काठमाडौंमै अब केबुलकार, आन्तरिक बाह्य पर्यटक बढ्ने अनुमान


chandragiri

काठमाडौँ, असार २६ गते । वार्षिक पाँचलाख पर्यटकलाई केबुलकारबाट चन्द्रागिरीको चुचुरोमा लैजाने उद्देश्य साथ सुरुभएको थानकोट–चन्द्रागिरी केबुलकारको निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माणको प्रमुख कामहरू सकिएर हाल फिनिसिङको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

तीन अर्ब २५ करोड रुपियाँ लगानीमा निर्माण भइरहेको यो केबुलकार अब छिटै सर्वसाधारणका लागि खुला गरिने चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्र ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार केबुलकारको बटम स्टेशन थानकोटबाट साढे दुई किलोमिटरको दूरीमा ११ वटा टावर राखिएका छन् भने सो दूरी पार गर्न १० मिनेट मात्र समय लाग्नेछ ।

केबुलकारले प्रत्येक घण्टा एक हजार यात्रु बोक्ने छ । ३८ वटा ग्वान्डला (डब्बा) छन् भने प्रत्येक डब्बामा आठ जनासम्म चढ्न सकिने छ । सामान ढुवानीका लागि थप डब्बाहरूको पनि व्यवस्था गरिएको छ ।

केबुलकारको निर्माणसँगै चन्द्रागिरीलाई पर्यटकीय स्थलकारूपमा अझ विकास गर्ने परियोजनाहरू पनि सँगसँगै सञ्चालन भएका छन् । चन्द्रागिरीमा पुगिसकेपछि सुविधा सम्पन्न रिसोर्ट, होटलहरू, भालेश्वर महादेवको मन्दिरको पुनःनिर्माणलगायतका काम भएका छन् । केबुलकारको बटम स्टेशन थानकोटमा फनपार्कहरू पनि निर्माण गरिँदै छ।

झण्डै दुई वर्षअघि निर्माण थालिएको केबुलकारका लागि थानकोटमा कम्पनीको एकसय रोपनी जग्गामा विभिन्न संरचना निर्माण गरिएका छन् भने चन्द्रागिरीमा ७२० रोपनी जमिन सरकारसँग भाडामा लिइएको छ ।

झण्डै दुई वर्षअघि निर्माण थालिएको केबुलकारका लागि थानकोटमा कम्पनीको एकसय रोपनी जग्गामा विभिन्न संरचना निर्माण गरिएका छन् भने चन्द्रागिरीमा ७२० रोपनी जमिन सरकारसँग भाडामा लिइएको छ ।

अध्यक्ष ढकालले केबुलकारमा यात्रुको सुरक्षाका लागि टावर र डब्बाको निगरानी कम्प्युटरबाट गरिने र यात्रुको सुरक्षा नै आफूहरूको पहिलो प्राथमिकतामा रहने बताउनुभयो ।

चन्द्रागिरी चुचुरोबाट काठमाडौँ उपत्यका, तराई र हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिने छ । प्रत्येक यात्रुको करिब सात सय रुपियाँसम्म पर्न सक्ने प्रारम्भिक अनुमान छ । कम्पनीले करिब पाँच सय जनालाई रोजगारी दिने पनि बताएको छ ।

चन्द्रागिरीले धार्मिकलगायत विभिन्न पर्यटकहरू पनि समेट्ने बताइएको छ । अध्यक्ष ढकाल भन्नुहुन्छ– ‘‘काठमाडौँ साँघुरिएको छ, ४०, ५० लाख मान्छे बस्छन्, यसो बिदाको बेलामा कहीँ कतै घुम्न जाने स्थानको अभाव छ, स्वच्छ र रमाइलो वातावरण भएका ठाउँहरूको अभाव छ, त्यसैले सबै उमेर समूहका लागि यो ठाउँ उपयुक्त छ, निर्विकल्प ठाउँ हुनेछ’ ।

उहाँका अनुसार चन्द्रागिरी ऐतिहासिक ठाउँ भएकाले पनि एक पटक जो कोही पनि पुग्न चाहान्छन् । बालबालिकाका लागि फनपार्कदेखि होटल, रिसोर्ट, रेष्टुरेण्ट, पार्कलगायतका संरचनाहरूको पनि निर्माण भएका छन् । चन्द्रागीरी समुद्र सतहबाट दुई हजार ५४० मिटर उचाइमा छ ।

तपाईको प्रतिक्रिया