मुक्त कमैयाले भने, ‘सत्रवर्ष लाग्यो सरकार, कहिले हुन्छ पुनस्र्थापना?’


Kamaiya

काठमाडौं, साउन १ गते । तत्कालिन सरकारले २०५७ साउन २ गते पश्चिम नेपालको दासदासी प्रथा कमैयालाई मालिकको घरबाट मुक्त घोषणा गरेको थियो । सोही सम्झनामा मुक्त कमैयाहरुले आइतबार उपत्यकासहित थारु बहुल सबै जिल्लामा मुक्तीदिवस मनाउँदै छन् ।

सरकारले मुक्त घोषणा गरेको १६ वर्ष पूरा भई १७ वर्षमा प्रवेश गरेपनि पश्चिम नेपालका दुई जिल्ला कैलाली र वर्दियामा अझै मुक्तकमैयाको पुनस्र्थापना सम्पन्न भएको छैन । अन्य जिल्ला कञ्चनपुर, बाँके, दाङ र सुर्खेतमा मुक्तकमैयाको पुनस्र्थापनाको काम सकिएको सरकारले बताएको छ । दुई जिल्लामा पनि यही आर्थिकवर्ष भित्र पुनस्र्थापनाको काम सक्ने तयारी सरकारको छ ।

मुक्त कमैया क्षेत्रमा कामगर्ने कमैया महिला जागरण समाजका अनुसार कैलालीमा चारसय घरधुरीलाई पुनस्र्थापना गर्न बाँकी छ । त्यस्तै, १२ सय घरपरिवारको सट्टाभर्ना गर्नुपर्ने छ । नदीको बगरमा, बलौटे जग्गामा मुक्त कमैयालाई जग्गा उपलब्ध गराउँदा नदीले कटान गरी सोटर पारेपछि ती कमैयालाई पुनः अर्को जग्गाको व्यवस्था गर्नुलाई सट्टाभर्नाको काम भनेर सरकारले परिभाषित गरेको छ । अन्य जिल्लामा सो काम सम्पन्न भएपनि कैलाली र वर्दियामा बाँकी छ ।

Kamaiya2

त्यस्तै, वर्दियामा तीनसय घरपरिवारको पुनस्र्थापना र नौसय घरपरिवारलाई सट्टाभर्ना गर्न बाँकी रहेको समाजका केन्द्रीय अध्यक्ष कृष्णी थारुले बताउनुभयो । सरकारी कर्मचारीको ढिलासुस्तीका कारण १७ वर्ष पुग्दासमेत कमैयाको पुनस्र्थापना नहुनु दुःखद भएको थारुले बताउनुभयो । यत्तिका वर्षसम्म घाम, शित, वर्षाको पीडाले मुक्त कमैयाहरु बाँच्दैआएको बताउँदै उहाँले सरकारलाई कमैयाको समस्याप्रति गम्भीर हुन आग्रह गर्नुभयो ।

अध्यक्ष थारु पनि आफै मुक्त कमैया हुन् । मुक्त कमैयाको पुनस्र्थापनाका लागि सरकारले हरेक वर्ष बजेट छुट्याउने गरेपनि त्यसको सही कार्यान्वयन नभएर पुनस्र्थापनाको काममा ढिलाई भएको उहाँको बुझाई छ । कमैयाको पुनस्र्थापनाका लागि भन्दै संयौं सामाजिक संघ संस्थाहरु खोलिए पनि पुनस्र्थापनाको कामभन्दा आफ्नै पेटभर्ने काममा सबैले ध्यान दिएको अध्यक्ष थारुको बुझाई छ ।

त्यस्तै पुनस्र्थापना हुन नसकेकी कैलाली धनगढीकी मुक्त कमैया मैनामति थारुले मुक्तीपछिको पीडा सुनाउनुभयो । आफ्नै घरबास र खेतीगर्ने जग्गा नहुँदा मजदुरी गरेर जेनतेन परिवार पाल्दैआएको बताउनुभयो । यत्तिका वर्षसम्म सरकारले पुनस्र्थापनाको काम नगर्दा हजारौं मुक्त कमैया परिवारको विचल्ली रहेको उहाँले गुनासो गर्नुभयो ।

“घरजग्गा, खेतबारी केही छैन, बैंकले विना धितो ऋण दिंदैन, हामी गरिबलाई कोही आफन्तले नगद सहयोग गर्दैन” भन्दै मुक्त कमैया थारुले सरकारले नै अनुदान या विना व्याजमा कारोकारका लागि ऋण उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

सरकारले यसअघि प्रतिवद्धता गरेको एकलाख रुपियाँ, ३५ क्वीफिट काठ समेत आफूहरुले नपाएको कमैयाहरुको गुनासो छ । मुक्त कमैया परिवारका बालबालिकालाई निःशुल्क शिक्षा दिने नीतिमा सरकारको भएपनि त्यो व्यवहारमा कार्यान्वयन नभएको मुक्त कमैयाहरुले गुनासो गरेका छन् । केही मुक्त कमैयालाई बढीमा पन्ध्र दिनको सीपमूलक तालिम प्रदान गरिएको भएपनि अधुरो तालिमले काम पाउन नसकेको उनीहरुको गुनासो छ ।

तीन महिनामा सम्पन्न हुने तालिमलाई पन्ध्र दिनमा सकाउने गरेको, केही सीप सिकेर कारोबार सञ्चालनका लागि पैसा उपलब्ध नभएकाले त्यसको सदुपयोग नभएको मुक्त कमैया थारुले बताउनुभयो । “घरजग्गा, खेतबारी केही छैन, बैंकले विना धितो ऋण दिंदैन, हामी गरिबलाई कोही आफन्तले नगद सहयोग गर्दैन” भन्दै मुक्त कमैया थारुले सरकारले नै अनुदान या विना व्याजमा कारोकारका लागि ऋण उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

मुक्त कमैयाका प्रतिनिधिहरु मुक्ती दिवस मनाउनका लागि काठमाडौं आइपुगेका छन् । आइतबार हुने औपचारिक कार्यक्रममा भूमिसुधारमन्त्री, सो क्षेत्रका सांसद तथा राजनीतिक दलका नेताहरुलाई कार्यक्रममा आमन्त्रण गरी आफ्नो दुःख पीडा सुनाउने तयारी गरिएको समाजकी अध्यक्ष थारुले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया