समस्याको विधिपूर्वक सामना गर्छु, राजीनामा दिन्नः प्रधानमन्त्री ओली


KP-Oli-Samsad-ma

काठमाडौं, असार ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको करकापमा सहीछाप गरेर राजीनामा नदिने बताउनुभएको छ । मुलुकको सामु आइपरेको सबै समस्याको आफूले सामना गर्ने चुनौति उहाँले कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई दिनुभएको छ ।

एमाले संसदीयदलको विहबार नयाँ बानेश्वरस्थित संसदभवनमा बसेको बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो चुनौति दिनुभएको   हो । “आर्थिक विधेयक बजेट पारित नभएपनि मूलुक एक घण्टा पनि रुक्दैन, काम अगाडि बढ्छ, सबैले हेक्का राखे हुन्छ” उहाँले भन्नुभयो ।
सरकारले, नेकपा (एमाले) ले मुलुकप्रति कुनै बेइमानी र छलछाम नगरेकाले परिस्थितिको डटेर सामना गर्ने भन्दै उहाँले थप्नुुभयो, “तपाईहरु जति सक्नुहुन्छ राम्रो तयारी गर्नुस्, हामी त्यसको जस्तोसुकै सामना संवैधानिक हिसावले गर्छौं ।” उहाँले आफ्ना सांसदहरुलाई कुनै अर्थमा हैरान नहुन सो अवसरमा आग्रह गर्नुभयो ।

बैठकबारे जानकारी दिनुहुँदै प्रमुख सचेतक भानुभक्त ढकालले पछिल्लो विकसित घटनाका विषयमा प्रधानमन्त्री ओलीले सांसदहरुलाई जानकारी गराउनुभएको बताउनुभयो । “यो परिस्थितिको उच्च मनोबलकासाथ दृढतापूर्वक सामना गर्छौ, अरुको व्याट्रीबाट सञ्चालितमात्र यो मुलुकमा छैनन, हामी पनि छौंं” प्रधानमन्त्री ओलीले भन्नुभएको ढकालले जानकारी दिनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अहिले अरुको व्याट्रीबाट परिचालित भएको र त्यो व्याट्रीको चार्ज केही दिनमै सकिने विश्वास प्रधानमन्त्री ओलीले सांसदहरुलाई दिलाउनुभयो । विद्यमान राजनीतिक परिस्थितिको सामना संवैधानिक तवरले विधि र प्रक्रिया पु¥याएर गरिने उहाँले बताउनुभयो । त्यसकालागि उहाँले पार्टीलाई एकतावद्ध भएर राष्ट्रियताको पक्षमा उभिन निर्देश गर्नुभयो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अहिले अरुको व्याट्रीबाट परिचालित भएको र त्यो व्याट्रीको चार्ज केही दिनमै सकिने विश्वास प्रधानमन्त्री ओलीले सांसदहरुलाई दिलाउनुभयो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाह्य शक्तिको आडमा चरम बेइमानी र धोका दिएको आरोप प्रधानमन्त्री ओलीले लगाउनु भयो । माओवादीसँग गरिएको सबै सहमति र सम्झौताको कार्यान्वयन एमालेले इमान्दारितापूर्वक गर्दासमेत प्रचण्डले एमालेलाई धोका दिएको उहाँले आरोप लगाउनुभयो ।

पार्टी सचिव भीमप्रसाद आचार्यले सबै परिस्थितिको सामना गरेर अगाडि बढ्ने धारणा बैठकमा प्रधानमन्त्रीले राख्नुभएको बताउनुभयो । संविधानले नयाँ सरकार बनाउने कुनै स्पष्ट प्रावधान नराखेकाले त्यसको अध्ययन विश्लेषण, नियम र विधिअनुसार अगाडि बढ्ने कुरा भएको बताउँदै सचिव आचार्यले गलत आरोपको संसदमा सामना गरेर जाने कुरा प्रधानमन्त्री ओलीले बताउनुभएको जानकारी दिनुभयो ।

सरकारका प्रवक्ता, सूचना तथा सञ्चारमन्त्री शेरधन राईले माओवादी केन्द्रले दुर्भाग्यपूर्ण कदम चालेकाले त्यसले मुलुकमा गम्भीर परिस्थिति निम्तिनेहुनाले त्यसको डटेर सामना गर्ने विषयमा प्रधानमन्त्रीले धारणा राख्नुभएको जानकारी दिनुभयो । “संविधानमा भएको व्यवस्था र विधिअनुसार नै सरकारले सबै परिस्थितिको सामना गर्छ, तर राजीनामा दिंदैन यही विषयलाई प्रधानमन्त्रीले प्राथमिकतापूर्वक उठाउनुभएको छ” प्रवक्ता राईले भन्नुभयो ।

एमाले सांसद रेवतीरमण भण्डारीले प्रधानमन्त्रीले दृढतापूर्वक जस्तोसुकै परिस्थितिको सामना गर्ने चेतावनी नयाँ गठबन्धनलाई दिनुभएको जानकारी दिनुभयो । “खेल हामीलाई पनि खेल्न आउँछ, तपाईहरु जे जे तयारी गर्नुछ गर्नुस्, त्यसको हामीले सामना गर्न तयार छौं” प्रधानमन्त्रीले बैठकमा बोल्नुभएको भण्डारीले बताउनुभयो । बैठकमा प्रधानमन्त्री अ‍ोलीले कांग्रेस लोकतान्त्रिक पार्टी भएपनि इमान नभएको पार्टी भएको आरोप लगाउनुभएको थियो ।

“खेल हामीलाई पनि खेल्न आउँछ, तपाईहरु जे जे तयारी गर्नुछ गर्नुस्, त्यसको हामीले सामना गर्न तयार छौं” प्रधानमन्त्रीले बैठकमा बोल्नुभएको भण्डारीले बताउनुभयो ।

बाह्य शक्तिको चलखेलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खेल खेलेको, आन्तरिक र बाह्य षडयन्त्रले देशलाई पुनः समस्यामा पार्ने खेल भइरहेकाले त्यसको डटेर सामनाका लागि तयार रहन प्रधानमन्त्री ओलीले पार्टी पंक्तिलाई आव्हान गर्नुभएको सांसद कृपाराम रानाथारुले बताउनुभयो । राजनीतिकरुपमा एमाले ठूलो दल भएरपनि आफूभन्दा वढी मन्त्रालय माअ‍ोवादीलाई दिइएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यति गर्दापनि प्रचण्डको चित्त नबुझ्नुमा आश्चर्य व्यक्त गर्नुभयो ।

पछिल्लो राजनीतिक परिस्थितिका विषयमा जानकारी गराउने उद्देश्यले आयोजित संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले मात्रै धारणा राख्नुभएको थियो । उहाँले अहिलेसम्म भएको विषय र परिस्थितिका विषयमा करिब डेढघण्टा बैठका धारणा राख्नुभएको थियो । सो अवसरमा पार्टीका वरिष्ठ नेतासहित करिब सबै सांसदहरुको सहभागिता थियो ।

कांग्रेस र माओवादीले नियतबस संसद बैठक अवरुद्ध गरिरहेको र आर्थिक विधेयक पारित हुन नदिनेमा लागेकाले त्यसको सामनाका लागि पनि एमाले तयार रहनुपर्ने प्रधानमन्त्रीले धारणा राख्नुभएको सांसद रानाथारुले भन्नुभयो ।

विनियोजन विधेयक पारित भइसकेकाले बजेट पारित नभएपनि मुलुक नरुक्ने प्रधानमन्त्रीले जानकारी गराउनुभयो । कांग्रेस र माओवादीले संसद बैठक साउन ६ गतेकालागि प्रस्ताव गरेको भएपनि सरकारकै आग्रहमा असार अन्तिम दिन ३१ गतेकालागि बोलाइएको छ । तर सोदिन बजेट पारित हुनेमा अझै आशंका कायमै छ ।

तपाईको प्रतिक्रिया