राजनारायण प्रतिष्ठानले यसवर्ष भोजपुरी साहित्यकारलाई पुरस्कृत गर्ने


SEK_6852

काठमाडौं, असार ४ गते । सरस्वती राजनारायण प्रतिष्ठानले प्रदान गर्दैआएको आनन्दीदेवी भाषा साहित्य पुरस्कार यस वर्ष (२०७३) भोजपुरी भाषा साहित्यका उत्कृष्ठ साहित्यकारलाई प्रदान गरिने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष चन्देश्वरप्रसाद रौनियारको अध्यक्षतामा हालै राजधानीमा सम्पन्न पुरस्कार छनौट समितिको बैठकले भोजपुरी भाषा साहित्यका उत्कृष्ठ लेखक तथा साहित्यकारलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । प्रतिष्ठानले ५१ हजार रुपियाँ धनराशिको यो पुरस्कार हरेक वर्ष प्रदान गर्दैआएको छ ।

विभिन्न भाषा साहित्यको उत्थानमा योगदान गरेवापत प्रतिष्ठानले सम्बन्धित भाषा साहित्यका उदीयमान उत्कृष्ठ लेखकलाई पुरस्कृत गर्ने गरेको छनौट समितिका सदस्य डा. रामदयाल राकेशले बताउनुभयो । यसअघि नेपाली र थारु भाषा साहित्यलाई पुरस्कृत गरिएको उहाँले बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष चन्देश्वरप्रसाद रौनियारको अध्यक्षतामा हालै राजधानीमा सम्पन्न पुरस्कार छनौट समितिको बैठकले भोजपुरी भाषा साहित्यका उत्कृष्ठ लेखक तथा साहित्यकारलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । प्रतिष्ठानले ५१ हजार रुपियाँ धनराशिको यो पुरस्कार हरेक वर्ष प्रदान गर्दैआएको छ ।

यसैगरी प्रतिष्ठानले ५१ हजार रुपियाँ धनराशिकै आनन्दीदेवी समाजसेवा राष्ट्रिय पुरस्कार ज्येष्ठ र असहाय नागरिकको हक, हित र सेवामा समर्पित व्यक्ति वा संस्थालाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कार पनि हरेक वर्ष प्रदान गरिदैआएको छ ।

रौनियारको अध्यक्षतामा रहेको पुरस्कार छनौट समितिमा डा. राकेश, साहित्यकार मुक्तिनाथ शर्मा न्यौपाने, पत्रकार कुमार विवेकानन्द मिश्र र सदस्यसचिवका रुपमा अरुणकुमार गुप्ता रहनुभएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष रौनियारले आफ्नी स्वर्गीय पत्नी आनन्दीदेवीको नाममा यी दुवै पुरस्कार स्थापना गर्नुभएको हो । यसका अतिरिक्त प्रतिष्ठानले मिथिला क्षेत्रमा रही कला, सञ्चार र समाजसेवामा समर्पित व्यक्ति तथा संस्थालाई पनि वर्षेनी पुरस्कृत गर्दैआएको छ । यी तीनै पुरस्कारको धनराशि जनही १५ हजार रुपियाँ रहेको छ ।

सर्लाही जिल्ला ब्रह्मपुरी गाउँ विकास समितिमा रौनियार चार दाजुभाइले आमा सरस्वती देवी र पिता राजनारायणको नाममा २०५२ सालमा प्रतिष्ठान स्थापना गर्नुभएको थियो । प्रतिष्ठानले २०६४ सालदेखि विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थालाई पुरस्कृत गर्दैआएको छ । ब्रह्मपुरी गाविसस्थित विद्यालयमार्फत प्रतिष्ठानले जेहेन्दार एवं गरिब छात्रछात्रालाई ५० हजार रुपियाँका छात्रवृत्तिसमेत प्रदान गर्दैआएको छ ।

प्रतिष्ठानले गतसाल थारु भाषा उत्थानमा योगदान दिएको भन्दै साहित्यकार तथा पत्रकार लक्की चौधरीलाई पुरस्कृत गरेको थियो । त्यस्तै ज्येष्ठ नागरिक क्षेत्रमा योगदान दिएको भन्दै होम हर्मिटेजलाई संस्थागत पुरस्कार प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया