहरुसंग नुहाउन आएको ।’

साहुलसंगै खोलामा भेटिएका प्रायः सबै बालबालिकाहरु विद्यालय भर्ना भएका छन् । तर, विद्यालय सञ्चालन भइरहेका बेला उनीहरु खोलासंग मितेरी गाँस्दै थिए । कक्षा पाँचमा अध्ययनरत सोनियाले भनिन्–‘अरु बेला विद्यालय जान्छौ । आजमात्रै विद्यालय नगएर नुहाउन आएका   हौं ।’ बलापनमा गरिने बहानाबाजी उनको भनाइबाट प्रष्ट हुन्थ्यौं ।

नदीमा माछा मार्न सिक्ने, माटीकोरे (किङ्गफिसर) चराको बच्चा निकाल्ने मुसहर बालबालिकाको दैनिकी नै हो । उनीहरु विद्यालयपछिको अधिकांश समय खोलामा खेल्दै बिताउने गर्दछन् । १० वर्षीय राजेशले भने–‘नजिक खोला भएकाले हामीले खेल्न पाएका छौं ।’

Mushar Balbalika 2

खोलामा जाल हाल्न सिक्दै गरेका बालकलाई देखेर स्थानीय प्रेम चौधरीले भने–‘हिजो यिनीहरुका अभिभावक पनि आफ्नो बालापन यसरी नै खोलामा बिताए । आज विद्यालय जाने बालबालिका पनि त्यहि सिक्दैछन् । भोली गएर माछामार्ने काम यिनीहरुको मुख्य पेशा नहुनेमा दुईमत छैन ।’ पछाडि परेको मुसहर समुदाय आफ्ना बालबालिकाको भविष्यप्रति चिन्तित हुन नसकेको चौधरीको भनाइ थियो ।

मुसहर समुदायका पुरुषहरु प्रायः समय वाणखोला र नारायणी नदीमा बिताउने गरेका छन् । उनीहरुको जिविकोपार्जनको मुख्य स्रोत माछा हो ।

उनले अनुसार मुसहर समुदायका पुरुषहरु प्रायः समय वाणखोला र नारायणी नदीमा बिताउने गरेका छन् । उनीहरुको जिविकोपार्जनको मुख्य स्रोत माछा हो । खोला, नदीबाट मारेर ल्याएको माछा स्थानीयस्तरमै बिक्री वितरण गर्नेगरेका छन् । अमलटारीमा होमस्टे सञ्चालन भएपछि मारेका माछा खपत गर्न सहज भएको बताइएको छ ।

शेरगञ्जस्थित मुसहर बस्तीमा पुग्दा एकजना पनि पुरुषहरु भेटिएनन् । केहि पुरुषहरु आफ्नै समुदायको सम्मेलनमा भाग लिन र गाउँमा भएकाहरु माछा मार्न गएको स्वयम् बालबालिकाहरुले सुनाए । बस्तीमा भेटिएका महिलाहरुले बोल्न चाहेनन् ।

श्री चण्डेश्वरी माध्यमिक विद्यालयका शिक्षक जितनारायण थनेतले यो विद्यालयमा करिब ३०÷३५ जना मुसहर बालबालिकाहरु अध्ययनरत रहेको जानकारी दिए । शैक्षिकसत्रको सुरुवातमा सङ्घसंस्थाहरुका सहयोगमा विद्यालय भर्ना भएपनि, पछि ती बालबालिकाहरु विद्यालय नआई घरमै खेल्ने प्रवृति रहेको उनको भनाइ छ ।

‘विद्यालय भर्ना भएपनि उनीहरु पढ्न रुचाउँदैनन्’, शिक्षक थनेतले भने–‘शैक्षिक सुरुवातमा विद्यालय आएजस्तो गर्छन् । पछि फेरी घरमै खेल्छन् ।’ मुसहर समुदायका बालबालिकाहरुको अभिभावकहरुलाई बोलाएर यसबारे पटक–पटक छलफल चलाउँदा समेत समस्याको समाधान हुन नसकेको उनको भनाइ छ । आफ्नो नानीबाबुहरुको भविष्यप्रति अभिभावकहरु सम्वेदनशील नदेखिएको शिक्षक थनेतले  बताए ।

उक्त समुदायको बालबालिकाहरु दिनहुँ खोला पुग्दा उनीहरुको पढाई राम्रो हुन सकेको छैन । खोलामा खेल्दा विभिन्न खतरा समेत रहेको छ । खोलासंगै जोडिएको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा बाघ, गैडा जस्ता वन्यजन्तु समेत रहेकाले बालबालिकाहरुलाई वन्यजन्तुबाट पनि जोखिम छ ।

तपाईको प्रतिक्रिया